बाढी पहिराले ठप्प शाखा सडक सञ्चालनमा

0
7

ढोरपाटन (बागलुङ),

असार दोस्रो सातादेखि अवरुद्ध बनेका यहाँका ग्रामीण सडक पूर्णरुपमा सञ्चालनमा आएका छन् । सडक सञ्चालनमा आएसँगै स्थानीयलाई सामान ढुवानी तथा यात्रा गर्न सहज भएको छ ।

बाढी, पहिरो र खोलामा पानीको बहाव बढेपछि अवरुद्ध बनेका सडक करिब पाँच महिनापछि सञ्चालनमा आएका हुन् । बरेङ, काठेखोला, निसीखोला, तमानखोला, ताराखोला, बडिगाड गाउँपालिका, ढोरपाटन, गलकोट र जैमिनी नगरपालिकामा मुख्य सडकबाहेक शाखा सडक ठप्प थिए ।

अवरुद्ध भएका सडकमध्ये अधिकांश दसैँ अगावै खुले पनि केही स्थानमा भने दसैँ सकिएपछि खुलेका छन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग, कालीगण्डकी कोरिडोर र सालझण्डी-ढोरपाटन सडक बर्खाका समयमा अवरुद्ध भए पनि केही समयमै खुलाइन्थ्यो भने ग्रामीण सडक महिनौँ दिनपछि मात्रा सञ्चालन गरिएको स्थानीय तमबहादुर श्रीसले बताउनुभयो ।

असारमा ठूलो वर्षा भएपछि गाउँ नजिकैको सडकमा ठूलो पहिरो गएपछि यातायात ठप्प भएको भन्दै त्यसलाई खुलाउन हिउँद कुर्नु परेको सुनाउनुभयो । त्यो पहिरो खुलाएको भए सिंगो गाउँमा बर्खाभरीनै यातायात साधान चल्ने उहाँ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “साउनको पहिरो साता सडक माथिदेखि पहिरो आएर आवतजावत बन्द भयो, गाउँपालिकाले सडक खुलाउँछ कि भनेको महिनौँ बित्दा पनि खुलाएन, दुई साता भयो सडक सञ्चालन भएको छ, सडकमा गाडी चल्न थालेपछि बजारबाट सामान ल्याउन र यात्रा गर्न सजिलो भएको छ ।”

स्थानीय निसान घर्तीले अवरुद्ध सडक बर्खामै पनि खुलाउन सकिने भए पनि सरोकारवाला निकायले ध्यान महिनाैँसम्म आफूहरुले दुःख पाउनु परेको बताउनुभयो । गाउँमा दैनिक तीन/चार वटा पिकअप जिपले सामान ओसार्ने र मान्छे बोक्ने गरे पनि बर्खामा ठप्पै भएको बताउनुभयो । गाउँमा सडक आएदेखि हरेक वर्ष बर्खामा सडक ठप्पै हुने गरेको उहाँको भनाइ छ । पहिरोले अवरुद्ध बनाएको सडक उतिबेलै सञ्चालन गरे गाउँका सयौँ नागरिकलाई सहज हुने घर्ती बताउनुहुन्छ ।

काठेखोला गाउँपालिकाका प्रवक्ता टीका सङ्गम विकले बर्खामा अवरुद्ध बनेका सबै सडक सञ्चालनमा आएसँगै सहज भएको बताउनुभयो । अहिले कुनै पनि गाउँमा यातायातका साधान संचालनमा समस्या नभएको उहाँको भनाइ छ ।

“गाउँको बाटो बर्खा लाग्यो भने समस्या आइहाल्ने, पटक-पटक पहिरो पन्छाउन पनि नसकिने, दसैँ अगाडि धेरै सडक खुलाएर गाउँ आउनेलाई सहज बनाइयो, त्यसपछि पनि बाँकी हरेका सडकहरु अहिले सञ्चालनमा आएका छन्” उहाँले भन्नुभयो, “अब ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालन गर्ने गरी काम गर्नेछौँ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here