‘जाजरकोट भूकम्प बझाङको परकम्प होइन’

0
11

काठमाडौँ,

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले जाजरकोट भूकम्प गत महिना बझाङमा गएको भूकम्पको परकम्प नभएको जानकारी दिनुभएको छ ।

उहाँले गएराति जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्प बझाङको परकम्प नभएर नयाँ भूकम्प भएको बताउनुभएको हो ।

गए राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पको केन्द्र जमिनको सतहदेखि १० देखि १५ किलोमिटर भित्र रहेको उहाँको भनाइ छ ।

साथै सो भूकम्पपछि आज नै चारवटा परकम्प गएको पनि बताइएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपछि एक घण्टामा चार परकम्प गएको हो । केन्द्रका अनुसार सोही स्थान केन्द्रविन्दु भएर १२ बजेर ८ मिनेटमा ४ दशमलव ५, १२ बजेर २९ मिनेटमा ४ दशमलव २ र १२ बजेर ३५ मिनेटमा ४ दशमलव ३ रेक्टरस्केलको परकम्प गएको हो ।

नेपालको पश्चिम क्षेत्रमा विगत पाँच सय वर्षदेखि ठूलो भूकम्प नगएकाले जुनसुकै बेलामा जानसक्ने भएकाले सचेत रहनुपर्ने डा अधिकारीले बताउनुभयो । नेपालको हिमालय क्षेत्रलाई भूकम्पको सम्भावित क्षेत्रका रुपमा लिने गरिन्छ । पछिल्लो समय नेपालको पश्चिमी क्षेत्र भएर भूकम्प जाने क्रम बढ्दो देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here