खोज, उद्धार, उपचार र राहतका लागि अनुरोध

0
18

नेपालगञ्ज (बाँके),

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले आज भूकम्प प्रभावितको तत्काल खोज, उद्धार, उपचार र राहतका लागि विभिन्न विषयमा निर्णय लिएको छ । जाजरकोटलाई केन्दविन्दु बनाएर गएको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिलाई ध्यानमा राख्दै जिल्लाबाट आवश्यक प्रतिकार्यका लागि सबै संयन्त्रलाई क्रियाशील बनाउने निर्णय समितिले गरेको हो ।

भूकम्पबाट प्रभावित क्षेत्रमा आवश्यक पर्ने मानवीय सहयोग गर्न अस्पताल समन्वयका लागि स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ, राहत व्यवस्थापनका लागि प्रशासकीय अधिकृत रामकुमार सोनकर र सूचना व्यवस्थापनका लागि रुपन ज्ञवालीलाई फोकल पर्सन तोकेको छ ।

जाजरकोट तथा पश्चिम रुकुममा ठूलो मात्रामा जनधनको क्षति भएको जानकारी प्राप्त भएपश्चात् थप खोज तथा उद्धार, उपचार र आवश्यक राहतका लागि सबैलाई अनुरोध गर्ने निर्णय भएको सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार साथै राँझा विमानस्थलमा रहेको मानवीय सहायता कक्षमा जिल्ला विपद् व्यवस्थापन समितिले राहत सामग्री भण्डारण गरी परिचालन गर्ने निर्णय गरिएको छ ।

ज्ञवालीले नेपालगञ्ज उपमहानगरपालिकाका तर्फबाट तत्काल राहतस्वरुप रू चार लाख बराबरको खाद्यान्न, त्रिपाल, झूल, पिफर्मलगायत सामग्रीका साथै मेडिकल टिम परिचालन गरिएको जानकारी दिनुभयो ।

कोहलपुर नगरपालिकाका तर्फवाट तत्काल राहतस्वरुप रू दुई लाख, राप्ती सोनारी गाउँपालिकाका तर्फबाट रू एक लाख बराबरको औषधि सामग्री, रू ५० हजार बराबरको खाद्यान्न, एकजना चिकित्सकसहितको टोली, २०÷२० थान कम्मल र त्रिपाल सहयोग गर्ने र खजुरा गाउँपालिकाका तर्फबाट रू तीन लाख बराबरको औषधि सहयोग गर्ने निर्णय भएको ज्ञवालीले जानकारी दिनुभयो ।

“नेपाल रेडक्रस सोसाइटी बाँकेको समन्वयमा केन्द्रीय कार्यालयमार्फत जाजरकोट र पश्चिम रुकुममा छ सय थान कम्मल त्रिपाल र पिफर्म उपलब्ध गराउने, जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट तत्कालै १० थान टेन्ट, ५० थान त्रिपाल, ५० थान कम्मल उपलब्ध गराउने भएका छन्”, उहाँले भन्नुभयो । ज्ञवालीका अनुसार जिल्लास्थित विभिन्न सङ्घसंस्था तथा क्लबले भूकम्प प्रभावितका लागि खाद्यान्न तथा अन्य आवश्यक सामग्री उपलब्ध गराउने भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here