बिर्तामोड उद्योग वाणिज्य संघको सभा

0
15

झापा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवम् सार्क चेम्बरका उपाध्यक्षमा चण्डीराज ढकालले आर्थिक रुपमा मुलुक संकटमा फस्दै गएको बताएका छन् ।
आर्थिक संकट उत्पन्न हुँदा व्यवसायी सबैभन्दा ठूलो मारमा परेको उल्लेख गर्दै उनले राज्यले बेलैमा सोच्नुपर्ने बताए । शनिबार बिर्तामोड उद्योग वाणिज्य संघको छैठौं वार्षिक साधारणसभालाई सम्वोधन गर्दै ढकालले मुलुकको आर्थिक वृद्धिका लागि निजी क्षेत्रको ठूलो योगदान रहेको धारणा व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका ढकालले राज्यले निजी क्षेत्रको संरक्षणमा ध्यान दिँदै वर्तमान आर्थिक संकटको निकासका लागि पहल गर्नुपर्ने बताए । कतिपय व्यवसायीहरु बैंकको चर्को व्याजदरका कारण पलायन हुनुपर्ने अवस्था आउन दुखद् भएको उनले उल्लेख गरे ।
बिर्तामोड उद्योग वाणिज्य संघले व्यवसायीको हितमा काम गरेको भन्दै व्यवसायीको पक्षमा बोल्नु वाणिज्य संघको धर्म भएको बताए । कार्यक्रममा उपसभामुख इन्दिरा रानामगरले आर्थिक रुपमा दर्विलो भए मात्रै देशको अर्थतन्त्र मजबुत हुने उल्लेख गरिन् । बिर्तामोड उद्योग वाणिज्य संघका हरेक कार्यक्रममा सहभागी भएको भन्दै उनले वाणिज्य संघले व्यवसायीको हितमा काम गर्नुपर्ने उल्लेख गरिन् ।
उनले जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितहरुको सहयोगका लागि उद्योगी व्यवसायीहरुलाई आव्हान गरिन् । उपसभामुख रानामगरले उद्योगी व्यवसायीसहित हरेक व्यक्तिलाई आफ्नो गाँस काटेर भूकम्पपीडितहरुलाई सहयोग गर्न आव्हान गरेकी थिइन् । यस्तो आपत्ति जुनसुकै क्षेत्रमा आउनसक्ने भन्दै उनले यो संवेदनशील अवस्थामा पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका जनताले सहयोगको भावना देखाउनुपर्ने बताइन् ।
जलवायु परिवर्तनका कारण नेपाल र नेपालीले यस्ता प्राकृतिक विपद् भोग्नु परिरहेको उनको भनाइ छ । साधारणसभामा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेल, राप्रपा नगरअध्यक्ष रञ्जु प्याकुरेल, झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष वेदप्रकाश अग्रवाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here