एक लाख युवा अघि बढाउँदै सहारा

0
15

झापा । झापाको बिर्तामोड–२मा मुख्य कार्यालय रहेको सहारा नेपाल (साकोस) लि.ले युवालाई नेतृत्व, उद्यमशीलता र रोजगारीको अवसरहरु सृजना गर्न एक लाख युवा संलग्न गर्ने घोषणा गरेको छ ।

त्यसका लागि युवालाई संस्थाको सदस्यता दिने जनाइएको छ । संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीका अनुसार युवालाई युथ एकेडेमी र ३० क्लबमार्फत संगठित गरिने छ । अब सहाराको सदस्यता लिन रु. एक हजारमै सम्भव हुने भएको छ । कोशी प्रदेशको ११ जिल्ला ८० पालिकामा कार्यक्षेत्र रहेको सहाराले यस बर्ष प्रदेशका १४ वटै जिल्लामा सेवा विस्तार गरी ९० वटा सेवा केन्द्र दुई लाख सदस्य र १५ अर्बको वासलात बनाउँदै ६२ करोड नाफा कमाउने प्रक्षेपण गरेको छ ।

उक्त प्रक्षेपण संस्थाको शनिवार बिर्तामोडमा सम्पन्न २७औं साधारणसभाको अन्तिम माइन्युट प्रमाणित सभामा सार्वजनिक गरिएको हो । संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा भएको समारोहमा कार्यकारी प्रमुख गिरीले ०८० असार मसान्तसम्म संस्थामा एक लाख ५७ हजार छ सय छ जना शेयर सदस्य रहेको जानकारी गराए । सो अवधिमा संस्थाको शेयर पुँजी एक अर्ब ६३ करोड १४ लाख पुगेको छ । जगेडा कोष एक अर्ब २३ करोड पुगेको छ भने अन्य कोष ३७ करोड ९६ लाख पुगेको छ । बचत १० अर्ब ९५ करोड ४९ लाख छ भने लगानीमा रहेको ऋण ११ अर्ब २० करोड ५५ लाख छ ।

संस्थाको भौतिक सम्पत्ति ५० करोड ७५ लाख रहेको छ भने वासलात १५ अर्ब ४८ करोड २९ लाख पुगेको छ । संस्थाले बाह्य ऋणलाई शून्य बनाएको सभामा घोषणा गरियो । संस्थाले ०८० असार मसान्तसम्म ३९ करोड ८६ लाख खुद मुनाफा आर्जन गरेको छ । सहाराले प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेको छ । साधारणसभाको प्रतिवेदन क्यूआर कोडमार्फत पढ्ने वातावरण मिलाएको संस्थाले प्याब्लेट बैंकिङ, मोवाइल बैंकिङ एप, क्यूआर कोड र एटीएम सेवालाई प्रभावकारी रुपमा अगाडि बढाउने जनाइएको छ । यस बर्ष क्यास डिपोजिट मेसिन थप गर्ने र पीओएस मेसिनको सेवा शुरु गर्ने जनाइएको छ । सहाराले गरीब तथा विपन्नका छोराछोरीलाई उच्च शिक्षा अध्ययनमा सहयोग पु¥याउन ५ करोडको सहारा शैक्षिक छात्रबृत्ति कोष स्थापनाको घोषणा गरेको छ । कोषमा यसै बर्ष एक करोड रुपैयाँ राखेर शुरु गरिने बताइएको छ ।

सदस्य तथा सदस्यको परिवारमा बिरामी परी लामो समयसम्म अस्पताल मै राखी उपचार गराउनुपर्ने दीर्घरोगी तथा ज्येष्ठ व्यक्तिहरुको लागि सम्पूर्ण उपकरणहरुसहितको ‘मिनी अस्पताल’ घरमै बनाइ नियमित स्वास्थ्य प्राविधिकले हेरचाह गर्ने योजनालाई पूर्णताका साथ अघि बढाउने घोषणा समेत गरिएको छ । संस्थाले नेपालभरिबाट एक सय वटा राम्रा सहकारीको सञ्जाल निर्माण गरी एक रुपता, अनुभव आदानप्रदान, प्राविधिक सहयोग, एडभोकेसी र लविङ समेत गर्ने योजना बनाएको छ । अहिलेको आर्थिकमन्दीका कारण राम्रो व्यवसाय गरी कारोबार समेत राम्रोसँग गरिरहेका साना व्यवसायी सदस्यहरुको व्यवसाय प्रभावित भएको अवस्थालाई ‘व्यवसाय पुनरोत्थान कोष’ स्थापना गरी कोषमार्फत सहयोग पु¥याइने योजना बनाएको छ ।

संस्थाले यस बर्ष सुरुङ्गाको पृथ्वी साकोससँग एकीकरण सम्पन्न गरेको र आगामी दिनमा पनि अन्य सहकारीसँग एकीकरण प्रक्रियालाई अगाडि बढाइने बताइएको छ । संस्थाले बिर्तामोड–४मा रहेका आमा गुमाएका र बुबा लागूपदार्थको सेवनमा फसेका तीन जना बालिकाको उद्धार गरी पठनपाठन र पालनपोषणको कार्य गरिरहेको छ । आगामी दिनमा यस्ता आमाबुबा गुमाएका बालबालिका संरक्षणमा सहयोग पु¥याउने सहाराको योजना रहेको बताइएको छ ।

संस्थाको समन्वयमा प्राकृतिक विपद्को अवस्थामा उद्धार सामग्री, राहत प्याकेज, व्यवस्थापन गर्न ‘इमरजेन्सी रेस्पोन्स सेन्टर’ को स्थापना गर्ने घोषणा गरेको छ । उक्त सेन्टर कनकाई नगरपालिकामा रहने बताइएको छ । संस्थाले शेयर सदस्यलाई उद्यमशीलता, सिप, ऋण र प्राविधिक सहयोग उपलब्ध गराउँदै स्वरोजगार बनाए वापत स्वावलम्बन विकास केन्द्र काठमाडौंले ‘राष्ट्रिय उद्यमशीलता पुरस्कार’ बाट यसै बर्ष पुरस्कृत गरेको थियो । सहाराले १०६ स्थानमा इकाइ भेला सम्पन्न गरी शनिवार अन्तिम माइन्युट प्रमाणित भेला सम्पन्न गरेको हो ।

भेलाको उद्घाटन प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गरेका थिए । कार्यक्रममा यस बर्षको राष्ट्रिय व्यक्तित्व सम्मान पुरस्कार सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्गलाई प्रदान गरिएको छ । पुरस्कारको राशि एक लाख एक हजार रुपैयाँ रहेको छ । त्यस्तै यस बर्षको सहारा सहकारी पत्रकारिता पुरस्कार एभिन्यूज टीभीका झापा संवाददाता सन्तोष न्यौपानेलाई नगद २५ हजारसहित प्रदान गरियो ।

सहारामा एकीकरण भएका विभिन्न सात वटा संस्थालाई भेलामा प्रमाणपत्र प्रदान गरियो । एकीकरण भएका संस्थाहरुमा धुलावारीको हाम्रो बहुउद्देश्यीय सहकारी, बिर्तामोडको कनकाई बहुमुखी सहकारी, इटाभट्टाको जिविका कृषि सहकारी, कनकाईको नारी चेतना कृषि सहकारी, शिवगञ्जको कुमुदिनि साकोस, बिर्तामोडको गोदाबारी साकोस र कनकाईको पृथ्वी साकोस रहेका छन् ।

संस्थाका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाले स्वागत गरेको कार्यक्रममा नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाँई, राप्रपाका जिल्ला अध्यक्ष केशव ओझा, जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, कोशी प्रदेशका सहकारी रजिष्ट्रार हरिबहादुर खत्री, नेफ्स्क्युनका सञ्चालक सदस्य घनश्याम अधिकारी, गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी, रेडक्रस झापाका सभापति लोकराज ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले सञ्चालन गरेको कार्यक्रममा सहारा शिक्षा सदनका बालबालिकाले सांगीतिक प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here