भूकम्पपीडित भन्छन्, ‘भाग्यले बाँचे’

0
12

खजुरा (बाँके),

जाजरकोट भेरी नगरपालिका–३ खलङ्गाका ४८ वर्षीय विमलकुमार कार्की भूकम्पमा परी घाइते हुनुभएको छ । उहाँ गएरातिको भूकम्पबाट घर भत्किएपछि च्यापिनुभएको थियो ।

उद्धारपछि कार्कीले रासससँग भन्नुभयो, “भाग्यले बाँचे ।” दुईतले कच्ची घरमा राति एक्लै सुतिरहेका बेला एक्कासी भूकम्प गएको र ब्युँझिएर अत्तालिएर घरबाट बाहिर निस्कन खोज्दा घर गल्र्याम्म ढल्दा माटोले च्यापिएर घाइते भएको उहाँले सुनाउनुभयो ।

घाइते कार्कीले आफ्ना दुःख सुनाउँदै भन्नुभयो, “एक्कासी भूकम्प आएको थाहा पाएर झ्यालबाट बाहिर निस्कन खोज्दा झ्यालसँगै तल खसेँ र माटोले मेरो दुईवटै खुट्टा च्यापियो । रातिको समय थियो, एकछिन होसहवास गुम्यो, पछि होस आउँदा म बेस्सरी कराएँ । आधा घण्टापछि भतिज मन्दीप कार्की आयो । राति साढे १ बजे अस्पताल पुगेँ ।”

काका एक्कासी चिच्चयाएको आवाज सुनेर म दौडेर पुगेको घाइते कार्कीका भतिज मन्दीपले बताउनुभयो । उहाँले भन्नुभयो, “म पुगेपछि वरिपरिका मानिसलाई बोलाएर स्टेचरमा बोकेर जाजरकोट अस्पताल पुर्‍याऔँ र त्यहाँ पनि घटनाका घाइतेको ठूलो भीडभाड रहेछ, डाक्टरले उहाँलाई राति साढे ३ बजे नेपालगञ्ज सिफारिस गर्नुभयो ।”

मन्दीपले काकालाई बिहान साढे ७ बजे एम्बुलेन्समा राखेर भेरी अस्पतालमा ल्याइपुर्‍याउनुभएको हो । घाइतेमध्ये विमलकुमार नै पहिलो बिरामी उपचारमा आउनुभएको अस्पतालले जनाएको छ । अस्पतालका चिकित्सकले परीक्षण गर्दा विमलकुमारको दाहिने खुट्टाको दुई भाग भाँचिएको अस्पतालले जनाएको छ । २२ वर्ष पुरानो दुईतले कच्ची घरले झनै ज्यान बचाएको घाइते उहाँले बताउनुभयो ।

विमलकुमारको घर नजिकै ससुरालीमा रहेकाले श्रीमती र तीन छोरी बाँचेको बताउनुभयो । आज राति घरमा उहाँ एक्लै हुनुहुन्थ्यो । उहाँकी श्रीमती र छोरी ससुराली गएकाले बाँचे नत्र घटनामा परेर बाँच्थेन होला विमलकुमारले भन्नुभयो ।

भगवान्ले हाम्रो परिवारलाई जोगाएको घाइते विमलकुमारकी श्रीमती चन्द्रसिंहले बताउनुभयो । उहाँले म घटनाको बारेमा थाहा पाउनैबित्तिकै श्रीमान्लाई खोज्दै जाजरकोट अस्पताल पुगेको बताउनुभयो । उहाँले भूकम्प गएपछि छोरीलाई उठाएर बाहिर भागेर ज्यान बचाएको सुनाउनुभयो । उहाँ बसेको घर भूकम्पले सामान्य भत्किएको र चिरा परेको बताउनुभयो ।

चन्द्रसिंहले घटनालाई सम्झेर यस्तो ठूलो विपद्ले हामी त सदरमुकामकालाई यस्तो भयो, भूकम्पको केन्द्रबिन्दु भएको क्षेत्रका मानिसको अवस्था के होला भनेर प्रश्न गर्नुभयो । जाजरकोट केन्द्रबिन्दु भएर गए राति गएको भूकम्पमा परी गम्भीर घाइते भएकालाई थप उपचारका लागि नेपालगन्ज ल्याउने क्रम जारी रहेको छ ।

हालसम्म ३२ जना घाइतेलाई ल्याइएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पवनजङ्ग रायमाझीले बताउनुभयो । उहाँका अनुसार ३२ घाइतेमध्ये दुई जनाको अवस्था जटिल रहेको छ । अस्पतालका मेसु डा रायमाझीले अस्पतालका सम्पूर्ण चिकित्सकसहितका कर्मचारीलाई उपचारकार्यमा खटाइएको भन्दै घाइते सबैको निःशुल्क उपचार भइरहेको बताउनुभयो ।

भूकम्पमा परी गम्भीर घाइतेहरूको उपचारका लागि नेपालगन्जको भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज, कोहलपुर शिक्षण अस्पतालमा उपचारको व्यवस्थापन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो । उहाँका अनुसार घाइते तथा घाइतेका आफन्तका लागि सहजताका लागि स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठलाई तोकिएको छ ।

भूकम्पपीडितका लागि राहत सङ्कलन

जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितका लागि राहतस्वरुप बाँकेमा सहयोग सङ्कलन अभियान सुरु भएको छ । बाँकेका चारवटा स्थानीय तहले रु १० लाख बढीको सहयोग गर्ने निर्णय गरेका छन् ।

स्थानीय तहहरूले खाद्यान्न र गैरखाद्य सहयोगसँगै स्वास्थ्यकर्मीको टिम परिचालन गर्ने निर्णय गरेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा पालिकाले गर्ने सहयोगबारेमा निर्णय गरेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिकाले रु चार लाख बराबरको खाद्यान्न, त्रिपाल, झुलसहित सामग्री र मेडिकल टिम परिचालन गर्ने भएको छ । कोहलपुर नगरपालिकाले रु दुई लाख बराबरका औषधि र खाद्यान्न उपलब्ध गराउने जनाएको छ ।

राप्तीसोनारी गाउँपालिकाले रु एक लाख बराबरको औषधि, रु ५० हजार बराबरको खाद्यान्न र एक जना चिकित्सकसहित स्वास्थ्यकर्मीको टिम परिचालन गर्ने भएको छ । राप्तीसोनारीले २० थान कम्बल र २० थान त्रिपाल सहयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताउनुभयो ।

खजुरा गाउँपालिकाले रु तीन लाख बराबरको औषधि सहयोग गर्ने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले १० थान टेन्ट, ५० थान त्रिपाल, ५० थान कम्बल उपलब्ध गराउने, केमिकल एण्ड मेडिकल एशोसिएसन सप्लायर्स सर्जिकल प्रालिबाट तीन सय ५० केजी चिउरा र नौ सय प्याकेट चाउचाउ उपलब्ध गराएको छ ।

यसैगरी केयर नेपाल र एडब्लुओ संस्थाको सहयोगमा दुई सय परिवारका लागि त्रिपाल, दुई सय परिवारका लागि त्रिपाल, म्याट्रेस कम्बल सहयोग गर्ने, नेपालगन्ज ग्रिन सिटीकातर्फबाट २५ बोरा चामल, दुई सय किलो चिउरा र ४० पेटी चाउचाउ सहयोग गरिएको छ ।

यी सबै सामग्रीलाई राँझास्थित मानवीय सहायता कक्षमा सङ्कलन गर्ने र घाइते लिएर आएको हवाईजहाज (हेलिकोप्टर)मार्फत पीडितसमक्ष पठाउने तयारी भएको प्रजिअ पोखरेलले बताउनुभयो ।

‘भूकम्पपीडितको उद्धार र राहत जरुरी’

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भूकम्पपिडितको उद्धार र उपचारमा कुनै पनि कसर बाँकी राख्न नहुने कुरामा जोड दिनुभएको छ । राप्रपा नेपाल बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा राज्यले आफ्नो सम्पूर्ण शक्ति भूकम्पपीडितको उद्धार, उपचार र राहत वितरणमा लगाउनुपर्ने भन्दै उहाँले प्रधानमन्त्री तत्काल घटनास्थलतर्फ पुग्नु सकारात्मक काम भएको बताउनुभयो ।

अध्यक्ष थापाले भन्नुभयो, “सरकारको पहिलो कर्तव्य पीडितको उद्धार र उपचार रहेको छ, यो संवेदनशील कार्यमा हामी सबै जनाको सहयोग आवश्यक रहेको छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here