५१ दिनदेखि वेपत्ता सुवेदी अझै भेटिएनन्

0
10

झापा ।

लामो समयदेखि बेपत्ता रहेका नेपाल टेलिकमको झापास्थित सुरुङ्गा शाखाका लेखा अधिकृत एवम् निमित्त प्रमुख ३१ वर्षीय दिलीप सुवेदीको खोजीका लागि परिवारका सदस्यले हारगुहार गरेका छन् ।

बुवा नेत्रप्रसाद र दाजु लक्ष्मीप्रसाद सुवेदीलगायतले आइतबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै दिलीपको खोजीमा सहयोग गरिदिन सबै समक्ष अनुरोध गरेका हुन् ।

दिलीप ५१ दिनदेखि बेपत्ता छन् । उनी सम्पर्कविहीन बनेसँगै पीडामा परेको परिवारले अहिलेसम्म घटनाका बारेमा यथार्थ जानकारी पाउन नसकिएको गुनासो गरेको छ ।

छोरा बेपत्ता भएपछि बुवा नेत्रप्रसाद सम्हालिनसक्ने अवस्थामा छैनन् । भुल्नै नसक्ने पीडामा परेका उनले रुँदै छोराको खोजीका लागि सहयोग गरिदिन आग्रह गरेका छन् । दिलीप झापाको कन्काई नगरपालिका–३स्थित कार्यालयको क्वाटरबाटै भदौ ३० गतेदेखि बेपत्ता भएका थिए । उनको अवस्था अहिलेसम्म अज्ञात छ । परिवारले कुनै जानकारी पाउन सकिरहेको छैन । प्रहरीको अनुसन्धानले पनि कुनै फेरो समात्न सकेको छैन ।

अनुसन्धानमा खटिएको टोलीले घटनासँग सम्बन्धित कुनै संकेत फेला पारेको छैन । उनी खोटाङको हलेसी–तुवाचुङ नगरपालिका स्थायी ठेगाना भई विराटनगर महानगरपालिका–४ राजवंशी चोकमा बस्दै आएका थिए । दाजु लक्ष्मीप्रसादले ५१ दिनदेखि हराइरहेका भाइको अत्तोपत्तो नभएको भन्दै प्रहरीलाई घटनाको जानकारी गराएर परिवारका सदस्यले खोजीका लागि सबै प्रयास केन्द्रित गरिरहेको बताए ।

भाइ हराएपछि परिवारमा बज्रपात परेको बताउँदै उनले प्रहरीले शुरुदेखि नै अनुसन्धान फितलो ढंगले अघि बढाउँदा कुनै नतिजा हात नपरेको गुनासो गरे । दिलीप भदौ ३० गते बिहान ६ः३० बजेतिर कार्यालयकै सुरक्षागार्ड ओमप्रकाश खरेलसँग चिया खान स्कुटरमा निस्किएका थिए । चिया खाएर फर्किएपछि कार्यालयकै माथिल्लो तलाको ‘गेस्ट हाउस’मा आराम गर्छु भनेर गएको सुरक्षागार्ड खरेलले बताएका छन् ।

उनले बिहान ८ः२० बजेदेखि ८ः४७ बजेसम्म करिब २७ मिनेट जति श्रीमती बजुना भट्टराईसँग मोबाइलबाट भिडियो कलमा कुराकानी गरेको खुलेको छ । श्रीमतीसँग पछि पुनः कुरा गर्ने भने पनि दिउँसो १२ बजेदेखि मोबाइल ‘अफ’ भएको र त्यसपछि सम्पर्क हुन नसकेको परिवारले जनाएको छ । ‘दिनभर प्रयास गरे पनि सम्पर्क हुन नसकेपछि साँझ ६ बजेतिर बुझ्न लगायौं । तर, बिहान कार्यालय प्रवेश गरेपछि निस्किएको देखिनँ भनेर सुरक्षागार्डले भने– लक्ष्मीप्रसाद भन्छन्– ‘भाइले चलाउने स्कुटर कार्यालयभित्रै छ । चावी, चश्मा, पर्स, एटीएम कार्ड, चप्पल, कपडालगायत कोठाभित्रै भेटियो ।’ उनले तत्काल घटनाको जानकारी गराएको र प्रहरीमा भोलिपल्ट हुलियासहितको जाहेरी दिएको बताए । कार्यालयबाटै हराएको भाइ अहिलेसम्म नभेटिनुले घटना रहस्यमय र शंकास्पद रहेको उनको भनाइ छ ।

लक्ष्मीप्रसादका अनुसार चारैतिर तारले घेराबारा गरिएको र ठूलो पर्खाल रहेकाले कार्यालयको ढोकाभन्दा अन्यत्रबाट बाहिर निस्किने ठाउँ छैन । उनले अनुसन्धानलाई प्रहरीले परिवार केन्द्रित मात्रै गरेकाले नतिजा हात पर्न नसकेको गुनासो पोखे । ‘पारिवारिक कारणले आफैं हिँडेको हो भनेर प्रहरीले भन्ने गरेको छ । तर, अहिलेसम्म न सास भेटिन्छ, न त लास नै’– लक्ष्मीप्रसाद भन्छन्– ‘कार्यालयबाट बाहिर निस्किएको सुरक्षागार्डले नदेख्नु र टेलिकमका कर्मचारीले वास्ता नगर्नुले पनि घटना शंकास्पद छ । प्रहरीको अनुसन्धानबाट हालसम्म कुनै नतिजा नआउँदा हामी परिवारका सदस्य ठूलो पीडामा छौं ।’
उनका अनुसार दिलीपको कोहीसँग पनि पुरानो रिसइबी थिएन । पारिवारिक समस्या पनि छैन । तर, कसैले नियन्त्रणमा लिएर गएको हुनसक्ने उनी बताउँछन् । बेपत्ता भएको दिन भाइ दिलीपले आफ्नी श्रीमती र सुरक्षागार्डसँग मात्रै फोन सम्पर्क गरेको पाइएको लक्ष्मीप्रसादको भनाइ छ ।

फागुनदेखि टेलिकममा काम गर्न थालेका उनी बेपत्ता भएदेखि मोवाइल ‘स्वीचअफ’ छ । उनले बजुनासँग फागुनमै विहे गरेका थिए । बिहे गरेको ६ महिनामै श्रीमान बेपत्ता भएपछि बजुनालाई ठूलो बज्रपात परेको छ । लक्ष्मीप्रसादका अनुसार भावविव्हल अवस्थाकी उनी एकोहोरो टोलाइरहन्छिन् र बर्बराउँछिन् । पतिको खोजीका लागि सहयोग माग्दै सबैतिर हारगुहार गर्छिन् । उनी भगवानसँग पनि बारम्बार प्रार्थना गर्छिन् ।

दिलीप बेपत्ता भएदेखि नै अवस्था पत्ता लगाउन अनेक प्रयत्न गरिएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय बिराटनगर कोशी प्रदेशका प्रशासन प्रमुख रामबहादुर बुढाथोकी बताउँछन् । ‘उहाँ हराउनेवित्तिकै सार्वजनिक सूचना जारी गरियो । प्रहरीलाई जानकारी गराइयो’– बुढाथोकीले भने– ‘हामी निरन्तर प्रहरी प्रशासनको सम्पर्कमै छौं । तर, अहिलेसम्म अवस्था अज्ञात छ ।’

घटनाप्रति चासो राख्ने र दिलीपको खोजीमा सहयोग गर्ने काम भइरहेको उनले बताए । ‘एक जना कर्मचारी हराउनु भनेको हामी समग्र कर्मचारीको चिन्ताको विषय हो । परिवार जत्तिकै हामी पनि चिन्तित छौं’– बुढाथोकीले भने– ‘घटनाका बारेमा तपाईंहरुले चासो राख्नु स्वभाविक हो भनेर प्रहरीले भन्छ । निरन्तर खोजी गरिरहे पनि पत्ता लगाउन सकेका छैनौं भनेर जवाफ दिने गरेको छ ।’

झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्र रिजाल सम्भावित सबै ठाउँमा खोजी भइरहे पनि दिलीपलाई फेला पार्न नसकिएको बताउँछन् । घटनाका बारेमा अहिलेसम्म कुनै संकेत नमिलेको उनको भनाइ छ । ‘प्रहरीले आफ्नो ठाउँबाट सबै काम गरिरहेको छ । विभिन्न पाटोबाट घटनाको अनुसन्धान भइरहेको छ’– उनले भने– ‘प्रहरीको विशेष टोली नै दिलीपको खोजीमा केन्द्रित छ । सबै ठाउँमा हुलियासहितको तस्वीर पठाएर खोजतलास जारी राखिएको छ ।’ रिजालका अनुसार प्रहरीले ठूलो मिहिनेत गरिरहँदा पनि कुनै उपलब्धी प्राप्त हुन सकिरहेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here