झापामा यस वर्ष धानको उत्पादन बढ्ने

0
10

लक्ष्मी उप्रेती,
काँकरभिट्टा ।

नेपालीहरुको चाड बडादशैं सकिएको छ । दोस्रो ठूलो पर्व तिहार नजिकिँएको छ । तर, झापाका किसानहरुलाई भने यतिखेर वर्षे धान बाली काटेर थन्क्याउने चटारो बढेको छ ।

गत वर्षकोभन्दा यस वर्ष धान तिहारअघि नै भित्र्याउनुपर्ने भएकाले किसान खेतमा व्यस्त छन् । किसानले कात्तिक शुरु हुने बित्तिकै धान काट्न शुरु गरेका थिए । दशैं सकिएलगत्तै आफूहरुलाई धान काट्ने झार्ने र थन्क्याउने चटारो बढेको झापाली कृषकले बताएका छन् । धान काट्ने र चुट्ने काम सकिएलगत्तै किसानलाई धान सुकाउने चटारो पर्ने, धानलाई राम्रोसँग नसुकाए पछि पुत्ला लाग्ने हुँदा धान सुकाएर भण्डारण गर्नुपर्ने कनकाई नगरपालिका–९ घैलाडुब्बाका कृषक सीताराम बजगाँईको भनाइ छ ।

दशैं पनि सकिएको तिहार आउन लागे पनि मौसम किसानका लागि धान भित्र्याउन निक्कै अनुकूल देखिएका कारण किसानलाई धान काटेर थन्क्याउन भ्याईनभ्याई भएको मेचीनगर–७ भान्साखोलाका किसान इन्दिलाल चौधरीको भनाइ छ । किसानको मुख्य आम्दानी स्रोतको रुपमा धान बाली रहेको छ । धान बेचेर नै घरायसी र अन्य खर्चको जोहो कृषकले गर्दै आएको चौधरी बताउँछन् ।

तिहारअघि नै धान भित्र्याउने तयारीमा चौधरी जुटेका छन् । एकातिर कृषकहरु धान थन्क्याउने बेलामा पानी पर्छ कि भन्ने चिन्तामा छन् भने अर्कातिर चाडपर्व तिहार नजिकिँए पनि यसपाली धान काट्ने बाँध्ने र उठाउने बेलामा मौसम अनुकूल भएकाले आफूहरुलाई सजिलो भएको बुद्घशान्ति गाउँपालिकाका कृषक प्रेम गौतमको भनाइ छ । बुद्घशान्ति गाउँपालिकालाई जिल्लाको अन्न भण्डारका रुपमा हेरिन्छ ।

पहिलाको जस्तो कृषि कर्ममा कृषि मजदुरको आवश्यक नपर्ने र धान काट्ने र झार्ने काममा आधुनिक कृषि औजारको प्रयोग बढ्न थालेपछि किसानलाई निकै सजिलो भएको छ ।

‘खेत खनजोत र कृषिउपज ढुवानी गर्दा पहिलेको जस्तो राँगा र गोरुगाडा आवश्यक छैन् यसको प्रयोग घटेको छ’ – मेचीनगर–७ सतिघट्टाका कृषक कृष्णबहादुर खवास भन्छन्– ‘पछिल्लो समय जोत्नेदेखि र धान काट्ने र झार्ने काममा आधुनिक मेशिनको प्रयोग बढ्दा निकै सहज भएको छ ।’ यसले समयको बचत हुनुका साथै परिश्रम समेत कम लाग्ने उनको अनुभव छ । अहिले मेसिनबाट धान झार्दा प्रति घण्टा दुई हजार दुई सय किसानले बुझाउनुपर्छ । कृषि मजदुर लगाए दैनिक छ सय रुपैयाँ हाजिरा दिनुपर्ने किसानको भनाइ छ ।

समयमै मलखाद, बीऊबिजन, सिँचाइ जस्ता समस्या भने हट्न नसक्दा कसिनले अझै पनि समस्या व्यहोर्नु परिरहेको उनको भनाइ छ । अधिकांश किसानको यो साझा समस्या भएको उनले गुनासो गरे । बेला–बेलामा धानबालीमा लाग्ने रोग पनि किसानका लागि समस्या बन्ने गरेको छ । यसका लागि समयमै कृषि विज्ञ वा प्राविधिक नपाइने उनी बताउँछन् ।

मरुवा, खैरो थोप्ले, पातमा लाग्ने डढुवा, कालो पोके लगायका रोग मुख्यगरी धानबाली देखिने गरेको छ । पानी धेरै नपर्नु, समयमा मल हाल्न नपाउनु लगायत कारणले धान उत्पादनमा कमी आउने कृषक खवासको भनाइ छ । ‘खेती गर्ने किसानले समयमै मल पाउँदैनन्’ –खवासले भने– ‘त्यसकारणले पनि बर्सेनि धानको उत्पादन घट्ने गरेको छ ।’ समयमै मल प्राप्त गर्न नसकेकाले बर्सेनि उत्पादनमा कमी आएको किसानको गुनासो छ । धानमा मल चाहिएका बेलामा बजारमा अभावको समस्या किसानले बर्सेनि झेल्दै आएका छन् ।

कृषकले आफूलाई आवश्यकपर्ने धान घरमा भण्डारण गरी बढी भएको धान स्थानीय व्यापारीलाई बिक्री गर्ने गर्दछन् । तर, धानको उचित मूल्य नपाएको गुनासो किसानको छ । अहिले बजारमा न्यूनतम धान प्रति मन एक हजार रुपैयाँले किनबेच भइरहेको कृषक कुलबाहादुर बुढाथोकीको भनाइ छ । यो दरले किसानको लगानी समेत नउठ्ने उनले दुखेसो व्यक्त गरे ।

झापामा बर्खे र हिउँदे धान दुई सिजनमा कृषकले लगाउने गरेका छन् । झापामा ९८ हजार सात सय हेक्टर खेतीयोग्य जमिन भए पनि गत वर्षलाई आधार मान्दा ८५ हजार सात सय ५० हेक्टर जग्गामा मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्र झापाका कार्यालय प्रमुख सागर बिष्टले जानाकरी दिए । अधिकांश क्षेत्रफलको जग्गामा असार महिनामा रोपिएको धान यतिबेला पाकेर पहेँलपुर भएको प्रमुख बिष्टले जानकारी दिए । जिल्लामा गत वर्ष वार्षिक चार लाख १५ हजार छ सय टन धान उत्पादन भए पनि यो वर्ष सात देखि १० प्रतिशतसम्म उत्पादन वृद्घि हुने अनुमान गरिएको उनको भनाइ छ ।

मलखाद, उन्नत बीऊ, प्रविधि र सिँचाइको अभावले आवश्यकता अनुसारको उत्पादन गर्न नसक्दा पनि धानमा परनिर्भर हुनु परेको सरकारी अधिकारीहरुको भनाइ छ । जिल्लामा औसत धान उत्पादकत्व प्रति हेक्टर पाँच दशमलव एक टन उत्पादन हुने उनको भनाइ छ । यस वर्ष पर्याप्त वर्षा भएकोले जिल्लामा वर्षे धान बालीको उत्पादन विगतको भन्दा बढ्ने अनुमान कृषि प्राविधिकको छ । जिल्लाको १५ वटै पालिकाका विभिन्न वडामा धानखेती हुने भए पनि कचनकवल, गौरीगञ्ज गौरादह, कनकाईमा धान बालीको उत्पादन अन्य क्षेत्रको भन्दा बढी हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here