गौ संरक्षण केन्द्रमा सामूहिक गाईपूजा

0
10
दमौली,
तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित गौ संरक्षण केन्द्रमा आज सामूहिक गाईपूजा गरिएको छ । मुक्तिनाथ शुक्लागण्डकी च्वयनधामको संरक्षकत्वमा सञ्चालित गौ संरक्षण केन्द्रमा तिहारको तेस्रो दिन सामूहिक गाई पूजा गरिएको हो ।
त्यसक्रममा केन्द्रमा रहेका एक सयभन्दा बढी गाईको पूजा गरिएको च्वयनधामका अध्यक्ष होमनाथ लम्सालले जानकारी दिनुभयो । च्वयनधामका मूल पुजारी गणेश खतिवडाको नेतृत्वमा गौ संरक्षण केन्द्रमा सामूहिक गाईपूजा गरिएको उहाँले जानकारी दिनुभयो ।
गौ संरक्षण केन्द्रले छाडा रुपमा छाडिएका गाईहरुको संरक्षण गर्दै आएको छ । सडक छेउछाउ छाडा रुपमा छाडिएका गाई संरक्षण गर्ने उद्देश्यसहित गौ संरक्षण स्थापना गरिएको थियो ।
शुक्लागण्डकी नगरपालिकाको रु १७ लाख र स्थानीयवासीको रु तीन लाख गरी रु २० लाखको लागतमा संरक्षण केन्द्र निर्माण गरिएको थियो । छाडा छोडिएका चौपायाको कारण राजमार्गमा सवारी दुर्घटना हुने, यातायात जाम हुने, बालबालिका, महिला तथा ज्येष्ठ नागरिक त्रसित हुने गरेको र चौपायाको मलमूत्रले बजार क्षेत्र नै दुर्गन्धित हुन थालेपछि नगरपालिकाले संरक्षण केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईको दूध आमाको दूध जस्तै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्त्व रहेको  बताइएको छ ।
गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here