लक्ष्मी उप्रेती
मेचीनगर,
दुई ठुला र महत्वपूर्ण चाड दशैं र तिहारको अन्त्यसँगै छठ पर्वको चहल पहल शुरु भएको छ । चारदिनसम्म चल्ने छठ पर्व शुक्रबार (भोली) बाट विधिवतरुपमा शुरु हुर्दैछ । छठ पर्व कात्तिक शुक्ल पक्षको चतुर्थी तिथिबाट शुरु भई सप्तमी तिथिमा बिहान सूर्यलाई अर्घ दिएर समाप्त हुन्छ ।
अहिले झापासहित तराई मधेसका विभिन्न जिल्लामा छठको विशेष रौनक छ । नदी, पोखरी र खोला किनारहरुमा छठ घाट तीब्ररुपमा निर्माण गरिदैं छ । ती घाटहरु झकिझकाउ छन् । छठीमाताको भक्तिगानले गुज्जिने छन् । छठपूजाको महत्वलाई बुझेर नियमसँगले यसको व्रत बसेर पूजा गर्न सके निःसन्तानले सन्तान प्राप्त गर्न सक्ने, आफ्नो परिवारमा सुःख शान्ति समृद्घि मिल्ने तथा चर्म सम्वन्धी रोगको अन्त्य हुने र आफूले चाहेको मनोकाँक्ष पुरा हुने जनविश्वास रहि आएको छ ।
सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईबासीको महान् चाड छठ पर्वको ब्रत आइतबार परेको छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने धार्मिक विश्वास रही आएको छ । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा हुने उद्देश्यले सूर्यको उपसना गरी छठ पर्व मनाउने गरिन्छ ।
झापामा समेत छठ पर्वको रौनक छाएको छ । सूर्य उपासनाको महापर्व छठका तयारीमा झापाका विभिन्न क्षेत्रमा चहलपहल देखिन थालेको छ । छठ प्रारम्भसँगै धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिङ्गारिएका छन् । छठका ब्रतालुहरुले नजीकैका खोला, नाला, नदी पोखरी, र तलाउलगायतका जलाशयमा केराका बोटमा विभिन्न रङ्गी विरङ्गी ध्वजापताकाहरु लगाएर बेँहुली सिङ्गारिए झै सिङ्गारेका छन् । छठ पूजाका कारण झापाका मेची, निन्दा, टिमाइ, देउनियाँ, फूलवासा, अन्धुवा, विरिङ्ग, कनकाई माइ, रतुवालगायतका नदीहरु ब्रतालुले दुलही झै सिङ्गारेका छन् ।
छठ पूजा समिति धुलावारीका निवर्तमान अध्यक्ष शिवशंकर शाहका अनुसार मेचीनगरको निन्दा नदीमामात्र ३ देखि साढे तीनसय पूजाघाटहरु धमाधम निर्माण भइरहेका छन् । ती सवै घाट हरेक वर्ष समितिले आफै निर्माण गर्दै आएको शाहाको भनाई छ । नेपाल भारतलाई छट्टयाउने मेची नदीमा संयौ पूजाका घाट बनाइएको छ । मेची नदीको पूर्वतर्फ भारतीय र पश्चिमतर्फ नेपालका ब्रतालुहरुले पूजापाठ गर्ने गरेका छन् ।
जिल्लाका विभिन्न स्थानमा छठपूजा सम्पन्न गर्न विभिन्न संघ संगठन गठन गरिएको छ । ती संघ संगठनले राती जाग्राम बस्ने ब्रतालुहरुका लागि विद्युत, टेण्डलगायतको उचित व्यवस्थापन गर्ने गर्दछन् । मेचीनदीकै भद्रपुरतर्फ भारतको बंगाल विहार राज्य र नेपालतर्फका धर्मालम्वीहरुले पूजाआजा गर्दछन् । घाट निर्माण भएका नदीहरुमा पूजाघाट व्यवस्थापनदेखि सरसफाई, बाटो मर्मत, पण्डाल, विजुलीबत्ती, शौचालय सूर्य भगवानको मूर्ति राख्ने स्थान, स्वास्थ्य शिविर,अस्थायी सुरक्षा क्याम्पको समेत व्यवस्था गरिएको हुन्छ ।
छठको पहिलो दिनलाई भोजपुरी भाषामा ‘नहाय खाय’ अर्थात ‘नुहाएर खानु’ भनिन्छ । नहाय खायको दिन महिलाहरु आँपको दतिउनले दाँत माझ्ने, हात खुट्टाको नङ काट्ने र नुहाएर मात्र शुद्ध सात्विक भोजन ग्रहण गर्ने निवर्तमान अध्यक्ष शाहाले बताउनुभयो । पहिलो दिन व्रतालुले लसुन, प्याज र मुसुरोको दाल खाँदैनन् । यसदिन अगहनी चामलको भात, अरहर अथवा चनाको दाल, लौकाको तरकारी र तोरीको साग अनिवार्य खानु पर्ने धार्मिक मान्यता रहिआएको छ ।
शनिबार दोस्रो दिन ‘खरना’ मनाइँदैछ । छठको दोस्रो दिन अर्थात पञ्चमी तिथिलाई ‘रसियाव रोटी’ पनि भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी ब्रतालुहरु यसदिन दिनभर उपवास बस्छन् ।
साँझपख नुहाएर चोखो भई कुल देवताको पूजा कोठामा माटोको नयाँ चुल्हो बनाएर सख्खर राखेर खीर तथा माटोको भाँडोमा गहुँको रोटी पकाउँने चलन रहेको मधेशी समूदायका अग्रज लक्षेन्द्रप्रसाद यादव बताउनुहुन्छ । उक्त ‘रसीआव रोटी’ चन्द्रोदयपछि चन्द्रमालाई चढाएर पूजापाठ गरेपछि व्रतालुहरुले खाने गर्दछन् । त्यसपछि उनीहरु पानीसमेत नपिई व्रत बस्छन् । जतिवटा अर्घ दान गर्ने हो, त्यति ठाउँमा केराको पातमा राखेर छठीमातालाई नैवेद्य चढाउने कााकरभिट्टाका बैद्यनाथ ठाकुरको भनाई छ । यसरी चढाइने नैवेद्यमा खीर, दूध, केरा, मूला, अदुवा, पान, सुपारी आदि राखिन्छ । नैवेद्य चढाइसकेपछि व्रतालु र परिवारजनले प्रसाद ग्रहण गर्छन् ।
विगत ९ वर्षदेखि मेची नदीमा घाट बनाएर यो पूजा गर्दै आउनु भएका महेन्द्रप्रसाद झाका अनुसार छठको तेश्रो दिन अर्थात षष्ठी तिथीलाई छठको मुख्य दिन मानिन्छ । यसदिन साँझ ब्रतालु नदी, पोखरी, तलाउ लगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुग्छन् । निर्जल र निराहार व्रत बसेका उनीहरुले अस्ताउदो सूर्यलाई अर्घ दिन्छन् । सूर्यसँग आफूले चिताएको कुरा माग्छन् । भाकल गरेकाहरुले त्यस दिन घरमा आएर छठी मातालाई खुशी पार्न कोशी भर्ने गर्दछन् । यस दिनलार्ई ‘सँझीया घाटे’ पनि भनिन्छ । यो मंसिर ३ गते आइतबार परेको छ । छठ पर्वमा सूर्यलाई अर्घ दिने र उक्त समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्को (पातगुवो) सहितको उखु आवश्यक सामग्री अर्पण गर्ने ब्रतालुहरुको भनाई छ ।
ब्रतालुहरुले बाँसको ढाकी, सौप ‐एक प्रकारको नाङ्लो) मा फलफूललगायतका पूजा सामग्री राखेर आफूले बनाएको पूजा घाटमा गएर सूर्य भगवानको पूजा गरी अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि धेरैजना नदीमा आधा शरीर डुबाएर भजन किर्तनसहित रातभर जाग्राम बस्ने र कति घर फर्किने गरेका छन् । भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर पूजापाठ गरेपछि कात्तिक शुक्ल पक्षको चतुर्थी तिथिबाट कठोर व्रत गरेर शुरु भएको छठ पर्व विधिवत रुपमा समापन हुने निवर्तमान अध्यक्ष शाहाले जानकारी दिनुभयो ।
छठको चौथो तथा अन्तिम दिनलाई भोजपुरी भाषामा ‘बिहनइया’ अथवा ‘भोरे घाट’ भनिन्छ । सप्तमी तिथिको उदाउँदो सूर्यलाई जलाशयमा गई अर्घ दिएर प्रार्थना गर्छन् । तराई मधेसमा बस्ने भोजपुरी र मैथिली भाषी हिन्दुको मुख्य पर्व छठमा पछिल्लो समयमा अन्य समुदायको पनि आकर्षण बढ्दै गएको झापा मेचीनगर— १० का कैलास खड्काको भनाई छ । निन्दा मेचीलगायतका नदीमा मधेशी, मारवाडी, पहाडेलगायत सवै समुदायले सामूहिकरुपमा पूजा गर्ने गरेका कारण माग अनुसारको पण्डाल निर्माण गरिएको शाहाको भनाई छ ।
हिन्दु धार्मिक मान्यताको आधारमा यो पर्व वर्षमा दुईपटक कात्तिक र चैत महिनामा निष्ठापूर्वक मनाइने भए पनि कात्तिक महिनाको छठ पर्वको विशेष महत्व रहि आएको देवेन्द्र मण्डलको भनाई छ । मधेशी थारु समुदायले मात्र मनाईरहेको छठपर्व अहिले सवै समुदायले मनाउने गरेका छन् । छठपर्व प्रति सर्वसाधारणको आस्था र विश्वास बढिरहेकाले पनि यो पर्व भाइचारा र सद्भावको अनुपम उदारहण बनेको धुलावारीका लक्षेन्द्रप्रसाद यादव बताउँनुहुन्छ । पछिल्लो समयमा आएर पहाडी समुदायले समेत छठपर्व मनाउने गरेको ओमकृष्ण ठाकुरको भनाई छ ।
छठका कारण केराको मूल्य आकासियो
छठपूजामा केराको माग अत्याधिक हुने भएकाले छठपर्वमा केराको मूल्य आकासिएको छ । अन्य दिन ३ देखि ५ सय रुपैयाँप्रतिघरी विक्री हुने केरा छठका बखत ८ देखि १ हजार रुपैयाँसम्ममा विक्री भएको बताइएको छ ।
यो पर्वमाा सक्नेले केराका घरी घरी नै नसक्नेले केराको काईयो चढाउने गरेका छन् । छठपर्वमा केरा नभई नहुने भएकाले बजारमा यसको माग बढेपछि व्यपारीले मूल्य बढाएका हुन् सक्ने अनुमान छ ।