चाडपर्वमा दिनहुँ आगलागी

0
11

झापा ।

दशै र तिहारको बीचमा झापामा १७ वटा आगलागीका घटनामा परी एक महिलाले ज्यान गुमाएकी छिन् भने लाखौं रुपैयाँको धनमाल जलेर नष्ट भएको हो । दशै र तिहारको १७ दिनको अवधिमा भएका आगलागीका घटनामा परी दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार जिल्लाका विभिन्न स्थानमा भएको आगलागीका घटनामा लाखौंको क्षति भएको हो । प्रहरीका अनुसार कात्तिक १३ यत कात्तिक ३० गतेसम्म झपामा १७ आगलागीका घटना घटेका हुन् ।

प्रहरीका अनुसार गत कात्तिक २३ गते अर्जुनधारा नगरपालिका वडा नं. १० बस्ने शिवकुमार राईको टाँटी बेरा र टिनको छाना भएको घरमा आगलागी हुँदा राईकी ७५ वर्षीया श्रीमती दिलकुमारी राईको जलेर मृत्यु भएको हो । आगलागीका कारण ७३ वर्षीय शिबकुमार राई समेत घाइते भएका थिए । आगलागीका कारण ७५ हजार बराबरको धनमाल समेत क्षति भएको प्रहरीले जनाएको छ ।

गत कात्तिक १३ गते बिर्तामोड–८ किसनभिट्टा निवासी शेरबहादुर बिष्टको घर नजिकै रहेको धानसहितको परालको कुन्यूमा आगलागी भएको थियो । आगलागीबाट २२ कठ्ठा खेतको अन्दाजी ६० मन धान र पराल समेत जल्दा ७२ हजार मूल्य बरावरको क्षति भएको हो ।

कात्तिक १५ गते मेचीनगर–११ लाबरबोटे निवासी टीकाराम कार्कीको गाईगोठमा खोले पकाउने चुल्होबाट सल्किएको आगोले गाईगोठ तथा गोठमा राखेको काठ जल्दा ३ लाख मूल्य बराबरको क्षति भएको हो ।
कात्तिक १६ गते भद्रपुर–८स्थित प्रादेशिक अस्पताल अगाडि रहेको मानबहादुर र यमकुमारी खड्काले सञ्चालन गरेको सिन्धुली खाजामा आगलागी हुँदा ५० हजार मूल्य बरावरको क्षति भएको हो । रेगुलेटरबाट ग्यास लिक भएर भएको आगलागीका कारण ग्याससहित पसलमा भएका सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

त्यस्तै कात्तिक १७ गते दमक–३ दुम्से निवासी लक्ष्मण महतको टिनको छानो भएको एक तले घरमा भएको आगलागीमा ७० लाख रुपैयाँ बरावरको क्षति भएको हो । बिजुली सर्ट भएर आगलागी हुँदा नगद नगद १ लाख २० हजार, १५ तोला सुन, १० तोला चाँदी, समेत जलेको बताइएको छ ।

कात्तिक २१ गते झापा–३स्थित मनारु हकको घर छेउमा राखेको मकैको खोस्टाको सन्ठी राखिएको ठाउँमा आगलागी हुँदा ४७ वर्षीया रफिम बीबी जलेर घाइते भएकी थिइन् । कात्तिक २२ गते बिर्तामोड–९ नरियाबारी निवासी पुष्पराज आचार्यको खेतबाट सल्किएको आगोले परालको कुन्यू जल्दा १० हजार मूल्य बरावरको क्षति भएको हो ।

कात्तिक २४ गते बुद्धशान्ति–४ मंगलबारे बस्ने जेठा भनिने कुमार तामाङको गाई गोठमा खोले पकाउने क्रममा आगलागी हुँदा १० लाख मूल्य बरावरको क्षति भएको हो । आगलागीबाट घर बनाउन राखेको सखुवाको काठ धान, मकै ४ मन, गोठमा राखेको पराल र गोठ समेत पूर्ण रुपमा जलेर नष्ट भएको हो ।

त्यस्तै कात्तिक २७ गते झापा गाउँपालिका वडा नं. ६ हनुमान चोक बस्ने राजन मण्डलको घरमा भएको आगलागीबाट ५ लाख ३१ हजार मूल्य बरावरको क्षति भएको हो । विद्युत् सर्ट भई आगलागी भएको र आगलागीका कारण नगद ६० हजार, २ तोला, चाँदी ११ तोला, लत्ताकपडा, भाडाबर्तन, काठ र घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो ।

त्यस्तै कात्तिक २८ गते शिवसताक्षी–१ बरपिपल चौक निवासी देवीनारायण श्रेष्ठको घर नजिकै खेतमा रहेको एक बिगाह खेतको धानको कुन्यूमा आगलागी हुँदा ९२ हजार मूल्य बरावरको क्षति भएको हो ।
२८ गते नै भएको आगलागीमा बिर्तामोड–८ गरामनी निवासी युवराज पौडेलको घर छेउमा रहेको धान सहितको परालको कुन्यूमा आगलागी भएको थियो ।

कात्तिक २९ गते दमक–३ दुम्से निवासी मनबहादुर बोहराको घरमा आगाली भएको थियो । आगलागीका कारण २२ लाख मूल्य बरावरको क्षति भएको हो । त्यस्तै कृष्ण कार्कीको टिनको छानो, टाँटीको बेरा भएको १ तले गाई गोठ समेत पूर्ण रुपमा जलेको र निजकै टिनको छानो, इट्टा सिमेन्टको बाल भुइँ भएको १ तले घर सामान्य जल्दा २ लाख मूल्य बरावरको क्षति भएको हो ।

कात्तिक २९ गते नै दमक–३ बेलडाँगीस्थित भुटानी शरणर्र्थी शिविर हट नं. सी फोर सेक्टर ३६९ बस्ने ३० वर्षीय गीता माया सुब्बाको टिनको छानो एक लाख मूल्य बरावरको क्षति भएको हो ।

कात्तिक ३० गते बिर्तामोड–१ पञ्चकन्या टोल बस्ने नन्दकुमार प्रसाईको दुई तल्ले पक्की घरको भुई तल्लामा रहेको स्टोर मा आगलागी हुँदा एक लाख ५० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीका घटनामा अधिकांश क्षति विद्युत सर्ट भई भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्याालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here