पूर्वाञ्चलमा बिताएका पलहरु

0
13

यो मानवपटलमा भोगाइका ती दिनहरुलाई २९औं वार्षिक उत्सवले पुनः ताजगी गरायो । हामी भोकभोकै पैतालामा ठेला उठ्ने गरी झापाका विभिन्न ग्रामीण तथा शहरी क्षेत्रमा भेटघाट अनि अन्तरक्रियामा निरन्तर हिँडीरह्यौं । एउटै साझा हितका लागि हाम्रो टीम गौरीगञ्जको बजार परिक्रमा पश्चात गाविस भवनको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताको रुपमा मैले पनि अवसर पाएँ ।

थलापरिसकेको पूर्वाञ्चल दैनिकलाई प्राण भने हामीले विगतमा गरेको प्रयास स्मरणीय छ । धुलाबारी, काँकरभिट्टा, चारआली, बिर्तामोड, भद्रपुर, सुरुङ्गा, दमक, गौरादह, गौरीगञ्ज, झिलझिले, शनिश्चरे लगायतका बजारमा पूर्वाञ्चल दैनिकको बजार बिस्तार गर्नेक्रममा तत्कालिन सम्पादक स्व. मदन ढकाल, प्रकाशक भरतलाल गिरीको नेतृत्वमा व्यवस्थापक मातृका विमली, मोहन काजी, एकराज गिरी, सुब्रत न्यौपाने सँगसँगै म पनि थिएँ । यो अभियानमा पूर्वाञ्चल दैनिकलाई जीवन्नता दिनेक्रममा बजारमा ग्राहक विस्तार गरेर पत्रिकाको प्रकाशन क्षमता अभिवृद्धि गर्ने जमर्कोमा जुटेको हिजोअस्ति जस्तो लाग्छ । त्यो पूर्वाञ्चल दैनिक आज २९ वर्षको वयस्क भइरहँदा राष्ट्रियस्तरको ‘क’ वर्गमा सूचीकृत भइरहेको सुनाउन पाउँदा खुशी लागेको छ ।

पूर्वाञ्चल दैनिकको प्रमुख सम्वाददाताको रुपमा मेरो नाम डेटलाइन मै छापिएका दिनहरुदेखि नै मेरो लेख, रचना प्रकाशित हुने अवसर पाएको हो । मलाई समाचारभन्दा बढी लेख नै लेख्ने अभ्यास भएरै पनि समाचार लेखनलाई भन्दा विचार वा तर्कसंगत लेख लेख्नमा नै बढी रुची हुन्छ । तर, यतिबेला व्यस्तताका कारण समयदिन सकेको छैन । त्यतिबेला पूर्वाञ्चलमै बास बसिन्थ्यो, पूर्वाञ्चल नै ओढ्ने–ओछ्याउने सबैथोक भनेर समर्पित भइन्थ्यो । पूर्वाञ्चल दैनिकलाई संस्थागत गर्न बगेका श्रम र पसिनाको ज्यालाको कुनै मूल्य नै छैन । आफूले दुःख गरेको जुनसुकै संस्थाको माया स्वतःस्फूर्त हुँदोरहेछ ।

पछिल्लो समयमा कोभिडको प्रकोपबाट प्रताडित भएको पूर्वाञ्चल दैनिकसँग मेरो सम्बन्ध पुनः जोडिएको छ । व्यवस्थापक कै आग्रहमा चारआली क्षेत्रलाई हेर्ने जिम्मेवारी सम्हाली रहेको छु । यो स्वीकारोक्तिमा ती कठिन क्षणका दिनहरु पनि प्रेरक बने । व्यस्त हुँदा पनि सम्वाददाता वा प्रतिनिधिको रुपमा जोडिनु भनेको पूर्वाञ्चल दैनिक प्रतिको मेरो विगतको मोह नै हो ।

मलाई याद छ– धुलाबारीमा हामी बजार विस्तार अभियानमा नै थियौं । मेरी श्रीमति डेलीभरी गराउन स्वास्थ्य केन्द्र धुलाबारीमा लगेको थिएँ । स्वास्थ्य संस्था मै छाडेर म एकैछिन भनेर निकै लामो समय त्यतै बिताएका क्षणहरु स्मरणीय छन् । घरपरिवार, व्यवहार, फाइदा सबै कुरा बिर्सेर हामी पूर्वाञ्चल दैनिकको स्तरोन्नतिका लागि लागीपरेका दिनहरु सम्झँदा मलाई अहिले पनि गर्व लाग्छ ।

वयस्क अवस्थामा आइपुगेको पूर्वाञ्चल दैनिक कहिले अतिरञ्जित बनेन । अविरल बगिरहने इन्द्रावती जस्तै सदाबहार पूर्वाञ्चल दैनिकसँग भएको मेरो सम्बन्ध जहिल्यै सदाबहार छ । अहिले राष्ट्रिय स्तरको ‘क’ वर्गमा सूचिकृत हुन सफल हुनु, त्यसमा पनि यस पत्रिकाका सम्पादक एकराज गिरी नेपाल पत्रकार महासंघको झापा शाखाको सभापति बन्न सफल हुनु पनि झापा पत्रिकारिता क्षेत्रमा पाएको पूर्वाञ्चलको लोकप्रियतालाई झल्काउँछ ।

त्यसैगरी पाठक वर्गप्रति पनि निकै नै लोकप्रियता कमाउन सफल पूर्वाञ्चल दैनिकका कतिपय पाठकहरुले एक दिनमात्र पूर्वाञ्चल पढ्न नपाउँदा सब्जीमा नुन नभए जस्तो हुन्छु भन्ने अनुभूतिहरु पोख्नुबाट बुझिन्छ । पूर्वाञ्चल सबैको प्यारो छ । जय पूर्वाञ्चल दैनिक !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here