लक्ष्मी उप्रेती,
मेचीनगर ।

कोभिड महामारी, आर्थिक मन्दी र भारतीय बजारका कारण समस्यामा परेका मेचीनगरका साना तथा मझौला व्यवसायीलाई भरखरै सकिएका चाडपर्वले खासै उत्साहित बनाएन । बजारमा ग्राहक नआउँदा र व्यपार नबढेका कारण साना तथा मझौला व्यवसायी बढी मारमा परेको उद्योगी व्यवसायीहरुको छाता संगठन मेची उद्योग बाणिज्य संघ मेचीनगरले जनाएको छ ।
विविध कारणले सुस्ताएका नगरको व्यवसाय दशैं तिहार छठलगायतका पर्वका कारण केही चलायनमान हुनेमा आशावादी थिए नगरका उद्योगी व्यवसायीहरु तर, चाडपर्वमा हुने कारोवारले राहत नपाएको उनीहरुको गुनासो छ । मेचीनगरका धेरैजसो उपभोक्ता उपभोगय सामान खरीद गर्न भारतीय बजार नक्शलवाडी र पानीट्याँकीमात्र होइन शिलीगुडीसम्म पुग्ने संघका अध्यक्ष खेमराज प्रसाई बताउनुहुन्छ । ‘व्यवसाय गरेर दिन बिताउनै गाह्रो हुन थालेको छ । आर्थिक मन्दीको असर सबैभन्दा बढी व्यापारमा परेको छ ’ अध्यक्ष प्रसाईले भन्नुभयो —‘विगतका दसैँमा दिनमै एक लाख हाराहारी हुने व्यापार यस पटक ३० हजारको हाराहारीमा झरेको छ । ’
मेचीनगरको प्रमुख व्यापारिक केन्द्र काँकरभिट्टा, धुलावारी चारआलीमा ठूला लगानीका व्यापार–व्यवसाय सञ्चालनमा रहेका छन् । इटाभट्टा, धाइजन बाहुनडाँगीमा समेत हटबजार लाग्ने गरेका छन् । किसान कपडा पसल मेचीनगर— ६ काँकरभिट्टाका सञ्चालक नवराज उप्रेती यसपटक झन् व्यापार घटेको बताउनुहुन्छ । ‘मेचीगरका साना तथा मझौला व्यवसायीको दुःखमा चाडपर्वमा गरीने किनमेलले थोरै भएपनि मल्हम पट्टीको काम गर्छ कि भन्ने थियो ’ उप्रेतीले भन्नुभयो— ‘अपेक्षा गरे जस्तो भएन् । जसरी चाडपर्वका बखत हुनुपर्ने व्यपार भएन् । सारै मार खाईयो ।’ कोरोनाकालदेखि नै खस्केको व्यापार अझै लयमा फर्किन नसकेको उहाँको भनाई छ ।
कोभिड अघिको समयमा राम्रो व्यापार भएको बताउँदै उहाँले भन्नुभयो —‘अहिले त्यो भन्दा पनि व्यापार खस्केको छ, व्यापार बढ्ने अपेक्षा गरेका सबै व्यवसायी निराश हुनुपरेको छ । यसपटकको चाडपर्वमा समेत व्यापारमा निकै मन्दी छायो ।’ कोभिडअघिका दशैं, तिहार छठलगायत चाडपर्वका बखत २ देखि ५ लाख रुपैयाँका कपडा विक्री गर्ने उहाँ अहिलेको दशैं, तिहार छठलगायतका पर्वमा एक देखि डेढलाख रुपैयाँँका कपडा विक्री गर्न पनि हम्मे हम्मे परेको उहाँको भोगाई छ ।
व्यापार नै न्यून हुन थालेपछि व्यवसायीहरूलाई पसलको भाडा नै तिर्न समस्या भएको र यो नगरभरिका उद्योगी व्यवसायीहरुको साझा समस्या भएको उहाँको भनाई छ । छठका बखत थरी थरीका मिठाई, फलफूल मात्र नभएर माटोका भाडा र नयाँ कपडाको कारोवार हुन्छ । तर, नगरमा ती सामान खरीद गर्नेको संख्या न्यून छ । अघिल्लो छठका बखत हजारौंको केरा बेच्नु भएका काँकरभिट्टाका फलफूल व्यापारी रामबाबु प्रसाद बताउँनुहुन्छ ।

नेपाली बजारको तुलनामा भारतीय बजारमा सामान सस्तो पाईने उपभोक्ताको बुझाईका कारण पनि यस्तो समस्या आउने संघका वरिष्ठ उपाध्यक्ष कपिल (किशोर) क्षेत्रीको भनाई छ । लामो समय खासै कारोवार नभएर तनाव झेल्न बाँध्य नगरका उद्योगी व्यवसायीहरुलाई चाडपर्वको कारोवारले उत्साहित बनाउनु पर्ने भएपनि खासै सन्तोषजनक व्यापार नभएको उहाँको भनाई छ । अधिकाँश उद्योगी व्यवसायीहरुले बैंक तथा वित्तिय संस्थाहरुबाट कर्जा लिएर व्यवसाय सञ्चालन गरेको बताउँदैं संघका सदस्य दीपेन्द्रराज पाण्डेले भन्नुभयो ‘भनेजस्तो व्यापार नभएकै कारण आज उनीहरुले बैंक तथा वित्तिय संस्थाहरुलाई समयमै न व्याज बुझाउन पाएका छन् न त साहुँ नै घटाउन सकेका छन् । ’ यी सवैको मुख्यः कारण नै बजारमा अपेक्षित कारोबार नभएको, चाडपर्वमा समेत बजारमा किनमेल गर्नेको चहलपल कम भएको, बजारको कारोबार सामान्य अवस्थाकै जस्तो हो उहाँले थप्नुभयो ।
चाडपर्वका बेला सोचेजस्तो व्यापार नभएपछि यहाँका व्यवसायी निराश त हुने नै भए । ‘विगतका वर्षमा कोरोना महामारीका कारण थला परेको व्यवसाय यो चाडपर्वका बखत राम्रो हुने आशा थियो’ मेचीनगर— ६ काँकरभिट्टामा झण्डै एकदशदेखि जुत्ता चप्पल तथा रेडिमेड कपडाको पसल सञ्चालन गर्दै आउनुभएका हर्क फेन्सी पसलका सञ्चालक हर्कबहादुर लिम्बू फियाक भन्नुहुन्छ—‘ बजारमा अन्य बेलामा जस्तै छिटफुट मात्र कारोबार भइरहेको छ । मानिससंग पैसा नभएकै कारण ग्राहक कम आएको हुनसक्ने अनुमान छ,उपभोक्ताको क्रयशक्ति पनि घटेको छ ।’
कोभिड अघिका दशैं तिहारलगायतका चाडपर्वमा उहाँको पसलमा कपडा छान्नेको भिडभाड निक्कै ठूलो हुन्थयो । अब त्यो दिन फर्किन समयनै पर्खिनु पर्ने लिम्बुको भनाई छ । कोभिडको महामारी कम भएपछि व्यापारमा सुधार हुने अपेक्षा गर्नुभएका उप्रेती फेन्सी स्टोर मेचीनगरका सञ्चालक सूर्यप्रकाश उप्रेती पनि अहिले किनमेल गर्ने ग्राहक घटेको र व्यापार नहुँदा नयाँ सामान ल्याउन नसकेको बताउँनुहुन्छ ।

कोरोना संक्रमण डरले ग्राहक बजारमा नआउँदा व्यापारी चिन्तित थिए भने कोरानाकै कारण धेरै खुद्रा व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको उहाको भनाई छ । लकडाउनले व्यवसायीहरु ऋणमा डुबे, अहिलेसम्म ऋण तिर्न सक्ने अवस्थामा नरहेको उहाँको पीडा छ । ‘ ऋणको भारले थिचिए पनि साना व्यवसायी अहिले चाडपर्वको झिनो आशा लिएर व्यवसाय चलाउन थालेका थिए । त्यो पनि अपेक्षाअनुसार कारोवार भएन् ।’ उहाँले भन्नुभयो ।
लकडाउनमा घरभाडा, कर, बैंकको किस्ता तिनुपर्ने तर व्यापार शून्यको अवस्थामा छ,’उहाँले भन्नुभयो—‘सरकारले नै व्यापारीलाई राहतको व्यवस्था नगरे व्यवसायीलाई गुजारा चलाउनै कठिन हुन्छ । यस्तो अवस्थामा सरकारले न्यून व्याजदरमा ऋण उपलब्ध गराएमा व्यापारलाई चलायमान बनाउन सहयोग पुग्थ्यो ।’ सरकारले बैकको व्याजदर मिनाहा वा न्यून गरेमा लकडाउनले थिलथिलो भएका साना व्यापारी तथा व्यवसायीहरुलाई राहत पुग्ने अधिकाँश व्यवसायीहरुको भनाई छ । आर्थिकरुपमा निकै घाटामा रहेका व्यापारीहरु आफ्नो व्यापारलाई सामान्य अवस्थामा फर्काउन कठिन भइरहेको बताउँछन् ।































