अन्धुवा खोलामा छठ पर्ब मनाइँदै

0
9

बिर्तामोड । बिर्तामोडको मध्यभाग भएर बग्ने अधुवा खोलामा मनाइँदै आएको छठ पर्ब यस बर्षपनि मनाइने भएको छ । बिर्तामोड नगरपालिका ३ स्थित बिर्ताबजार पश्चिम भएर बग्ने अन्धुवा खोलामा छठ पर्ब मनाउन लागिएको हो । यस ठाउँमा विगत ६० वर्षभन्दा पहिलादेखि नै निरन्तर छठ पूजा गरिँदै आएको र यस वर्षपनि भब्य रुपमा पूजा गर्न लागिएको हो । अन्धुवाखोलालाई सफा गर्दै पूजा गर्ने तयारी थालेसंगै बिरिङ खोलामा छठ पूजा गर्न गएकाहरु पनि विस्तारै पुरानै ठाउँमा फर्किन थालेको बताइएको छ । 
विगतमा आ–आफ्नै किसिमले पूजा गर्ने गरेकोमा नेपाल मधेसी समाज सेवा समितिले सरसफाई गरी व्यवस्थित घाट निर्माण गरिदिएपछि ब्रतालुुहरु पुरानै ठाउँमा फर्किन थालेका हुन् । समितिले यस वर्ष बिर्ताबजारस्थित अधुवा खोलालाई सरसफाई गरी २०२ वटा स्टल बनाएको छ । खोलाको दुवैपट्टी १०१ वटाका दरले २०२ वटा स्टल(पण्डाल) निर्माण गरिएको मधेसी समाज सेवा समितिका अध्यक्ष रामेश्वर मण्डलले बताए । एउटा स्टलमा दुईवटा डाला राखिने छ ।
बिर्ताबजारको अधुवा खोलाको बगरमा विगतमा छठ पूजा गर्ने करिव ५ प्रतिशत भक्तालुहरु बिरिङ गएकोमा सबैजना साविक ठाउँमै फर्किएको उनको भनाई छ । उनले समितिको आयोजनामा छठ पूजालाई व्यवस्थित बनाइएको जानकारी दिए ।
‘ अधुवा खोलामा भइरहेको फोहोरका बारेमा हामीले नगर प्रमुख र वडाध्यक्षको ध्यानाकर्षण गराएका छौं ’ उनले भने,‘ अधुवा खोलाको फोहोर देखेर भाग्नु हुँदैन , सरसफाई गरी अधुवा खोलामै छठ पूजा गर्नु पर्छ ।’
समितिले शनिवार पत्रकार सम्मेलन गरी तयारीबारे जानकारी दिएको छ । छठ पूजाका कार्यक्रम संयोजक संजयकुमार शर्माले स्थानीय भक्तालुहरुले अबदेखि अधुवा खोलामै छठ पूजा गर्ने बताएपछि उनीहरुलाई एकत्रित गरिएको बताए । उनले आर्थिक रुपमा विपन्न भएकाहरुलाई निःशुल्क स्टल उपलव्ध गराइएको जानकारी दिए । समितिले प्रतिस्टल २५ सय रुपैयाँ तोकेको छ । कार्यक्रममा मधेसी समाज सेवा समितिका सदस्य दिलिप सिंहलगायतले छठ पूजाको महत्व र पूजाको तयारीबारे जानकारी दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here