‘शिक्षासेवी एवम् गायक ओली समाजका सम्पत्ति’

0
11

सुरुङ्गा ।

झापा सुरुङ्गामा लोकप्रिय शिक्षासेवी एवम् गायक लवप्रसाद ओलीको स्मृतिग्रन्थ विमोचन एवं प्रतिमा अनावरण गरिएको छ ।

जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र जामुनाबारीमा एक विशेष समारोहका वीच स्व.ओलीको स्मृतिग्रन्थ विमोचनसँगै प्रतिमा अनावरण गरिएको हो । स्मृतिग्रन्थ प्रकाशन समितिका अध्यक्ष एवम् स्वर्गीय ओलीका भाइ अनिरुद्र ओलीको सभापतित्व एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमा वक्ताहरूले स्व. ओलीको व्यक्तित्व र कृतित्वमाथि चर्चा गरेका थिए ।

लव ओली स्मृति ग्रन्थ प्रकाशन समिति तथा लव ओली बालगृह व्यवस्थापन समितिको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि पोखरेलले स्मृतिग्रन्थ विमोचनसँगै जामुनबारी सामुदायिक वन परिसरको प्रतीक्षालयमा राखिएको स्व. ओलीको प्रतिमा अनावरण गरेका थिए ।

स्मृतिग्रन्थ प्रकाशन समितिका उपाध्यक्ष बालकृष्ण सिटौलाले स्वागत मन्तव्य राखेको कार्यक्रममा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापा, वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती, प्राज्ञ नरराज लुइटेल, राष्ट्रिय सभा पूर्व सदस्य हरिचरण शिवाकोटी, साहित्यकार एवं समालोचक पुण्यप्रसाद खरेल, डा.कृष्णप्रसाद ओली, घनेन्द्र शर्मा न्यौपाने, मीना अधिकारी, पुण्यप्रसाद ओली, जामुनाबारी सामुदायिक वन समुहका अध्यक्ष ख्यामराज सिटौला, साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठ लगायतले स्व. ओलीको बहुआयामिक प्रतिभाशाली व्यक्तित्वको सम्बन्धमा चर्चा गरेका थिए । सो कार्यक्रमका अवसरमा कला, साहित्य एवं शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान वापत घनेन्द्र शर्मा न्यौपाने, हरिनारायण भट्टराई, विशाल राई, हिम्मत नेम्बाङ, गणेश ढुंगाना र तुलसा पाठकलाई सम्मान गरिएको थियो ।

साङ्गीतिक प्रस्तुतिसमेत रहेको कार्यक्रममा चम्पापुर माविका प्रधानाध्यापक एवम् साहित्यकार विष्णुप्रसाद कोइरालाले विमोचित स्मृतिग्रन्थको समीक्षा प्रस्तुत गरेका थिए । स्मृतिग्रन्थ सम्पादन समितिका तर्फबाट विद्वान व्यक्तित्व डा.पुण्यप्रसाद सिग्देलले ग्रन्थ प्रकाशनको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा ओलीका कान्छा भाइ जगदिश ओलीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन कन्काई मावि सुरुङ्गाका नेपाली शिक्षक भीमप्रसाद दहालले गरेका थिए ।

को हुन् लवप्रसाद ओली ?

ते¥हथुम जिल्ला हालको आठराई गाउँपालिका वडा नं. ६ स्थित होडागाउँमा पिता दुर्गाप्रसाद ओली (डिठ्ठा कान्छा) र माता मनमाया सिटौला ओलीका ज्येष्ठ पुत्रका रुपमा वि.सं. २००० को चैत १४ गते जन्मिएका लवप्रसाद ओलीले विद्यालयस्तरीय शिक्षा आठराईको चुहानडाँडाबाट नै प्राप्त गरेका थिए । हालको तेह्रथुम क्याम्पसबाट आई.ए.सम्मको अध्ययन गरेका ओलीले त्रिभुवन विश्वविद्यालयबाट बिए÷बिएड सम्मको अध्ययन गरे ।

त्यसपछिको समय झापाका विभिन्न विद्यालयमा कतै शिक्षक त कतै प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आफ्नो सम्पूर्ण समय शिक्षा क्षेत्रमा बिताएका ओलीको वि.सं.२०६४ को मंसिर १ गतेका दिन निधन भएको हो । झापाका प्रतिष्ठित प्रधानाध्यापकका रूपमा परिचित कनकाई नगरपालिका वडा नं. १ मा स्थायी बसोबास भएका स्व.ओलीले सुरुङ्गास्थित कनकाई बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्ष भएर काम गरेका थिए ।

ओली वंश जिल्ला समिति झापाको अध्यक्षको जिम्मेवारीमा रहेर ओली वंशकै कुलदीपक बनेका स्व. ओली सामाजिक क्षेत्रमा सदैव अग्रसर हुन्थे । नृत्य र गायन क्षेत्रमा अत्यन्तै रुची राख्ने स्व. ओली लोक गायकका रूपमा स्थापित व्यक्तित्व थिए । वि.सं.२०२६ मा रेडियो नेपालद्वारा आयोजित देशव्यापी लोकगीत प्रतियोगितामा प्रथम भएका ओली साथीभाइमाझ अत्यन्तै रसिक मानिन्थे ।


सुरिलो स्वरमा गीत गाउने ओलीले लोक भाकामा धेरै गीत तथा कविता रचना गरेका छन् । ती कविता साथै गीतलाई स्मृति ग्रन्थमा समेटिएको छ । जीवनको ४० वर्षसम्मको लामो समय शिक्षा क्षेत्रमा बिताएका स्व. ओली कुनै परिवार विशेषको मात्र नभई समाजकै सम्पत्ति रहेका थिए ।

शिक्षा, समाजसेवा, लोक गायन, परम्परागत लोक संस्कृति आदिको संरक्षण र सम्बद्र्धनमा आफ्नो सम्पूर्ण समय बिताएका स्व. ओलीको सम्मानमा स्मृतिग्रन्थ प्रकाशन गरिनु, भाषा, साहित्य र सङ्गीतमा क्रियाशील प्रतिभाको सम्मान गर्नु र पूर्वकै सुप्रसिद्ध पर्यटकीय स्थल जामुनखाडी क्षेत्रमा अर्धकदको शालिक राखिनु स्तुत्य कार्य हो ।

जसको संरक्षकका रूपमा स्व. लवप्रसाद ओलीकी जीवन संगिनी दुर्गादेवी ओली, छोरीहरू उषा, आशा र निशा ओली साथै छोराबुहारी हेमन्त र बिमला ओली, नाति बृहद र अडबिक ओली रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here