छठको शुभकामना

0
8

तराईबासीले विशेष आराधनासहित मनाउने पर्व छठ धुमधामका साथ मनाइँदै छ । वैदिक सनातन हिन्दू धर्मका अनुयायीहरु मध्ये तराईबासीले धुमधाम साथ श्रद्धा एवम् भक्तिपूर्वक मनाउने यो पर्व मूलतः सूर्यको अनुष्ठान हो । सूर्यलाई अध्र्य दिएर सम्पूर्ण मानव लगायत प्राणी जगतको जीवन सञ्चार गरिदिएको भन्दै कृतज्ञता जाहेर गर्ने छठ पर्व हाम्रा दुई ठूला पर्वहरु दशैं र तिहारपछिको अर्को महत्वपूर्ण पर्व हो । षष्ठी तिथिका दिन मनाइने यो पर्वका लागि नदी, ताल तथा जलाशयहरु यतिबेला सिंगारिएका छन् भने व्रतालुहरु यसको अन्तिम तयारीमा छन् ।

खासगरी मिथिलाबासीले मनाउने गरेको यो पर्व अहिले सम्पूर्ण तराई, उपत्यका हुँदै पहाडी क्षेत्रमा समेत मनाउन थालिएको छ । नदी किनार वा तलाउमा पुगेर व्रतालुहरूले आधा शरीर पानीमा डुबाएर अस्ताउँदै सूर्यलाई अर्घ्य दिन्छन् । भोलिपल्ट बिहान यही अनुरूप जलाशयमा डुबुल्की मारेर उदाउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ । जो छठको व्रत बस्छन्, उनीहरू एक महिनाअघि देखि नै खानपिन र व्यवहारमा विशेष ध्यान दिन्छन् । पृथ्वी र मानव लगायत सबै प्राणीको अन्तरसम्बन्ध तथा अन्योन्याश्रित सामीप्यता विज्ञानले समेत प्रमाणित गरिसकेको सन्दर्भमा सूर्य उपासनाको पर्व छठ हिन्दूहरु कै साझा पर्व बनिएको छ ।

वैदिक सनातन धर्ममा वर्णन गरिएका तेत्तीस कोटी देवीदेवता मध्ये सूर्य एक हुन् । जसको अनुग्रहबाट यो विश्व सञ्चारमय छ । सूर्यले नै पृथ्वी लगायत सारा ब्रम्हाण्डको पालन, रक्षा तथा मानव अस्तित्वको संरक्षण गर्ने हुनाले वैदिक दर्शनमा सूर्यको उपासना प्रत्येक दिन नै गर्ने गरिन्छ । अझ आधुनिक विज्ञानले समेत सूर्यबाट उत्सर्जन हुने प्रकाश, ताप एवम् ऊर्जा शक्तिको अपरिहार्यतालाई स्वीकारसहित प्रमाणित गरेपछि त हाम्रा पूर्वजहरुद्वारा प्रचलित चाडपर्व तथा संस्कार–संस्कृतिको गौरव झनै चुलिएको छ । छठ पर्वको विशेष धार्मिक महत्व रहेको छ । महाभारतकालीन घटनासँग जोडिएको छठ पर्वले महावीर कर्ण र पाण्डव पत्नी द्रौपदीको समेत सम्झना गराउँछ । महाभारतमा कर्णले प्राप्त गरेको अथाह ऐश्वर्य अनि शक्ति सबै छठी माताको व्रतको प्रभावका कारण भएको विश्वास गरिन्छ । त्यस्तै, द्रौपदीले पनि छठी माताको व्रत लिएको कुरा महाभारतमा उल्लेख गरिएको छ ।

यस्ता पर्वहरु परम्परागत रुपमै मनाइनु पर्दछ । हाम्रा धार्मिक, सांस्कृतिक मान्यतासँगै वैज्ञानिक खोज तथा अनुसन्धानले समेत सूर्यको अनिवार्यता सम्पूर्ण पृथ्वीको सुरक्षाको स्रोत स्वीकार गरेको सन्दर्भमा सचेत प्राणीका हैसियतले मानव सभ्यताको रक्षाका लागि प्रकृति र सभ्यताको यस्ता अनुपम संस्कारहरु थप विस्तारित हुनुपर्छ । सूर्यको उपस्थितिमै हाम्रो सुरक्षा, कल्याण र अस्तित्व सुरक्षित हुन्छ । सूर्यको किरणले हाम्रा विकारयुक्त मानसिकता नाशियुन्, पानी र सूर्यको संयोगले यो धरती सदा हराभरा होस् । प्रकृति र सभ्यताको अनुपम उदाहरण छठ पर्वको शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here