मेची नदीमासँगै मनाए नेपाल र भारतका व्रतालुले छठ

0
8

 झापा, 
सीमा नाका भएर बग्ने मेची नदी किनारमा नेपाल र भारतका व्रतालुले सँगै छठ पूजा मनाएका छन् ।
झापाको भद्रपुर नगरपालिका– ५ स्थित मेची नदीको पश्चिम पट्टी नेपाली समुदाय र पूर्वपट्टी भारतीय समुदायका व्रतालुले आइतबार बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य चढाउँदै हर्सोउल्लासका साथ छठ पूजा मनाएका हुन् ।
नदी किनारको मसानघाट देखि मेची पुलको मुख्यद्धार हुँदै देवी बस्ती सम्मको करिब डेढ किलोमिटर वारिपारि करिब ५ हजार बढी पूजा स्थल ९घाट० मा व्रतालु तथा श्रद्धालु भक्तजनहरुले पानीमा ओर्लिएर सूर्य भगवानको पूजा आराधना गरी अर्घ्य चढाएका थिए ।
नदी किनारमा मैथिल समाज भद्रपुरले अस्थायी रुपमा सूर्य भगवानको मुर्ति राखेर पूजा आराधना गरेका थिए, भने युनिक समूहले स्थानीय रुपमा बनाएको सूर्य मन्दिरमा विशेष पूजा आराधना गरेका थिए ।
मधेसी समुदाय बाहेक अहिले साझा पर्वको रूपमा पहाडी, मारवाडी, बङ्गाली, राजवंशी, लगायतका समुदायले मेची नदीमा छठ पर्व मनाउँदा हजारौँ भक्तजनहरूको घुइँचो लागेको थियो ।
मेची नदीमा छठ हेर्न देशका विभिन्न जिल्ला लगायत भारतबाट पनि हजारौँ भक्तजन आएको मैथिल समाज भद्रपुरका अध्यक्ष रमेशचन्द्र झाले जानकारी दिए ।
त्यस्तै मेची पुलमा फोटो खिचाउने र भिडियो बनाउनेको भक्तजनहरूको भीड पनि त्यतिकै थियो । मेची किनारमा व्रतालु तथा भक्तजनहरूको शान्ति सुरक्षाका लागि सशस्त्र, नेपाली प्रहरी र ट्राफिक प्रहरी करिब दुई जना सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
जिल्लाको मेचीसहित निन्दा, हडिया, विरीङ, रतुवा, अदुवा, देउनियाँ कनकाई लगायतको नदी किनारहरूमा व्रतालु तथा भक्तजनहरूको घुइँचो लागेको थियो । भोलि बिहान सोमबार उदाउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिँदै छठ पर्व विधिवत् रुपमा समापन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here