टिकटक नियमन गर, बन्द होइन

0
6

टिकटक हाम्रो देशमा अत्यन्तै चर्चित र झण्डै २२ लाखले उपयोग गरिरहेका सार्वजनिक मञ्च हो । नेपाल सरकारले नेपालीको महान चाड तिहारबीच टिकटक बन्द गर्ने निर्णय गरेपछि नेपालीबीच पक्ष र विपक्षमा तर्क–वितर्क भइरहेका छन् । यो निर्णयसँगै सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रियाको ओइरो नै लागेको छ । एकदम सही निर्णय भन्दै नेपाल सरकारलाई धन्यवाद दिनेहरू पनि छन् । अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाएकोप्रति पिर चिन्ता गर्नेहरू पनि उत्तिकै छन् । कतिपय यसको पक्ष वा विपक्ष दुबैमा छैनन् । अन्य सामाजिक सञ्जाल पनि बिस्तारै बन्द गर्छन् कि भनेर चासो र चिन्ता बढेको छ । सरकारी निर्णयलाई राम्रो मान्नेले टिकटकले समाजमा पु¥याएको क्षतिलाई बढी औंल्याइरहेका छन् भने विपक्षीहरू टिकटकको राम्रो पक्षसहित यसले पु¥याएको योगदानलाई बढी प्रस्तुत गरिरहेका देखिन्छन् । टिकटक पुरुषभन्दा महिलामा बढी लोकप्रिय रहेको देखिन्छ । नेपालमा चर्चित केही टिकटक स्टारहरूको फलोअर्स लाखौं छन् । सरकारी निर्णय युवाहरूको भावना माथिको प्रहार जस्तो भएको छ ।

राष्ट्रिय र व्यक्तिगत गोपनीयतामा आँच, सांस्कृतिक विचलन, प्रयोगको लत र मिथ्या सूचना जस्ता कारणले टिकटक माथि प्रतिबन्ध हुनुपर्छ भन्ने एकथरी मत छ भने अभिव्यक्ति स्वतन्त्रता माथि अङ्कुश, खुला इन्टरनेट अवधारणा, सिर्जनशीलता माथिको हस्तक्षेप, दुःख–सुख बाँड्ने मञ्च, साना तथा मझौला व्यवसायमा पार्ने प्रभाव जस्ता बलिया आधार र तर्क टिकटक पक्षधरको छ । पैसाको लगानी बिना ठूलै जमातलाई सु–सूचित गर्ने टिकटक धेरै नै लोकप्रिय बनेको छ । यसबाट सूचना, विचार र भरपूर मनोरञ्जन प्रवाह हुँदै आएको थियो । मुख्यतः आफूमा भएको कला, प्रतिभा देखाउन, आफ्नो विचार स्वतन्त्रतापूर्वक राख्न, धेरैलाई प्रभावकारी तरिकाले कुनै कुरा सूचित गर्न, गीत–संगीत प्रयोग गरेर छोटो मनोरञ्जनात्मक भिडियो बनाउन, व्यापार–व्यवसायको प्रचारप्रसार सजिलै गर्न टिकटक धेरै मानिसलाई उपयोगी बन्दै आएको छ । मनलाग्दी आक्षेप लगाउने, अश्लील सामग्री शेयर गर्ने, अरुलाई घृणा व्यक्त गर्ने, समुदाय माथि नै हिलो छ्याप्ने, नितान्त व्यक्तिगत वा पारिवारिक कुरालाई सार्वजनिक गर्ने, गलत सूचनाहरू दिने, बेला न कुबेला, ठाउँ न कुठाउँ, जस्तोसुकै कपडा लगाएर पनि जता पनि भिडियो बनाउने, घण्टौं समय यसैलाई दिएर समय बर्बाद हुने आदि यसका समस्या हुन् ।

प्रविधिलाई छेक्नुभन्दा प्रभावकारी नियमन गरी करको दायरामा ल्याएर यसबाट फाइदा लिनु उचित हो । नियमनका लागि सरकारी संयन्त्रले आवश्यक क्षमता विकास गर्न नसक्ने अनि एकाध घटनालाई लिएर लाखौं प्रयोगकर्ताको अधिकार हनन् गर्दै मनोरञ्जन र अभिव्यक्तिका माध्यम माथि धावा बोल्न मिल्दैन । अभिव्यक्ति स्वतन्त्रता हाम्रो संविधानप्रदत्त मौलिक हक हो । सूचना प्रविधिको माध्यमबाट प्रवाह हुने सामाजिक सञ्जालको सञ्चालन एवम् प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन सरकार लाग्नुपर्छ । सामाजिक सञ्जाल आफैंमा राम्रो वा नराम्रो भन्ने हुँदैन । अभिव्यक्ति स्वतन्त्रतालाई मध्यनजर गर्दै धेरैले प्रयोग गरिरहेको सार्वजनिक मञ्चमाथि प्रतिबन्ध नै लगाउनु अवश्य अनुचित हो, टिकटक प्रयोगलाई नियमन गर्नु उचित हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here