एमालेको मध्यपहाडी लोकमार्ग यात्राको अन्तर्य

0
19

मध्यपहाडी लोकमार्ग नेपाल पूर्वदेखि पश्चिमसम्मका मध्यपहाडी जिल्लाहरू जोड्ने राजमार्ग हो । यो राजमार्ग पुष्पलाल मार्गका नामले पनि चिनिन्छ । यो राजमार्ग पूर्व मेची अञ्चलको पाँचथरको चिवाभञ्ज्याङदेखि पश्चिम महाकाली अञ्चलको बैतडीको झुलाघाटसम्म १८७९ किलोमिटर लम्बाइमा विस्तारित छ । झुलाघाट र चिवाभञ्ज्याङ दुबैतर्फ भारतसँग सीमा जोडिएका ठाउँ हुन् भने यो लोकमार्गको ट्रयाक बनेसँगै पहाडै–पहाड पूर्व–पश्चिम गर्ने विकल्प खुलेको छ । छ वटा प्रदेशलाई छुने यो सडकले २६ जिल्लाका दुई सय २५ भन्दा बढी बस्तीलाई जोडेको छ ।

विगतमा पटक–पटक सत्ताको नेतृत्व गरेको नेपालको प्रमुख विपक्षी दल नेकपा (एमाले)ले आगामी मंसीर १४ गतेदेखि मध्यपहाडी (पुष्पलाल) लोकमार्ग यात्रा विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । केन्द्रीय कमिटीको मार्गदर्शनमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पार्टीको २५औं सचिवालय बैठकले मध्यपहाडी लोकमार्ग यात्राको मिति तय गरेको हो । लोकमार्ग यात्रा विशेष अभियान बैतडीको झुलाघाटमा अध्यक्ष ओलीले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी आरम्भ हुने छ र पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन गरिने छ । अभियानको नाम ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ राखिएको छ ।

झुलाघाट–चिवाभञ्ज्याङ यात्रा पूरा गर्न करिब १५ दिनदेखि तीन हप्तासम्म लाग्नेछ । एमाले अध्यक्ष ओलीको नेतृत्वमा सबै केन्द्रीय पदाधिकारी, सचिवालय, परिभाषित जिम्मेवारी तोकिएका कमिटी, सञ्चारकर्मी र स्वास्थ्यकर्मीसहित डेढ सयभन्दा बढीले पदयात्रा गर्नेछन् । उक्त टोलीले जनतासँग साक्षात्कार गर्ने, समस्या र गुनासो सुन्ने र समाधानको लागि पहल गर्ने बताइएको छ । सबै ठाउँका जनतालाई भेट्ने, पुष्पलाल राजमार्गले पार्ने प्रभावका विषयमा जानकारी दिने र प्रेरित गर्ने, मौलिक उत्पादनको बजारीकरण गर्ने, जिल्लाका व्यापारिक ठाउँहरूको सम्भावना भएका क्षेत्रहरूमा विकास र समृद्धिबारे बहस गर्ने तयारी गरेको छ ।

प्रत्येक जिल्लामा एउटा ठूलो सभाको आयोजना गर्ने र त्यसबाट जनतालाई मध्यपहाडी राजमार्गको महत्व र सान्दर्भिकता दर्शाउने यात्राको योजना छ । अभियानका क्रममा पार्टीले स्थानीय स्तरमै जनसभा, जनसंवाद लगायतका कार्यक्रम सञ्चालन गर्नेछ । पार्टीले अभियानका क्रममा जनताले दिएको सुझाव ग्रहण गर्नेछ । जनता कै सहभागितामा मुलुकको समृद्धिको अभियानलाई अघि बढाउन पनि सो अभियानले महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।

पहाडका अनेकन बस्ती, जनजीवन, कृषि, संस्कृति मिसिएका जिल्लाहरू छुने यो यात्रालाई एमालेले निक्कै महत्वपूर्ण मानेको छ । ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ नाम दिएको यात्रा जनताको माझ जाने भएकाले जनसम्पर्कको दृष्टिले महत्वपूर्ण हुन्छ । यात्राका क्रममा पहाडका विकासका चुनौती पहिचान गरेर समाधानका विषयको खोजी हुनेछ । यात्रामा सहभागीले लोकमार्गको एक हजार आठ सय ७९ किलोमीटर पुरै कालोपत्रे सडकको यात्रा गर्न भने पाउँदैनन् । कतै कालोपत्रे, कतै कच्ची, कतै ग्राभेल त कतै अरु राजमार्गको यात्रा गर्नुपर्ने हुन्छ । आर्थिक वर्ष २०६४÷०६५ मा निर्माण शुरु भएको यो आयोजनाले पूर्णता पाएको छैन । आ.व. २०६९÷७० मा राष्ट्रिय गौरवको आयोजनाको रूपमा सरकारले अघि बढाएर आर्थिक वर्ष २०७९÷०८० मा सम्पन्न गर्ने राखेको लक्ष्य पूरा भएन । मध्यपहाडी सडक बनेपछि पहाडका गाँउ–गाँउमा सडक सुविधासँग विकासका आयामहरू खुलेका देखिन्छन् । केहीअघि नै यो सडक बनेको भए पहाडको बसाइँसराइ यति धेरै नहुने कतिपयले बताउने गरेका छन् । यो लोकमार्गबाट पाँचथर, तेह्रथुम, भोजपुर, खोटाङ, बाग्लुङ, पूर्वी रुकुम, पश्चिम रुकुम, जाजारकोट, दैलेख, अछाम जस्ता जिल्लाका बासिन्दाले बढी सुविधा पाएकोे देखिन्छ ।

पहिले सडक सुविधा भएका जिल्लामा भन्दा पनि दुर्गम जिल्लामा बढी सुविधा दिएको तथा जनताले राहत पाएको देखिन्छ । यसले विभिन्न जातजाति, संस्कृतिलाई पनि जोडेको छ । पूर्वको साकेला र धाननाचदेखि पश्चिमको देउडासम्मलाई सडकको माध्यमबाट जोडेको छ । मुआब्जा, निर्माण कम्पनीले समयमा काम नगर्ने, विभिन्न ठाउँमा विवाद लगायका समस्या छन् । कारवाही गरिएका ठेक्का तोडेर नयाँ ठेक्का प्रक्रियामा जान लाग्दा अदालती प्रक्रियामा गएपछि समयमा निर्णय नआउँदा समस्या छ । बजेटको पनि समस्या छ । यसअघिको लक्ष्यमा निर्माण सम्पन्न नभएकाले आयोजनालाई आर्थिक वर्ष २०८३÷०८४ मा सम्पन्न गर्ने लक्ष्य राख्ने गरी छलफल भइरहेको छ, निर्णय भएको छैन ।

बैतडीको झुलाघाटमा नेपाल–भारतमा जोड्ने पुल बन्न सकेको छैन । महाकाली नदीमा पुल नबन्दा भारतसँगको सिधा सम्पर्क हुन सकेको छैन । यहाँ रहेको झोलुङ्गे पुलबाट मान्छेले बोकेर सामान ओसारप्रसार गर्न बाध्य रहनुको विकल्प छैन । नेपालको बैतडी र भारतको पिथौरागढ जोड्ने पुल बनाउन माग गरिएको वर्षौँ बित्दा पनि निर्णय हुन सकेको छैन । पुल माग्दै केही समयअघि स्थानीय वाणिज्य सङ्घको अगुवाइमा २९ दिन लामो रिले अनसन समेत भएको थियो, तर सरकारको कानमा बतास लागेन । मध्यपहाडी लोकमार्ग आसपासका दश शहरलाई सुविधायुक्त नयाँ शहर बनाउने सरकारको योजनाले सार्थकता पाउन सकेको छैन ।

पहाडको बसाइँसराइ घटाउने लक्ष्यसहित अघि सारिएको नयाँ शहरको कामले सही दिशा पाउन सकेको देखिँदैन । २० वर्षमा एक लाख जनसङ्ख्या अटाउने गरी सुविधायुक्त आधुनिक शहर बनाउने सरकारी योजना भए पनि सोही अनुसार काम भएन । आर्थिक वर्ष २०६७÷०६८ सालमा सरकारले नयाँ शहर बनाउने घोषणा गरेको थियो । तर, योजनाले सफलताको घाम देख्न पाएन । मध्यपहाडी लोकमार्ग आसपासका पाँचथरको फिदिम, तेह्रथुमको बसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी, तनहुँको डुम्रे, बाग्लुङको बुर्तिबाङ, रूकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, अछामको साँफेबगर र बैतडीको पाटनलाई नयाँ शहर बनाउने योजना थियो । बजेटको अभाव तथा नीतिगत कारणले सोचे जस्तो गतिमा काम अघि बढाउन नसकिएको हो ।

मध्यपहाडी क्षेत्रका यी यावत समस्याको यथार्थका बीच नेकपा एमालेको पदयात्रा अभियान हुन लागेको हो । यो अभियानले पहाडी क्षेत्रको दीर्घकालीन, दीगो र शीघ्र विकासका योजना निर्माणमा सफलता प्राप्त हुनेमा विश्वास गर्न सकिन्छ, जनताले पनि आफ्नो क्षेत्रको विकास, निर्माण, सामाजिक एकता आदिमा ठोस प्रगति हुन सकोस् भन्ने चाहना राखेका हुन्छन् । अभियान मध्यपहाडी लोकमार्गमा सञ्चालन गरिए पनि विकास निर्माण र सामाजिक एकताको सन्देश दिने सिङ्गो देशको राष्ट्रिय अभियानको रूपमा अभियानलाई अगाडि सारिएको पार्टी नेतृत्वको दावा छ ।

देशमा सामाजिक सद्भाव बढाउँदै एकता कायम गर्ने अभियानको अर्को उद्देश्य रहेको छ । अध्यक्ष ओलीको नेतृत्वमा सञ्चालन गरिने अभियानका क्रममा मध्यपहाडी लोकमार्गका विभिन्न शहरी क्षेत्रमा सभा, भेला, अन्तरक्रिया गर्दै, ऐतिहासिक स्थलहरूको अवलोकन, उद्यमी व्यवसायीहरूसँग भेटघाट, राम्रा काम गर्नेहरूलाई प्रोत्साहन गर्दै, जनताका गुनासा सुन्दै, विकासका चुनौतीहरूका बारेमा जानकारी लिँदै अगाडि बढ्ने भएको छ ।

एमालेको पदयात्राले मध्यपहाडी क्षेत्रको आर्थिक, सामाजिक विकासमा ठूलो टेवा पुग्ने विश्वास एमालेजनको रहेको छ । ठूलो मात्रामा विकास बजेट पहाड केन्द्रित भइरहेको छ । तर, पहाड रित्तिँदै गइरहेको छ । युवा पलायन भइरहेका छन् । यो विडम्बनालाई चिर्न मुलुकको नेतृत्व गर्ने लक्ष्य बनाएको एमालेको अवधारणामा बनेको मध्यपहाडी लोकमार्गले अब एमाले कै नीति अनुसार यहाँको जीवनस्तर सुधार गर्ने, सामाजिक र आर्थिक गतिविधि बढाउन पदयात्राले ठूलो भूमिका खेल्नेछ भन्ने कार्यकर्ताको विश्वास छ ।

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पहाडबाट भइरहेको तीव्र बसाइँसराइका कारणहरूको पहिचान र समाधानको खोजी, सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रबद्र्धनमा सहयोग, पार्टी स्थापनाको ७५औं वर्ष समारोहमा संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा निर्मित लोकमार्ग केन्द्रित अभियानबाट इतिहास र अग्रजहरूको सम्मान, राष्ट्र सबल र समृद्ध बन्छ भन्ने आत्मविश्वासमा अभिवृद्धि, जनसम्बन्ध विस्तार र जनगुनासो एवम् जनताका सुझाव सङ्कलन र यसको जगमा समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको आधारशिला तयार गरिने यो सङ्कल्प यात्राको लक्ष्य रहेको बताएका छन् ।

स्थानीय तहको सबलीकरण र आधारभतू लोकतन्त्रका माध्यमबाट मात्रै जनताको सार्वभौमसत्ता सदृढ हुन सक्छ, लोकतन्त्र सार्थक बन्न सक्छ र समद्धिृको जग तलैबाट मजबतु बन्न सक्छ भन्ने विषयमा नेकपा (एमाले) स्पष्ट छ । स्थानीय स्वायत्त शासनका महत्वपूर्ण अङ्गका रूपमा स्थानीय सरकारहरूलाई अधिकारसम्पन्न बनाउन आवश्यक भएकोमा जोड दिँदै एमाले विकास र सुशासनलाई थप उचाइ दिन, सेवा प्रवाहलाई अझ चुस्त बनाउन र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा कार्यान्वयनलाई लक्ष्यमा पु¥याउन यो अभियानले सकारात्मक योगदान दिने विश्वास गरिएको छ ।

नेपाललाई सधैँभरि अस्थिर, अस्तव्यस्त र असफल बनाइराख्ने एवं त्यसभित्रै आफ्ना स्वार्थपूर्ति गर्न चाहनेहरूका लागि नेपाल राष्ट्र एवम् नेपाली जनताको सामथ्र्य बलियो बनाउन आवश्यक छ । यो अभियानले त्यस्तो चुनौतीको सामना गर्न बलियो राष्ट्रिय एकता र समझदारी निर्माण गर्न सघाउ पु¥याउने छ । मुलुकलाई जातीय, धार्मिक, क्षेत्रीय तिक्तता, प्रतिशोध, घृणा र द्वन्द्वतिर धकेल्ने प्रयत्न भइरहेको अवस्थामा प्रमुख प्रतिपक्षी दलका रूपमा हिंसालाई दुरुत्साहन गर्दै राष्ट्रियताको रक्षा, राष्ट्रिय एकताको सबलीकरण, लोकतन्त्रको सुदृढीकरण र सामाजिक–आर्थिक रूपान्तरणका लागि भूमिका खेल्न आवश्यक छ ।

कम्युनिस्ट पार्टीले गएका पौने शताब्दी अर्थात् ७५ वर्षमा गरेका बलिदानी सङ्घर्ष र खेलेको अग्रणी भूमिका समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हासिल गर्ने अभियानमा यो ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ले विचारमा दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक जीवनमा अराजकतावादको प्रतिनिधित्व गर्ने पार्टीभित्र र पार्टी बाहिरका यी पात्र, प्रवृत्ति, रुझान र समूहहरूलाई परास्त गर्न र पार्टीलाई थप एकताबद्ध, क्रियाशील, जुझारु, सुदृढ बनाउन र मध्यपहाडी क्षेत्रका जनताका वास्तविक समस्या बुझ्न यो यात्राले सहयोग पु¥याउन सकेमा यात्रा सफल भएको मान्न सकिनेछ । नत्र यो अभियान फगत औपचारिकतामा गएर टुङ्गिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here