नेपालमा टिकटक प्रयोगकर्ता साढे १३ लाख, प्रतिबन्धले आर्थिक क्षेत्रमा कस्तो पर्ला असर ?

0
7

काठमाण्डौं ।

नेपालमा हालै बन्द गरिएको टिकटक आर्थिक क्रियाकलापसँग पनि प्रत्यक्ष जोडिएको छ। मुख्यतः प्रयोगकर्तालाई हुने प्रत्यक्ष आम्दानी र यसमा हुने विज्ञापनका कारण टिकटक अर्थतन्त्रसँग जोडिएको हो।

केही व्यक्तिले टिकटकलाई नै आम्दानीको स्रोत बनाएका थिए। लाइभमा बसेर टिकटककै विज्ञापन गर्ने र गिफ्ट प्राप्त गर्नेहरूलाई टिकटकले नै पैसा दिँदै आएको छ। त्यस्तै, वस्तु तथा सेवा विज्ञापनको माध्यम पनि बनेको थियो टिकटक।

पछिल्लो समय नेपालमा लोकप्रिय बन्दै गएको टिकटकमा विज्ञापन र त्यसबाट आम्दानी गर्नेहरूको संख्या बढिरहेको थियो। तर समाजमा विकृति र विसंगति फैलाउन भूमिका खेलेको ठहर गर्दै सरकारले बन्द गरिदियो। नियमन गर्नुको साटोमा बन्देज नै गरिएको भन्दै अदालतमा रिटसमेत दायर भएका छन्।

नेपाल विज्ञापन संघका अध्यक्ष सोम धिताल सामाजिक सञ्जालमा नेपाली विज्ञापन धेरै भइरहेको बताउँछन्।

‘अहिलेसम्म त्यसको अध्ययन र यकिन गर्ने काम नभए पनि वर्षिक ३ अर्बभन्दा बढी रकम विज्ञापनको नाममा खर्च भइरहेको अनुमान छ,’ उनले भने।

संघका निर्वतमान अध्यक्ष रवीन्द्रकुमार रिजाल (शशि) सबै सामाजिक सञ्जालहरूमा भएको विज्ञापन र एजेन्सीहरूको आम्दानीमा भएको कमीलाई हेर्दा सामाजिक सञ्जालहरूमा ठूलो खर्च भइरहेको अनुमान गर्छन्।

‘जुन सामाजिक सञ्जालको माध्यम लोकप्रिय हुन्छ, त्यसैमा ज्यादा खर्च हुन्छ। तर, त्यो अवैधानिक हो,’ उनी भन्छन्, ‘विदेशमा रहने आफन्तहरूबाट खर्च गराएर हुण्डीमार्फत् हिसाब मिलान भैरहेको देखिन्छ।’

यसरी हेर्दा टिकटकमा पनि वैधानिक र अवैध दुवै तरिकाले रकम खर्च भइरहेको बुझ्न सकिन्छ।

कात्तिक २७ गते मन्त्रिपरिषद्को निर्णयले नेपालमा टिकटक प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गर्‍यो। बन्देजसँगै सरकारले इन्टरनेट सेवा प्रदायकहरूलाई टिकटक नचल्ने बनाउन निर्देशन दिए। सबै कम्पनीहरूले सरकारको निर्देशन कार्यान्वयन गरे।

मोबाइल मार्केटिङ तथा एपहरूको डेटाबारे जानकारी राख्ने स्टार्टआईओका अनुसार नेपालमा टिकटकका साढे १३ लाख प्रयोगकर्ता थिए। जसमध्ये १८ वर्षदेखि २४ वर्ष उमेर समूहले ४६ दशमलव ८ प्रतिशत र २४ वर्षदेखि ३४ वर्षसम्मकाले ४७ दशमलव ५ प्रतिशत हिस्सा ओगटेका थिए। यसअनुसार टिकटकका लगभग सबै प्रयोगकर्ता युवा थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here