मंसिर ७ गते राजधानीमा हुने प्रदर्शनप्रति सरकार सचेत, विशेष सुरक्षा तयारी

0
9

काठमाडौं ।

मंसिर ७ गते राजधानीमा आयोजना हुने छुट्टा छुट्टै प्रदर्शनका क्रममा हिंसात्मक गतिविधि हुन सक्ने सम्भावना व्यक्त भैरहेको बेला स्थानीय प्रशासन र सुरक्षाकर्मीले त्यसलाई रोक्न विशेष तयारी गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको एक समूहले मंसिर ७ गते एकै दिन भिन्ना भिन्नै विषय उठाएर राजधानीमा प्रदर्शन गर्ने तयारी गरेपछि सुरक्षा चासो निकै बढेको छ ।

दुवै प्रदर्शन अलग अलग विषयलाई लिएर गर्न लागिएको भनिएपनि एक अर्काविरुद्ध आक्रामक अभिव्यक्ति दिइरहेका कारण स्थानीय प्रशासनले झडप हुने आशंकामा प्रदर्शनस्थल माइतीघर र आसपासको क्षेत्रमा ३० दिन लामो निषेधित क्षेत्र घोषणा गरिसकेको छ ।

त्यससँगै उसले दुवै पक्षलाई प्रदर्शन गर्न पाउने अलग अगल स्थान समेत तोकिदिएको छ । युवा संघलाई तिनकुनेको खुल्ला मैदानमा र दुर्गा प्रसाईं नेतृत्वको समूहलाई बल्खुमा स्थान निर्धारण गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताउनुभयो ।

विशेष गरी मंसिर ७ गतेलाई र त्यसअघि र पछि गरी यी दुई समूहको गतिविधिबाट समग्र शान्ति सुरक्षामा खलल पुग्न सक्ने भन्दै सरक्षाकर्मी पनि तयारी अवस्थामा राखिएको नेपाल प्रहरीका केन्द्रिय प्रहरी प्रवक्ता कुवेर कडायत बताउनुहुन्छ ।

प्रसाईं नेतृत्वको समूहले संघीय लोकतान्त्रिक गणतन्त्र नै उल्ट्याउनुपर्ने माग राखेर गर्ने भनिएको आन्दोलनको समय अवधि भने तोकिएको छैन । उसले आवासीयरुपमा ठूलो संख्यामा सहभागीहरु आउने दाबी गर्दै आएको छ । यता, युवा संघले भने अहिलेसम्म ७ गते एकदिनको लागि मात्र प्रदर्शनको कार्यक्रम सार्वजनिक गरेको छ ।

आन्दोलनलाई लिएर सामाजिक सञ्जालमा भैरहेका टिकाटिप्पणीलाई पनि स्थानीय प्रशासनले निगरानी गरिरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताउनुभयो ।

दुवै पक्षको प्रदर्शनलाई निश्चित माग वा परिवर्तनको उद्देश्यले भन्दा पनि शक्ति प्रदर्शनको निम्ति गरिएको कारण यसको उठान र बैठानलाई लिएर फरक फरक विश्लेषण हुने गरेको छ । यस्तो आन्दोलन वा प्रदर्शनको लामो असर नरहने भएपनि शान्ति सुव्यवस्था कायम गर्न भने सरकारले विशेष सजगता अपनाउनुपर्ने खाँचो देखिन्छ । ईमेजखबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here