सुरुङ्गा ।
सुरुङ्गा जेसीजले लागुऔषध न्यूनीकरणका लागि अक्षयकोषको स्थापना गर्ने उद्देश्यका साथ श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्ने भएको छ । शुक्रबार पुराण मुल समारोह समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा उक्त महापुराणको तयारी पुरा भएको जानकारी दिइयो ।
पुराण मंसिर १० देखि १७ गतेसम्म सुरुङ्गा जेसीज परिसरमा हुने छ । पुराण मूल समारोह समितिका संयोजक एलपी उप्रेतीले महापुराणबाट खर्च कटाएर ५० लाख रुपैँया अक्षयकोषका लागि बचत गर्ने लक्ष्य राखिएको बताए ।
युवावर्ग लागूपदार्थ दुव्र्यसनको शिकार बनिरहेको र त्यसका कारण आत्महत्या, हत्या, पारिवारिक विघटन, अशान्ति, सम्पत्ति विनाश आदि बढिरहेकोमा यसको न्यूनीकरण गर्न विविध कार्यक्रम सञ्चालन गर्न दीर्घकालीन सोच राखेर अक्षयकोष निर्माण गर्न लागिएको हो ।
सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष समेत रहेका संयोजक उप्रेतीले झापा जिल्ला लागूपदार्थ दुव्र्यसनको केन्द्र बन्दै गएको र झापाको मध्यभागमा पर्ने कनकाई नगरपालिकासमेत यसको रेड जोनमा परेको विभिन्न तथ्याङ्क सार्वजनिक भइरहेको अवस्थामा सबै पक्ष यो समस्यासँग जुध्न तयार हुनुपर्ने बताए ।
उनले सुरुङ्गा र झापा गाउँपालिका क्षेत्र पछिल्लो समयमा लागुऔषधको हटस्पट बनिरहेको कुरा चिन्ताको विषय भएको बताए । लागुपदार्थ ओसारपसार गर्नेलाई प्रहरीप्रशासनले पक्राउ गरेको सुनिए पनि प्रयोगकर्ता गुमनाम रहेको र राम्रै कुलघरानादेख सामान्य मजदुरी गरी गुजारा गरी जीविकोपार्जन गर्ने परिवारभित्र पनि लागुपदार्थ दुव्र्यसनको समस्या रहेको संयोजक उप्रेतीले बताए ।
लागुपदार्थ दुव्र्यसनीलाई रिह्याब सेन्टर (पुनस्र्थापना केन्द्र) मा राखेर खर्च धान्न परिवारलाई समस्या परिरहेको उनको भनाइ थियो । महायज्ञमा कथा वाचन युवा पण्डित अर्जुन भट्टराई र पाठ पारायण पण्डित उमेश आचार्यबाट हुने छ भने राष्ट्रिय स्तरका कलाकारबाट झाँकी सञ्चालन हुने छ । कनकाई नगर क्षेत्रमा क्रियाशील प्रमुख कीर्तन मण्डलीलाई महायज्ञमा सहभागी गराइने संयोजक उप्रेतीले जानकारी दिए । सो महायज्ञमा लागुऔषधको क्षेत्रमा क्रियाशील विज्ञहरूबाट चेतनामूलक प्रवचन हुने छ ।
अक्षयकोषबाट प्राप्त ब्याजबाट कनकाई नगरपालिका तथा झापा जिल्लाभर लागुऔषध दुव्यर्सनको विरुद्ध सचेतना कार्यक्रम र अभियाननै सञ्चालन गरिने सुरुङ्गा जेसिजका वर्ष २०२३ का अध्यक्ष प्रविन तिम्सिनाले बताए । पुराण सम्पन्न गर्न विभिन्न २६ वटा उपसमिति समेत निर्माण गरिसकिएको तिम्सिनाले जानकारी दिए । जेसीजको इतिहासमै पृथक र पहिलो पटक सुरुङ्गा जेसीजको आयोजनामा यस किसिमको महायज्ञ सञ्चालन गर्न लागिएको अध्यक्ष तिम्सिनाले बताए । निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरु र ज्याला मजदुरी गर्ने विशेषतः १२ वर्षदेखि २५ वर्षसम्मका युवाहरू लागूपदार्थ दुव्र्यसनमा लागेको विभिन्न तथ्याङ्क रहेकोले यो उमेर समूह र उनीहरूका अभिभावकलाई प्राथमिकतामा राखी अभियान सञ्चालन गरिने पनि तिम्सिनाले जानकारी गराए ।
महायज्ञबाट सङ्कलित रकमबाट कोष स्थापना गरी कोषबाट प्राप्त ब्याजले लागुऔषध न्यूनीकरणका लागि जेसीजले वार्षिक क्यालेण्डरनै बनाएर निरन्तर अभियान चलाउने सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष तथा संयोजक सल्लाहकार शिवकुमार कँडेलले जानकारी दिए । कनकाई नगरपालिका, झापा गाउँपालिकासहित झापाका लागुऔषध दुव्र्यसन प्रभावित क्षेत्रमा अभियान सञ्चालन गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।
करिब १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको पुराण सुरु हुनु पूर्वनै देश विदेशमा रहेका आम सहयोगी नेपाली मनहरूबाट ११ लाख ५० हजार रुपैयाँको सहयोगको प्रतिबद्धता प्राप्त भइसकेको बताइएको छ । त्यस्तै जेसीज झापाका १४ वटै शाखा जेसीज, एरिया ‘ए’ जेसीज र जेसीज केन्द्रबाट समेत सहयोग प्राप्त हुने छ ।
पत्रकार सम्मेलनमा सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष उषा (यदुका) ओली उप्रेती, त्रिलोचन उप्रेती, जबिन तिम्सिना, मोतिखर ओझा लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन महासचिव दीपेन्द्र प्रधानले गरेका थिए । कनकाई नगरपालिकाले समेत यसअघि नै कनकाई नगरपालिकालाई सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा पुर्णतया रोक लगाएको छ ।