पर्यटकीय गन्तव्य बन्दै पाटेनागी

0
19

पूर्वी पहाडी जिल्ला इलाम र पाँचथरको सिमाना रहेको उच्च पहाडी क्षेत्र पाटेनागी पर्यटकीय गन्तव्यको लागि उत्कृष्ट स्थल भए पनि उचित प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ । इलाम तर्फको भागलाई पाटेनागी र पाँचथर तर्फको भू–भागलाई लुहाकिलका नामले चिनिन्छ ।

हिमाली क्षेत्रमा देखिने नागी, चट्टान, बोटबिरुवा, जनावर, पंक्षी तथा जीवहरु लगायत सबै वनस्पतिलाई हेर्दा हिमाली क्षेत्र जस्तै लाग्छ । तर, पाटेनागी हिमाली क्षेत्र भने होइन । समुन्द्री सतहदेखि तीन हजार मिटर उचाइ रहेको उच्च पहाडी क्षेत्र पाटेनागी छोटो दूरीमा रहेको अत्यन्तै रमणीय स्थलमा पर्छ ।

पाटेनागीबाट अत्यन्तै राम्रोसँग सूर्योदय अवलोकन गर्न सकिन्छ, सूर्योदय हुँदा छरिएको लाली प्रकाशले उत्तरतर्फ अटल रहेको कञ्चनजंगा, कुम्भकर्ण लगायतका दर्जनौँ हिमाल छिनछिनमा रङ्ग फेर्दै मुस्कुराए झंै देखिने दृष्यले जो कोहीलाई मोहित बनाई दिन्छ । सूर्यको उदयपछि उज्यालिएको पाटेनागी–लुहाकिलमा उत्तरतर्फ आँखाले निहाल्न नै नसक्ने गरी देखिने गुराँस फूलेको जंगलले हरियालीको आनन्द प्रदान गर्छ भने दक्षिणतर्फ वनस्पतिरहित नाङ्गो नागीले नतमस्तक बनाउँछ ।

धेरै पर्यटकीय गन्तव्यहरू कुनै एक सिजनको लागि महत्वपूर्ण मानिन्छ भने र पाटेनागीको सौन्दर्यको प्राकृतिक स्वरुप भिन्न–भिन्न रहेको छ । असोजदेखि मंसीरसम्म सूर्योदय, क्षितिजमा रहेको निलो आकास र कहिले यता कहिले उता उडिरहने सेतो बादल रमितलाग्दो बन्छ भने पुस, माघमा पर्ने हिउँले हिमाल नै पुगेको जस्तो अनुभूति दिलाउँछ । चैत–बैशाखमा राताम्मे भएर फूलेका लाखौं लालीगुराँस बोटका फूलले मोहित नै बनाउने गरेको छ । नयाँ वर्षको दिन सयौं स्थानीहरू पाटेनागी पुग्ने गरेका छन् ।

पाटीनागीको बहु विशेषतालाई हेर्दा सयौं होइन, लाखौं पर्यटक पुग्नु पर्ने हो पाटेनागीमा । तर, उचित प्रचार हुन नसक्दा पाटेनागी ओझेलमा परेको स्थानीयहरूको भनाइ छ । पाटेनागी–लुहाकिल सुन्दरताको हिसाबले मात्र नभएर जैविक वनस्पति, वन्यजन्तु, चरा र जीवहरूको अनुसन्धान र अवलोकनको लागि इलाम–पाँचथर जिल्लाकै एक उत्कृष्ट स्थल हो । पहाडको टुप्पोमा परेको पानी दक्षिणतर्फ बग्ने भाग इलाम नगरपालिका– ३ र उत्तरतर्फ बग्ने क्षेत्र फिदिम नगरपालिका–१४ पर्छ ।

पाटेनागी–लुहाकिल इलाम–पाँचथर जिल्लाको एक सिमा स्थल हो । जसमा फाल्गुनन्द गाउँपालिकाको वडा नम्बर ३ को केही क्षेत्र पनि पर्छ । करिब तीन किलो मिटरको पूर्व–पश्चिम उच्च पहाड भएर फैलिएको पाटेनागी–लुहाकिल भौगोलिक क्षेत्रको पश्चिमतर्फ रमणीय नागी, देउराली, कुइभीर रहेको छ भने पूर्व भागमा लुहाकिल डाँडा रहेको छ ।

पाटेनागी–लुहाकिल पहाड मात्र नभएर हिमाली क्षेत्र झैं लाग्दछ । गर्मी मौसममा सन्तुलित तापक्रम रहेपछि जाडो मौसममा त्यहाँको तापक्रम माइनसमा झर्ने गरेको छ । हिमाली क्षेत्रको जस्तो वातावरण भएकाले सो क्षेत्रमा भेडी गोठ, गाईवस्तुको गोठ र चरिचरन क्षेत्र धेरै रहेको छ । पाटेनागीमा हरेक बैशाख १ गते मेला लाग्ने गरेको छ । सो बखत फूलेको लागि गुराँसले पनि धेरैलाई त्यहाँ पुग्न उत्साहित बनाउने गरेको छ । पाटेनागी पर्यटकको नयाँ गन्तव्य बनाउन स्थानीय सरकारले र प्रदेश, संघीय सरकारको लगानीमा बाटो निर्माण गरिएको छ ।

लुहाकिलबाट देखिने सूर्योदयको दृष्य

नागी हुँदै लुहाकिलसम्म पुग्नको लागि ढुङ्गाको सिढी बनाइएको छ । भौगोलिक अवस्था जटिल भएकै कारणले पर्यटकहरू पुग्न नसक्ने गरेको अवस्थालाई बुझेर इलाम नगरपालिका र फिदिम नगरपालिकाले आ–आफ्नो क्षेत्रबाट सहजै रुपमा डाँडैडाँडा आवतजावत गर्नको लागि बाटो र सिढी निर्माण गरेर पर्यटकलाई सहजता प्रदान गरिएको इलाम–३ का वडाध्यक्ष हेमबहादुर सुनुवार (हेमन)ले जानकारी दिए ।

वडाध्यक्ष सुनुवारका अनुसार ‘बाटो र सिढी निर्माण भएपछि पर्यटकहरूको आगमन बाक्लिन थालेको छ । यतिबेला मौसम सफा भएकाले पर्यटकहरूको चहलपहल पाटेनागीमा बढ्न थालेको छ । वनभोज खान जानेहरू पनि सो स्थानमा पुग्न थालेका छन् ।’

कहाँबाट पुग्न सकिन्छ पाटेनागी–लुहाकिल ?

पाटेनागी–लुहाकिल कुनै दुर्घम क्षेत्र भने होइन । बिर्तामोडबाट मोटरसाइकल वा सानो गाडी मार्फत करिब चार घण्टाको यात्रा गर्दा पाटेनागी पुग्न सकिन्छ । त्यसका लागि मेची राजमार्ग अन्तर्गत बागखोर भन्ने ठाउँदेखि सय मिटर अगाडि बढेपछि दायाँतर्फ एउटा कच्ची बाटो भेटिन्छ, सोही बाटो भएर पूर्व उत्तर दिसा हुँदै सात किलो मिटरको दूरी पारगर्दा पाटेनागी पुग्न सकिन्छ । त्यसैगरी मेची राजमार्गमै पर्ने रमणीय स्थल पौवाभञ्ज्याङदेखि पूर्वको बाटो हुँदै जाने हो भने करिब पाँच किलो मिटर दूरीमा पर्दछ लुहाकिल । बागखोर हुँदै आउने बाटो अलि बढी कच्चा छ भने पौवाभञ्ज्याङको बाटो कच्ची नै भए पनि सजिलो रहेको छ ।

पाटेनागी–लुहाकिल पुग्ने पर्यटकलाई पुगे पछि फर्किऊँ भने लाग्दै लाग्दैन । त्यहाँको रमणीय दृष्यले नतमस्तक नै बनाउँछ । अझ क्लिन वातावरणले सम्पूर्ण तनाव विर्सजन गराई दिन्छ । सो क्षेत्रमा केही दिन बिताउन चाहने पर्यटकहरूका लागि इलाम–३ को चैते भन्ने गाउँमा होमस्टेहरू रहेको छ भने पाँचथरतर्फ पोखरा जस्तै लाग्ने सुके पोखरीमा एक दर्जन जति नयाँ होमस्टेहरू सञ्चालनमा रहेको छ ।

उक्त क्षेत्रबाट कञ्चनजंगादेखि सगरमाथा सम्मका ६५ वटा हिमालहरू देख्न सकिने स्थानीय सामाजिक अगुवा सुरेश राईले जानकारी दिए । चैतेमा सुनुवार जातिहरूको बाहुलियता रहेको छ भने सुकेपोखरी क्षेत्रमा राई जातीहरूको बाहुल्यता रहेको छ । जातीय संस्कार, रीतिरिवाज, सामाजिक परम्पराको अध्ययन र जानकारी लिन चाहनेहरूको लागि यी स्थानहरू महत्वपूर्ण मानिन्छ । चैतेमा एक सय ५० घर सुनुवार (मुखिया) जातिहरू रहेका छन् । सुकेपोखरीमा दुई सय २४ घर राई र एक घर लिम्बू जाति परिवारहरूको बसोबास रहेको छ ।

प्रस्तुति: विनोद पाण्डे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here