शान्ति सामुदायिक वनको २५औं उपभोक्ता भेला सम्पन्न

0
9

अर्जुनधारा ।

झापाको अर्जुनधारा–२ खुदुनावारीस्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहको २५औं उपभोक्ता भेला बिहीबार सम्पन्न भएको छ ।

समूहको कार्यालय प्राङ्गणमा समूहका अध्यक्ष तुलसीप्रसाद खतिवडाको अध्यक्षतामा आयोजित उक्त भेलाको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए ।

भेलामा समूहका अध्यक्ष खतिवडाले गत आर्थिक वर्ष ०७९/०८०को वार्षिक प्रगति प्रतिवेदन, लेखा समितिका सहसंयोजक चुँडामणि खनालले लेखापरिक्षण प्रतिवेदन र कोषाध्यक्ष खगेन्द्र कोइरालाले चालु आर्थिक वर्ष ०८०/०८१को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

गत आर्थिक वर्षमा ६१ लाख ६१ हजार ७३ रुपैयाँ ७१ पैसा बराबरको आर्थिक कारोबार गरेको समूहले चालु आर्थिक वर्षका लागि अनुमानित ९७ लाख ३३ हजार दुई सय ६२ रुपैयाँ ७१ पैसा बराबरको बजेट भेलामा पेश गरेको थियो ।

जसअनुसार गरिबी न्यूनिकरणतर्फ २२ लाख १९ हजार तीन सय ३३ रुपैयाँ, प्रशासनिक खर्चतर्फ २० लाख ५१ हजार दुई सय रुपैयाँ, वन विकासतर्फ २० लाख १५ हजार एक सय १६ रुपैयाँ, यस वर्षको नगर कर आठ लाख छ हजार ४६ रुपैयाँ, संकलन खर्च आठ लाख छ सय ३७ रुपैयाँ, दायित्व फिर्ता सात लाख चार हजार सात सय ७४ रुपैयाँ १० पैसा, सामुदायिक विकासतर्फ छ लाख २७ हजार छ सय २४ रुपैयाँ ८१ पैसा, गत वर्षको नगर करतर्फ तीन लाख ४० हजार छ सय ८२ रुपैयाँ ९० पैसा, भेला+अन्तरक्रियातर्फ एक लाख ६७ हजार आठ सय ४८ रुपैयाँ ५५ पैसा रहेको छ ।

त्यसैगरी भेलामा १२ जना ज्येष्ठ नागरिकलाई सम्मानित गरिएको थियो । सोही भेलामा गत भदौमा ललितपुरमा सम्पन्न भएको ११औं कोरियन एम्बासडर ओपन इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसीपका स्वर्ण पदक विजेता खेलाडी प्रदीप विश्वकर्मालाई प्रशंसा पत्रसहित नगद पुरस्कार पाँच हजारबाट सम्मानित गरिएको थियो ।

भेलामा वडाध्यक्ष नरेन्द्रकुमार श्रेष्ठ, सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारी, नेपाली काँग्रेस वडा सभापति रमेश फुँयेललगायतले शुभकामना मन्तव्य राखेका थिए । समूहकी उपाध्यक्ष मनकुमारी सञ्जेलले स्वागत गरेको उक्त भेलाको सञ्चालन सहसचिव प्रेमबहादुर उपरकोटीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here