कुलतमा फसेका महिलालाई सुधार्दै क्षितिज सुधार केन्द्र

0
13

झापा ।

झापाको बिर्तामोड–५ का दुई जना महिलाले क्षितिज महिला बिकास समाज नामक महिला सुधार केन्द्र सञ्चालनमा ल्याएका छन् ।

स्थानीय तिलरुपा कटुवाल र मञ्जु सिटौला कार्कीले सञ्चालनमा ल्याएको यो सुधार केन्द्रमा ४३ जना कुलतमा फसेका महिलालाई उपचारका लागि राखिएको छ । यो सुधार केन्द्र कुलतमा फसेका महिलाहरुलाई उपचार गर्ने बिर्तामोड नगरको पहिलो सुधार केन्द्र हो । यहाँ झापासहित पूर्वी नेपाल र भारतको सिक्किमसम्मका कुलतमा फसेका महिलाहरुको उपचार हुने गरेको छ । यो सुधार केन्द्रमा १४ वर्षदेखि ७२ वर्षसम्मका कुलतमा फसेका महिलाहरुको उपचार हुँदै आएको क्षितिज महिला बिकास समाजकी सञ्चालक कटुवालले बताइन् ।

पछिल्लो समय समाजमा लागूऔषधको प्रयोग बढ्दै गएसँगै सुधार केन्द्र खुल्ने क्रम पनि बढेर गएको छ । तर, अधिकांश सुधारकेन्द्र पुरुषका लागि मात्रै खोलिएका छन् । महिलाका लागि छुट्टै सुधार केन्द्र नभएको अवस्थामा कटुवाल र कार्कीले दुई वर्ष अघि भाडामा घर लिँदै सुधार केन्द्र सञ्चालनमा ल्याए । शुरुमा काम गरेर देखाउने अठोटका साथ उनीहरु कुलतमा फसेका महिलाको उपचार गर्दै घर पठाउने कार्यमा संलग्न भए ।

संस्था संस्थापनाको दुई वर्षमा १३५ जना कुलतमा फसेका महिलाको उपचार गरिसकेको र ३५ जना महिला पूर्ण रुपमा दुव्र्यसनमुक्त गराएर घर फर्किइसकेको सञ्चालक कार्कीले बताइन् । हाल यो संस्थामा ४३ जना महिलाहरुको उपचार भइरहेको छ । समाज सुधारका क्षेत्रमा समेत हामी काम गरिरहेका छौं– सञ्चालक कार्कीले भनिन्– पछिल्लो समय कुलतमा फस्ने महिलाको संख्या ह्वात्तै बढेसंगै दुई वर्ष अघिबाट यो संस्था सञ्चालनमा ल्यायौं र धेरै महिलालाई कुलतबाट छुटाउन सफल भयौं । अहिले पनि कुलतमा फसेका धेरै महिलाको उपचार भइरहेको छ ।

केही समय अघि मात्रै बिर्तामोडका सडकमा कुलतमा फसेर हिँड्ने गरेका ११ जना महिलाको उद्दार गर्दै यही संस्थामा राखेर उपचार भइरहेको कार्कीको भनाइ छ । स्थानीयवासी र टोल विकास संस्थाको अगुवाइमा बिर्तामोड नगरपालिकाले ११ जना दुव्र्यसनीलाई प्रहरीको सहयोगमा सुधार केन्द्रमा पठाएको र उनीहरुको संस्थाले निःशुल्क उपचार गरिरहेको संस्थाकी सञ्चालक कटुवालले बताइन् ।

बिर्तामोड नगरपालिकाले कुलतमा फसेका ११ जना महिलालाई सुधारकेन्द्र पठाएपनि कुनै प्रकारको सहयोग भने नगरेको सुधार केन्द्र सञ्चालकको दुखेसो छ । हामीलाई अरु केही चाहिएको होइन्– सञ्चालक कार्कीले भनिन्– सुधार केन्द्र ल्याइएका महिलाहरुलाई खानेकुराको प्रवन्ध मिलाए मात्रै पुग्छ । तर, नगरपालिकाले कुनै प्रकारको सहयोग नगरेको उनको भनाइ छ । नगरपालिकालाई पटक–पटक सहयोगका लागि आग्रह गरेपनि नगरले कुनै प्रकारको सहयोग नपु¥याए पनि बिर्तामोड नगरपालिका–५का वडाध्यक्ष रोहित प्रसाईले भने सहयोग गरिरहेको उनीहरुको भनाइ छ ।

कुलतमा फसेर सडकमा बेवारिसे जस्तै भएर हिँड्डुल गर्ने महिलाको संरक्षण गर्ने जिम्मा नगरपालिकाको हो– कटुवालले भनिन्– त्यस्ता महिलाको उद्धार गरेर सुधार केन्द्रमा राखेर उपचार गर्दा समेत नगरपालिकाले वास्ता नगर्नु आफैंमा अचम्मको कुरा छ । सडकबाट उद्धार गरिएका महिलाहरुमा धेरै प्रकारको समस्या देखिएको छ– कार्कीले भनिन्– कतिपयलाई त ‘भिरुङ्गी’ जस्ता समस्या समेत देखिएको छ । सुधार केन्द्रमा राखिएका महिलाहरुको समस्याका विषय लिएर नगरपालिका जाँदा नगरप्रमुखले वास्ता नगरेको उनीको भनाइ छ ।

हाम्रो चिन्ता हिजो कुलतमा फसेका महिलाले समाजमा पु¥याएको असरको हो– तिलरुपाले भनिन् – उनीहरु सडकमा रहँदा नशाको सेवनसँगै यौनजन्य गतिविधिमा समेत संम्लग्न भए । उनीहरु आफैं बिरामी छन्, उनीहरुले कतिलाई रोग सारेका होलान् भन्न सक्ने अवस्था छ्रैन । एक जना युवतीले त बच्चा नै जन्माइन् । यस्तो भयावह अवस्था हुँदा समेत स्थानीय सरकार मौन छ । सुधार केन्द्रमा भारतको सिक्किम, दार्जीलिङ, शिलगढी तथा कोशी र मधेश प्रदेशका दुव्र्यसनी महिलाले पनि उपचार पाइरहेका छन् । भारतको सिक्किमका ५ जना उपचारपछि घर फर्किसकेका छन् भने ५ जना भारतीयसहित ४३ जनाले यहाँ उपचार लिइरहेका छन् ।

लागू औषध दुब्र्यसनमा नेपालको मध्यमवर्गीय परिवारका सदस्य बढी फसेको पाइएको सञ्चालकद्वयको भनाइ छ । खासगरी महिलाहरुमा दुव्र्यसनको सञ्जाल तीब्र रुपमा फैलिरहेको पाइएको उनीहरुले बताए । सुधारकेन्द्रमा राखिएका मध्ये अधिकांश ‘ड्रग्स युजर’ छन्– तिलरुपाले भनिन्– उपचार गराइरहेकामध्ये १४ जनाले ५० प्रतिशत शुल्क दिएका छन् । अरुलाई पनि तोकिएको रकममा सहुलियत गरिएको छ । ९० दिनको बसाइमा ४५ हजार तोकिएको शुल्क एक जनासँग पनि पूरा नलिएको अर्की सञ्चालक कार्कीले बताइन् ।

झण्डै ५ कठ्ठा क्षेत्रफलमा फैलिएको यो सुधार केन्द्रमा दुव्र्यसनीलाई गर्नुपर्ने सबै खालको उपचारको विधि अपनाइने कटुवालले बताइन् । लामो समय लागूऔषध दुव्र्यसनको क्षेत्रमा काम गरेकी कटुवालको काउन्सिलिङपछि दुव्र्यसनमा फसेका युवायुवतीले नयाँ जीवन शुरु गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here