पूर्वाञ्चल धार्मिक महामहोत्सव शुरु

0
11

झापा ।

झापाको बाह्रदशी गाउँपालिका–६ स्थित श्रीगौरीशङ्कर शिवालय गायत्री स्वरुपा आश्रममा पूर्वाञ्चल धार्मिक महामहोत्सव सोमवारबाट शुरु भएको छ ।

मंसीर २६ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन सभामुख देवराज घिमिरेले गरेका छन् । उद्घाटन अघि विभिन्न भजनकीर्तन मण्डली, गुरुकुलका बटुक, धामीझाँक्री तथा विद्यार्थीलगायतको सहभागितामा निस्किएको शोभायात्राले बाह्रदशीको बिहीबारे बजारलगायत विभिन्न स्थानको परिक्रमा गरेको थियो ।

महामहोत्सव यज्ञ सम्पादन मूल समितिका अध्यक्ष ज्ञानु सुवेदीको अध्यक्षता तथा सभामुख घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहसंयोजक जीवन पनेरुले स्वागत गर्दै बालाचतुर्दशी पर्वलाई विशेष कार्यक्रमका साथ मनाइने जानकारी दिए ।

कार्यक्रममा कञ्चन धाममा निर्माण गरिएको भगवान शिवको प्रतिमा अनावरण गरिएको थियो । स्थानीय मुक्तिनाथ बराइली दास र पंम्फा बराइली दासले प्रतिमा सौजन्य गरेको बताइएको छ ।

सोही कार्यक्रममा धाममा देवी तिम्सिनाले आफ्ना पितृहरूको नाममा निर्माण गरिदिएको भक्तिमाया कुञ्ज हस्तान्तरण गरिएको थियो । त्यस्तै स्थानीय तुलसी पाण्डेले फूल सौजन्य गरेको पुष्प बाटिकामा फूल रोपण कार्यको शुरुवात गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि सभामुख घिमिरेले कञ्चनगढधामलाई धार्मिक पर्यटकीयस्थल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा पञ्चमणि माध्यमिक र मिनिमाउण्टेन अंग्रेजी स्कुलका बिद्यार्थीले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । आगामी मंसीर २६ गतेसम्म सञ्चालन हुने धार्मिक महामहोत्सव अन्तर्गत श्रीमद्भागवत कथा वाचन ईश्वरकृष्ण महाराजले गर्ने बताइएको छ । उद्घाटन कार्यक्रमको सञ्चालन समितिका सचिव दीपेन्द्र खरेलले गरेका थिए ।

ऐतिहासिक तीर्थस्थल कञ्चनगढ धाम साधुकुटीलाई राष्ट्रस्तरीय धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, गुरुकुल बचाउने अभियान, धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले महामहोत्सवको आयोजना गरिएको मूल आयोजक समितिका संयोजक सुवेदीले जानकारी दिए ।

पूरातात्विक महत्व बोकेर पनि ओझेलमा परेको यो क्षेत्रको विविधता उजागर गराउन यस महापुराणले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । महायज्ञ सम्पन्न गर्न १ हजार १ मूलआयोजक समिति र १ सय ५१ वटा क्षेत्रीय उपसमिति गठन गरिएको छ ।

कञ्चनगढको महत्व

बाह्रदशी गाउँपालिका–६मा रहेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलका रुपमा परिचत क्षेत्र हो– कञ्चनगढ अर्थात् साधुकुटी । समुद्री सतहबाट ३०० मिटर उचाइमा रहेको कञ्चनगढमा शिवालय मन्दिर, दुर्गा, काली एवम् श्रीकृष्णको मन्दिरसमेत रहेको छ ।

यहाँ प्रत्येक वर्ष शिवरात्री, बालाचतुर्दशीमा मेला लाग्ने गरेको छ । अग्लो भूभागमा मठ मन्दिर रहेका छन् । महाभारतको विराट पर्वमा, श्रीस्वस्थानी व्रतकथा र श्रीमद्भागवतको अष्टम स्कन्धमा यहाँको चर्चा भएको पाइन्छ । जसअनुसार समुद्र मन्थनका क्रममा भगवान् शिवले हलाहल विषपान गरी मोहनी नाम गरेकी सुन्दरीसँग सम्भोग गरेपछि वीर्य पतन हँुदा उक्त स्थानको निर्माण भएको र वीर्य पतन सँगसँगै सुनचाँदी, हीरामोती आदि समेत पतन भएको किंवदन्ती रहेको यस स्थानमा वि.सं. १९९० तिर एक साधुले कुटी बनाएर बसेकाले यस स्थानलाई साधुकुटी समेत भन्ने गरिएको छ ।

साधुकुटीमा गौरीशंकर शिवालय गायत्री स्वरुपाश्रमसमेत निर्माण गरिएको छ । यहाँ आवाससहितको वटुकका लागि अध्ययन गर्ने व्यवस्था मिलाइएको छ । जनस्तरबाट आर्थिक स्रोत जुटाएर लामो समयदेखि यहाँ बटुकलाई राखेर शिक्षा प्रदान गरिँदै आइएको छ ।

यहाँको अर्काे विशेषता भनेको गौरीशंकर शिवालय मन्दिरकै छेउमा झण्डै २०० वर्ष पुरानो एक वृक्ष रहेको थियो । हाँगाबाट जरा पलाएर सो वृक्ष झांगिएको अवस्थामा थियो । तर, सो वृक्ष केही समय अघि ढलेको छ । ब्रम्हनिष्ट १००८ स्वामी डा. रामानन्द गिरीजस्ता विद्वानले पदार्पण गरेको यस स्थान तीन बिगाह १८ कठ्ठा क्षेत्रफलमा फैलिएको छ ।

१८औँ शताब्दीतिर यो स्थान पत्ता लगाएका एक साधुले अलौकिक वृक्षको फेदमा त्रिशुल गाडी धुनी जगाई बसेको वृक्ष अझै पनि रहेको मानिँदै आएको छ । वि.सं. १९९३मा नापी भएपछि ठाना र बजारको समेत यहाँ व्यवस्था थियो । तर, २००७ सालको क्रान्तिपछि यहाँका कार्यालय सारिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here