हात्ती पीडित परिवारलाई पाँच दिन भित्र क्षतिपूर्ति दिन प्रदेश मन्त्रीको निर्देशन

0
10

पथरीशनिश्चरे,

कोशीका प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले हात्तीको आक्रमणमा परी ज्यान गुमाएका परिवारको तत्काल क्षतिपूर्ति दिन निर्देशन दिएका छन् ।

हात्तीको आक्रमणमा परी सोमबार ज्यान गुमाएका कमल माझीको परिवारलाई समवेदना प्रकट गर्न मोरङको लेटाङ–३ स्थित कीर्तिमान पुगेका मन्त्री उप्रेतीले सो कुरा बताएका हुन् ।
प्रदेशसभाको मङ्गलवार बसेको बैठकको शून्य समयमा सांसदहरूले हात्ती आक्रमणको विषयमा सरकारको जबाफदेहिता माग गरेपछि मन्त्री उप्रेती बुधवार बिहानै मृतक परिवारको घर पुगेका हुन् ।

पीडित परिवारमा समवेदना व्यक्त गर्दै उनले ५ दिनभित्र क्षतिपूर्ति उपलब्ध गराइने उनले बताए । ‘कानुनमा ३० दिनभित्र भनिए पनि मुचुल्का उठाउने काम २ दिनको हो, बाँकी प्रक्रियामा जाँदा ५ दिनभित्र काम सकिन्छ, उनले भने, ३० दिन कुर्नै पर्ने आवश्यकता छैन, जनतालाई सरकारको अनुभूति दिलाउने दायित्व हाम्रै हो, काममा ढिलासुस्ती गर्नु हुँदैन ।’

परिवारसँग भेट्ने क्रममा मन्त्री उप्रेतीले उनीहरूलाई किरिया खर्च बापत ५० हजार रुपैयाँ रकम समेत उपलब्ध गराए । उनले प्रदेश सरकारबाट सिर्जना हुने रोजगारीमा पीडित परिवारका सदस्यलाई प्राथमिकतामा राखिने प्रतिबद्धता पनि व्यक्त गरे । हात्ती तथा अन्य जीवजन्तुको आक्रमणबाट हुने जनधनको क्षति न्यूनीकरणका निम्ति प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा वन्यजन्तुमैत्री जङ्गल बनाउने कार्यक्रमलाई समेटिएको बताए ।

मोरङको बेलबारी–१० स्थित भाउन्नेमा जङ्गली हात्तीको आक्रमणमा परी सोमबार बिहान लेटाङ–३ कीर्तिमानका ५३ वर्षीय कमल माझीले ज्यान गएको थियो । लेटाङबाट साइकल चढेर बेलबारीको लक्ष्मी मार्गतर्फ आउँदै गरेको अवस्थामा माझीलाई हात्तीले आक्रमण गरेको थियो । माझीको शव बिहान करिब साढे १० बजे सिर्जना सामुदायिक वन क्षेत्रमा फेला परेको थियो ।

हात्तीको आक्रमणमा परी यसअघि पनि सुनसरीको इटहरी, झापाको हल्दिबारी र बेलडाँगीमा १/१ जनाले ज्यान गुमाएका थिए । कोशी प्रदेशमा पछिल्लो २ सातायता हात्तीको आक्रमणमा परी ४ जनाको मृत्यु भइसकेको छ । आहारको खोजीमा हात्ती गाउँ पस्दा आक्रमणको घटनाहरू हुने गरेको डिभिजन वन कार्यालय मोरङले जनाएको छ ।

डिभिजन वन कार्यालयका अनुसार हाल ३७ वटा हात्तीहरू झापाको बाहुन डाँगीबाट मोरङ हुँदै सुनसरीसम्म पुगेका छन् । हात्ती देख्दा जिस्क्याउने, ढुङ्गा हान्ने र फोटो तथा सेल्फी खिच्ने लगायतका कारणले पनि आक्रमण हुँदा घटना हुने गरेको जनाइएको छ । कोशी प्रदेशको सुनसरी, मोरङ, झापा, इलाम र उदयपुर गरी कुल ५ जिल्लामा हात्तीको आतङ्क रहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार प्रदेशमा गत साउन महिना कुल ४२ वटा हात्ती आक्रमणका घटनाहरू भएका छन् ।

हालसम्म ४ जनाले ज्यान गुमाएका छन् भने ७ जना गम्भीर घाइते भएका छन् । हात्तीको आक्रमणबाट अहिलेसम्म २७ लाख ९० हजार मूल्य बराबरको भौतिक क्षति पुगेको प्रहरी जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here