जातीय विभेद गरेको आरोपमा पक्राउ

0
12

झापा ।

नेपाल प्रहरीले जातीय विभेद गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

मेचीनगर–१० निवासी ३६ वर्षीया रञ्जु विश्वकर्मा कडरियालाई जातीय विभेद गरेको आरोपमा उनकै छिमेकी ४७ वर्षीया मैया दाहाल र ४९ वर्षीया सीता दाहाललाई प्रहरीले पक्राउ गरेको हो ।

आफूमाथि जातीय विभेद भएको भन्दै करिव दुई महिना अघि उनले इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी दिएकी थिइन् । जातीय भेदभावसहित अपमान गरेको भन्दै विश्वकर्माले गत असोज २४ गते नै जाहेरी दिएकी थिइन् ।

विश्वकर्माले दिएको जाहेरी अनुसार छिमेकी सीताको घरबाट दूध किनेर खान थालेको दुई दिनपछि गतअसोज २२ गते अचानक उनलाई दूध दिन छाडिएको थियो । विश्वकर्माले ‘मलाई दूध दिन किन छाड्नु भएको ?’– भनी सोध्दा दाहालले– ‘तँ दलितलाई दूध दिन थालेपछि मेरो गाई बिरामी भई दूध दिन छोडेको र परिवारका सदस्यहरूमा पनि रगत छाद्ने रोग देखा परेको’ भन्दै आइन्दा दूध लिन नआउनु भनेकी थिइन् । मैयाले समेत ‘दलितलाई दूध दिँदैनौं, कहाँ गएर के गर्नुपर्छ गरेर देखा’ भनेको विश्वकर्माले बताइन् ।

छिमेकीबाटै जातीय विभेद र अपमान भोगेपछि उनले असोज २४ गते प्रहरीमा जाहेरी थिइन् । जाहेरी दिनुअघि उनलाई स्थानीयवासी र जनप्रतिनिधिहरूले ‘मिल्न’ दबाब दिएका थिए । तर, उनले जातीय विभेद गर्नेबिरुद्ध कानून बमोजिम कारबाही गरी पाउँ भन्दै जाहेरी दिएकी थिइन् । जाहेरी दिएको लामो समयसम्म स्थानीय र केही जनप्रतिनिधिले ‘सद्भाव बिथोलिने’ भन्दै जाहेरी फिर्ता लिन दबाब दिएको उनले बताइन् ।

प्रहरीले असोज २४मै दाहालद्वयबिरुद्ध मुद्दा दर्ता भएको दाबी गरे पनि उनीहरुलाई पक्राउ गर्न भने करिव दुई महिना लगाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here