सामुहिक प्रतिबद्धताको खाँचो

0
8

विश्वव्यापी मानवअधिकारको घोषणा भएको दिन आज । सन् १९४८ मा संयुक्त राष्ट्र संघले विश्वव्यापी मानव अधिकारको घोषणा गरेको थियो । त्यही दिनको सम्झनामा प्रत्येक वर्षको डिसेम्वर १० लाई अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका रुपमा मनाउन थालिएको हो । विश्वका पाँच सय भाषामा अनुवाद गरिएको यो घोषणा पत्रमा मानवको जन्मसिद्ध अधिकारको प्रत्याभूतिका साथ त्यसको कार्यान्वयनमा जोड दिइएको छ । मानिसलाई बाँच्नका लागि चाहिने न्यूनतम आधारभूत अधिकारको समष्टि रुप नै मानव अधिकार हो । त्यसैगरी मानवका मौलिक अधिकार, आधारभूत स्वतन्त्रता, आधारभूत अधिकार, संवैधानिक, प्राकृतिक र नागरिक अधिकार पनि भनिने मानव अधिकार राज्यले प्रदान गर्नुपर्ने कानूनी प्रावधान हुन् ।

मानव अधिकारको विश्वव्यापी घोषणापत्रमा प्रस्तावनासहित तीस वटा धारा समाविष्ट छन् । जसमा राष्ट्रियता, स्थान, लिङ्ग, राष्ट्रिय वा जातीय उत्पत्ति, धर्म, भाषा वा अन्य कुनै पनि प्रकारको भेदभावमुक्त अधिकार उल्लेख छ । यसले समस्त मानव जातिको स्वाभिमान, न्याय र मानवोचित गुणले सम्पन्न जीवनयापन गर्ने आकांक्षाको प्रतिबिम्वन गर्छ । यसै आधारमा नेपालमा पनि प्रत्येक वर्ष आजकै दिनलाई विश्व मानव अधिकार दिवसका रुपमा विविध कार्यक्रमको आयोजना गर्दै मनाउने गरिएको छ । यो दिवसको सार्थकता सम्पूर्ण नेपालीलाई स्वास्थ्य, शिक्षा, आवास, न्याय सेवा, प्रशासन, जीवन रक्षा र राजनीतिक सहभागिताबाट मात्र पूर्ण हुन्छ ।

सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय भन्ने मूल नाराका साथ मनाइने यस दिवसले अधिकारको प्रयोगसँगै जिम्मेवारी पनि बोध गराउनुपर्छ । विश्वका सम्पूर्ण मानवका बीच सद्भाव, एकता, प्रेम बन्धुत्वको भावना बढाउनु पर्दछ । अहिले विश्वका विभिन्न भागमा भइरहेका युद्ध र तिनले गर्ने क्षतिलाई रोकेर शान्त र सभ्य समाज निर्माणको संकल्प गर्नुपर्छ । यसका लागि देशभित्रै भइरहेका र हुने गरेका विभेदजन्य घटनालाई न्यूनीकरण गर्दै समुन्नत समाज निर्माणमा योगदान गरौं । मानव अधिकारको सुनिश्चितता नै भौतिक विकासको समेत आधार हो, तसर्थ यसकै आधारमा न्यायपूर्ण, समतामूलक र सभ्य समाज निर्माणका लागि सामुहिक प्रतिबद्धता व्यवहारबाट प्रमाणित गरौं । होइन भने मानवीय मूल्य माथि हुने आक्रमणले हामी नै जोखिममा रहन्छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here