निवर्तमान जनप्रतिनिधिलाई सम्मान

0
8

रत्नबहादुर बस्नेत,
बिर्तामोड ।

आफ्नो कार्यकालमा जनप्रतिनिधिको रुपमा गाउँक्षेत्रका लागि महत्वपूर्ण काम गरेको भन्दै निवर्तमान जनप्रतिनिधिलाई बिर्तामोड -१०का टोलबासीले स्वागत- सम्मान गरेका छन्।

बिर्तामोडको नगर गौरव योजनाअनुसार सैनिकबजार भुतेनी नगर गौरव मार्ग कालपत्रे भएसँगै स्थानीय उतर भुतेनी तथा दक्षिण भुतेनी टोलबासीले निवर्तमान नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई स्वागत-सम्मान गरेका हुन्।

उत्तरभुतेनी टोल विकास समितिका अध्यक्ष हेमबहादुर गुरुङको अध्यक्षता तथा बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा निवर्तमान नगरप्रमुख शिवाकोटी,निवर्तमान कार्यपालिका सदस्य गीता पोखरेललगायत वर्तमान जनप्रतिनिधि,सामाजिक व्यक्तित्वलाई फूलमाला लगाएर सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपप्रमुख संग्रौलाले निर्माणको क्रममा रहेको नगर गौरव मार्गको थालनी निवर्तमान नगर प्रमुख शिवाकोटीको पहलमा भएकोले त्यसको जसको भागी उहाँलाई नै जाने बताए। बाँकी काम सम्मन्न गरेपछि मात्र आफ्नो पालो आउने र त्यसका लागि प्रयास गर्ने उनको भनाइ थियो।

निवर्तमान नगरप्रमुख शिवाकोटीले निकै कठिनाइको सामना गर्दै अथक प्रयत्नबाट सैनिकबजार भुतेनी गौरव मार्ग नगरगौरव योजनामा समावेश गर्न आफू सफल भएको र आफूले कर्तव्य मात्र गरेको भन्दै आगमी दिनमा क्रमागत योजनामा ध्यान दिन र पूरा गर्न जनप्रतिनिधि तथा टोलबासीलाई आग्रह गरे।

सैनिकबजार गोलधाप सडकबाट दक्षिण भुतेनी हल्दिबारी सिमानासम्म जोड्ने ५ कि.मी. लम्बाइ रहेको उक्त योजना अन्तर्गत हाल १ हजार ७०० मिटर सडक कालो पत्रे भइसकेको बताइएको छ। ४० फीट चौडाइ रहेको उक्त सडक निर्माणकार्यका लागि करीब २ करोड ६० लाख रुपैयाँ खर्च भइसकेको छ।

कार्यक्रममा बिर्तामोड -१० का वडाध्यक्ष दूर्योधन गुरुङ,वडा सदस्य पृथ्वी बस्नेत, सामाजिक व्यक्तित्व रिमानध्वज लोक्ताम, कृष्ण पोखरेल, पुण्यप्रसाद गौतमलगायतले शुभकामना मन्तव्य राखेका थिए। टेकबहादुर देवानले स्वागत गरेको कार्यक्रमको सञ्चालन याम दुमी राईले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here