चीन र मुस्लिम देश बाट आउँछ सुन मुख्य नाईके को ?

0
6

काठमाडौँ,

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ब्रेक सु र विद्युतीय चुरोट (भेप) मा लुकाइछिपाइ ल्याएको सुन प्रकरणको जाँचबुझ तथा संलग्न व्यक्तिमाथि कारबाही गर्न माग गर्दै प्रतिपक्षी एमालेले करिब एक महिना संसद् अवरुद्ध गरेपछि गठन भएको उच्चस्तरीय आयोगको काम सुस्त छ तर तस्करहरूले आफ्नो धन्दा भने उच्च गतिमा अघि बढाएका छन् । पछिल्लो ५ दिनमै ४ पटक गरी साढे २९ किलो अवैध सुन बरामद भएको छ ।

एमालेले साउन १० देखि संसद् अवरुद्ध गरेपछि जाँचबुझ आयोग गठन गर्न भदौ ६ मा संसद्का ७ दलबीच सहमति भएको थियो । त्यही आधारमा असोज १४ मा गठित आयोगको तीनमहिने म्याद पुस १४ मा सकिँदै छ । आयोगलाई सुन तस्करीको समग्र जाँचबुझ मात्रै होइन, गिरोह र यसमा संलग्नलाई पक्राउ गरेर अनुसन्धान गर्न सक्ने अधिकारसमेत दिइएको छ । यही कार्यादेशभित्र रहेर जाँचबुझ भइरहेको आयोगको दाबी छ ।

उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा गठित उच्चस्तरीय आयोगमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य छन् । जाँचबुझ आयोगले विगतका ओसारपसारमा संलग्नसँग सोधपुछ गर्ने, कागजी प्रमाण जुटाउने, स्थलगत भ्रमण, सरोकारवालासँग भेटघाट र विज्ञबीच परामर्श लिएको छ । तर म्याद अब करिब २० दिन मात्र बाँकी छ ।

‘नेपाली अभियुक्तसँग बयान लिइसक्यौं । तारिख र धरौटीमा रहेकासँग लिँदै छौं । ओसारपसारमा संलग्न विदेशीसँग सोधपुछ बाँकी नै छ,’ आयोगका एक सदस्यले भने, ‘विज्ञ र सरोकारवालासँग सोधपुछ सक्यौं, अनुसन्धान अधिकृत, अभियोजनकर्तासँग बाँकी छ ।’ ३ महिने कार्यादेश पाएको आयोगको कार्यक्षेत्र बृहत् भएकाले २ महिना अनुसन्धानमै बितेको ती सदस्यको भनाइ छ । ‘अवैध सुन आउने मुख्य स्थान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, रसुवाको केरुङ, तातोपानी, दोलखालगायत नाकाको स्थलगत निरीक्षणमा धेरै समय खर्च भयो,’ उनी भन्छन् ।

सरकारले आयोग गठन गरेपछि पर्याप्त सहयोग नगर्दा पनि ढिलासुस्ती हुन पुगेको आयोगका सदस्यहरू गुनासो गर्छन् । सरकारले मंसिर पहिलो साता मात्र आयोगलाई आवश्यक कर्मचारी उपलब्ध गराउने निर्णय गरेको थियो । निर्णय गरे पनि अझै कर्मचारी हाजिर हुन आएका छैनन् । मंसिर ७ गते सरकारले आयोगमा उपसचिव, सरकारी वकिल, राजस्व उपसचिव र प्रहरी नायब उपरीक्षक गरी ४ जना अधिकृतस्तरका कर्मचारी उपलब्ध गराउने निर्णय गरेको थियो । यसअघिका फैसला, संलग्नको कल डिटेल, पूर्वछानबिन समितिका प्रतिवेदन अध्ययन गर्न समय लाग्ने र आयोगको क्षेत्राधिकार पनि बृहत् भएकाले ढिलाइ भएको उनले बताए ।

आयोग यसअघिको सुन ओसारपसारको छानबिनमा केन्द्रित भइरहँदा विमानस्थलकै बाटो नयाँ तरिकाले धमाधम सुन भित्रिरहेको छ । बिहीबार १४ किलो सुनसहित समातिएका गोरखा बारपाकका चन्द्र घले स्वयंले तेस्रो पटक दुबईबाट सुन ल्याएको सोधपुछका क्रममा बताएका छन् । शनिबार राति पनि फ्लाई दुबईको उही उडान (एफजेड ५७३) बाट ल्याइएको साढे ६ किलो अवैध सुन भन्सार जाँचपास भइसकेपछि बरामद भएको छ । बोकेर ल्याउने इजिप्टका नागरिक सेरिफ मोहम्मद ल्यासिनसहित दुई सुडानी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द ठकुरका अनुसार एक दिनको फरकमा विमानस्थलबाट सुन भित्र्याउने तरिका भने उस्तै छ । ‘बिहीबारजस्तै शनिबार पनि ज्याकेटभित्रको वस्त्रमा ६ किलो अर्धठोस सुन बोकेर ल्याएका रहेछन्,’ डीआईजी ठकुरीले भने, ‘विमानस्थल आगमन टनेल प्रवेश गेटबाट सुन बरामद गरेका छौं । घलेले जस्तै इजिप्टियन नागरिकले पनि त्यही तरिकाले ज्याकेटको भित्रपट्टि फल्स बटम बनाई टेपले बेरेर बिस्कुट आकारका सुन बोकेका रहेछन् । टनेल गेटमा जाँच गर्दा फेला पर्‍यो ।’ प्रहरीका अनुसार बरामद ६ किलो सुन भन्सार जाँचपास भइसकेको थियो ।

पछिल्ला घटनामा तस्करले सुन ओसार्न नौलो विधि अपनाएका छन् । आइतबार भन्सार विभागले गरेको सोधपुछमा चन्द्र घलेले यसअघि ३ पटकसम्म सुन ल्याएको मात्रै बताएनन्, ल्याएको सुन विमानस्थलको व्यावसायिक व्यक्तिहरूका लागि छुट्याइएको (सीआईपी कक्ष) शौचालयको डस्टबिनमा राखेर बाहिरिने गरेको बयानसमेत दिए ।

सुन लिन दुबई पठाउने र ल्याएर शौचालयमा छाड्न लगाउने बारपाककै मीनबहादुर घले रहेको जवाफ चन्द्रले दिएको ती अधिकारीले सुनाए । ‘चन्द्रले ३ पटकसम्म सुन ल्याइसकेको बताएका छन्, भेटिएको प्रमाणमा उनी यसअघि पनि ३ पटकभन्दा बढी दुबई आउजाउ गरेको देखिन्छ,’ एक अनुसन्धान अधिकारीले कान्तिपुरसित भने, ‘त्यतिबेला ल्याएको सुन सीआईपी कक्षको डस्टबिनमा राखेर विमानस्थलबाट बाहिरिने गरेको बताएका छन् । त्यसपछि सुन कसले कहाँ लैजान्थ्यो, आफूलाई थाहा नहुने उनको भनाइ छ ।’

उनले शौचालयमा छाडेको सुन सरसफाइ कर्मचारी फोहोरमैलासँगै विमानस्थल बाहिर पुर्‍याउने गरेको भन्सार अधिकारीहरूको प्रारम्भिक अनुमान छ । ती अधिकारीका अनुसार मीनबहादुरले भने चन्द्रको आरोप स्वीकार गरेका छैनन् । तर ह्वाट्सएपको कुराकानीमा मीनले नै चन्द्रलाई भिसा र प्लेन टिकट पठाउने गरेको भेटिएको छ ।

साथै आरोपितहरूको प्रारम्भिक बयानका आधारमा सरकारी अधिकारीहरू सुन तस्करीको गिरोहले नेपाललाई ट्रान्जिट बनाएर दुबईको सुनलाई भारत पुर्‍याउने गरेको आशंका गर्छन् । ‘चन्द्रले भनेको कुरा मीनबहादुरमाथि छानबिन गर्दा मिल्दै गएको छ, मीनको मोबाइल सम्पर्क दुबई र भारतका सिमकार्डसँग भएको देखिन्छ । मोबाइलको कल डिटेल्स मगाएर पनि थप अनुसन्धान गर्न बाँकी छ । स्वदेशी, विदेशी को–कोसँग सम्पर्क छ । सबै खोज्छौं,’ एक अनुसन्धान अधिकृतले भने ।

बिहीबार भने चन्द्र घले विमानबाट ओर्लेपछि सीआईपी कक्षमा पुग्न नपाउँदै सुराकीे आधारमा प्रहरी र भन्सार कर्मचारीले नियन्त्रणमा लिएर खानतलासी गर्दा सुन भेटिएको थियो । चन्द्रको बयानमा मीनबहादुर सोही दिन पक्राउ परेका थिए । चन्द्र घले बारपाक क्षेत्रमा भेडा, च्याङ्ग्रा डुलाउने र काठमाडौंमा मासु पसल सञ्चालक भएको खुलेको छ । उक्त सुन ल्याउन संलग्न र लगानीकर्तामाथि अनुसन्धान गर्न भन्सार विभागका उपसचिव मनिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

शनिबार सुन बोकेर ल्याउने इजिप्टका नागरिक सेरिफ मोहम्मद ल्यासिनसहित दुई सुडानी नागरिक पनि पक्राउ गरिएको डीआईजी ठकुरीले बताए । उनका अनुसार राति पौने १ बजे भन्सार पास भइसकेको अवस्थामा तस्करी गरेर ल्याएको सुन नियन्त्रणमा लिइएको हो । सुडानी नागरिकको सेरिफसँग शंकास्पद संलग्नता र निकटता देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तर दोभासे नहुँदा आरोपीमाथि थप सोधपुछ गर्न नसकिएको प्रहरी भनाइ छ ।

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले न्युरोड र नागढुंगा नाकाबाट ५ दिनकै अवधिमा ९ किलो सुन नियन्त्रणमा लिएको छ । गत मंगलबार न्युरोडबाट ७ किलो सुन बरामद गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । न्युरोडमा पदमप्रसाद पाण्डेले सञ्चालन गरेको ओम पल गोल्ड प्रालि र कैलाश ज्वेलर्स प्रालिबाट बिल–बीजकबिनाका सुनका गहना र टुक्राहरू नियन्त्रणमा लिइएको थियो । पाण्डेको साथबाट ४१ सय अमेरिकी डलर र ३९ लाख नेपाली रुपैयाँसमेत बरामद गरिएको छ । कैलाली घर भई स्वयम्भू बस्ने पाण्डेलाई समेत पक्राउ गरी गैरकानुनी रूपमा हुन्डीमार्फत वित्तीय कारोबार गरेको हुँदा अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको रेग्मीले बताए ।

सुन र अमेरिकी डलरमा राजस्व छलीसम्बन्धी कसुरमा उनलाई कारबाही प्रक्रिया अघि बढेको प्रहरीले जनाएको छ । गत बिहीबार नै अपराध अनुसन्धान कार्यालयले काठमाडौंको नागढुंगा नाकाबाट २ किलो सुनसहित ३ जनालाई पक्राउ गरेको थियो । रसुवाको केरुङ नाकाबाट भन्सार छलेर तस्करी गरी ल्याएको सुन सुराकी सूचनाका आधारमा नियन्त्रणमा लिइएको रेग्मीले बताए । सुनसँगै रसुवाका विरु तामाङ, सुनील भुजेल र ग्यालछिरिङ तामाङलाई पक्राउ गरिएको छ । वाग्मती प्रदेशको ०१–०२८–२६९७ नम्बरको स्कार्पियो गाडीको गियर बक्समा बिस्कुट आकारको २ थान सुन लुकाएर ल्याइएको थियो । विमानस्थलबाट ल्याएको सुन बरामद हुन थालेपछि पछिल्लो समय रसुवा, दोलखा, सिन्धुपाल्चोक, गोरखालगायतका सीमानाका प्रयोग हुने क्रम बढेको प्रहरीले जनाएको छ ।

गत असार २९ गते विमानस्थलबाट बाहिरिएको ६१ किलो सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यतिबेला ब्रेक सुमा रहेको सुन भन्सार जाँचपास गरेर सिनामंगल सडकमा पुगेको अवस्थामा बरामद गरिएको थियो । त्यसअघि विद्युतीय चुरोट भेपमा लुकाएर ९ केजी सुन ल्याइएको थियो । उक्त सुन तस्करी आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पुर्पक्षका लागि थुनामा छन् । लगातार सुन तस्करीको घटना सार्वजनिक हुने र त्यसमा राजनीतिक नेतृत्वसमेत जोडिएपछि उच्चस्तरीय छानबिन समिति बनाउन संसद्मा माग भएको थियो ।

त्यसपछि सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा छानबिन समिति बनाएको हो । गत भदौ ३ र असोज १३ गते केरुङ रसुवा नाकाबाट ल्याएको ३ केजी, असोज १० र ११ गते दोलखा राङजिया नाकाबाट सडक मार्ग हुँदै ल्याइएको ७ केजी सुन बरामद गरिएको थियो । पछिल्लो १० वर्षमा तस्करी गरेर ल्याइएको ७ सय किलो सुन बरामद भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ । सुन ओसारपसारमा संलग्न ५ सय ९९ जना पक्राउ परेका छन् । उक्त सुन ७ अर्बभन्दा बढी मूल्यको हो । सोही अवधिमा १ हजार १ सय २२ किलो अवैध चाँदीसमेत बरामद भएको छ । ईकान्तिपुर बाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here