दलहरु सच्चिएर जवाफदेही बन्नुपर्नेमा जोड

0
11

बिर्तामोड।

मुलुक यही अवस्थामा रहे नागरिकहरु विद्रोहमा उत्रन सक्ने सोमबार बिर्तामोडमा आयोजिक एक कार्यक्रमका सहभागीले औल्याएका छन् ।

नागरिकमा बढ्दो निरासा, आक्रोस, मुलुकको बेथिति समयमै हल नगरे कुनै न कुनै स्वरुपको विद्रोह जन्मने नागरिक समाजका प्रतिनिधिहरुले बताएका हुन् । समस्या समाधानका लागि राजनीतिक दलहरु तत्काल सच्चिएर जवाफदेही बन्नुपर्नेमा उनीहरुको जोड छ । ‘मुलुकको समसामयिक परिस्थिति र निकासको बाटो’ विषयमा संवाद समूह झापाले बिर्तामोडमा गरेको छलफलमा नागरिक समाजका प्रतिनिधिहरुले यस्तो बताएका हुन् ।

वरिष्ठ अधिवक्ता तथा नेपाल कानून आयोगका पूर्व सदस्य लीला उदासीले मुलुक दयनीय र अप्ठेरो अवस्थामा रहेको, जनता निरास र अनिश्चयमा रहेको बताए । बेथिति बढ्दै गए विद्रोह जन्मने उदासीले बताए । उनले दलहरु सच्चिएर अघि बढ्नुपर्नेमा जोड दिए ।

मानव अधिकार सञ्जाल झापाका अध्यक्ष डा. रुपक खनालले मुलुकमा भ्रष्टाचार, कुशासन र दण्डहीनता बढेकाले अहिलेको अवस्था आएको बताए । लोकतन्त्रमाथि दलहरुबाटै खतरा रहेको भन्दै दलप्रतिको वितृष्णा मेट्न र मुलुकलाई निकास दिन केही समय विज्ञहरुको टिमलाई मुलुक चलाउन दिनुपर्ने धारणा राखे ।

मानव अधिकार रक्षक परिषद्का प्रदेश उपाध्यक्ष विष्णु खरेलले नागरिकमा असन्तुष्टि, आक्रोस, अन्योलताले अराजकता थपिएको बताए । अहिले बैंकका प्रबन्धकहरु असुरक्षित रहेको, विकृति बढेको उनले बताए । खरेलले पहिचानको आन्दोलनलाई सरकारले तत्काल सम्बोधन नगरे अरु आन्दोलन चर्किने र असन्तुष्ट, अराजक पक्षको घुसपैठ हुने सम्भावना औल्याए । उनले विधि, संविधानप्रति सबै जवाफदेही बन्नुपर्ने बताए ।

गैरसरकारी संस्था महासंघ झापाका सचिव विजय तिम्सिनाले दलहरुले नागरिकमा विश्वास जगाउन सक्नुपर्ने, विदेशिएको श्रम शक्तिलाई स्वदेशमै रोकेर उत्पादनमा जोड दिनुपर्ने बताए । उनले अहिलेको अवस्थामा नागरिक समाजले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदन गोपाल सुब्बाले दलीय गठबन्धन नै बेथितिको कारण रहेको उल्लेख गर्दै अब आत्मनिर्भरता तर्फ अघि बढ्नुपर्ने बताए ।

प्याब्सन झापाका सचिव हरिकृष्ण पाठकले मुलुक संकटउन्मुख भएको, क्याम्पसहरु बन्द हुन थालेको बताए । पाठकले अहिलेको अवस्था दलहरुप्रतिको निरासाको उपज भएको बताउँदै विधिको शासन कायम गर्नुपर्ने बताए ।

नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष तोयानाथ दाहालले दलहरुले जनअपेक्षा पूरा नगर्दा अहिलेको अवस्था भोग्नुपरेको भन्दै दलहरुबीच एकता र प्रतिबद्धता आवश्यक रहेको उल्लेख गरे ।

बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले आर्थिक संकट झन गहिरिएको व्यवसायीको अवस्था धरासायी भएको भन्दै यस्तै अवस्था रहे उद्योगी व्यवसायी विद्रोहको मनस्थितिमा रहेको बताए ।

संयुक्त आवाजकी अध्यक्ष शिखा खड्का गणेशले यस्तै बेथिति बढ्दै गए राजतन्त्र फर्कन सक्ने बताइन् । सरकार, दलहरु सबै पक्ष मुलुकलाई अहिलेको संकटबाट निकास दिन जिम्मेवार हुनुपर्नेमा उनीहरुको जोड थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here