बेथिति नियन्त्रण गर

0
9

वैदेशिक रोजगारीका नाममा सर्वसाधारणको करोडौं रुपैयाँ ठगी भएका समाचार दिनहुँ सार्वजनिक भइरहेका छन् । नक्कली नोटको कारोबार पनि त्यत्तिकै फस्टाएको समाचारले बोलिरहन्छन् । बेथिति, भ्रष्टाचार र अनियमितताका घटनाहरु र तस्करी त्यत्तिकै भइरहेका खबर सुन्नु र पढ्नुपर्छ । हुँदाहुँदै सबै थिति बसाल्नुपर्ने दायित्व भएको सरकार र उसका विभिन्न निकायमा रहेका नेतृत्व, राष्ट्रसेवक कर्मचारीहरु यस्ता कुकृत्यमा संलग्न रहेका विवरणहरु दिनहुँजसो सार्वजनिक हुन्छन् । तर, ती सबै बेथिति, अनियमितता, भ्रष्टाचार, तस्करीका घटना न्यून हुनुको साटो क्रमशः बढ्दै गएका छन् । जसका कारण स्थिति, सुशासन, सदाचार र सुव्यवस्थाको ‘तालाचाबी’ बोकेकाहरु माथिको विश्वास घट्दै छ ।

पछिल्लो समय अत्यन्त संवेदनशील क्षेत्र भनिने त्रिभुवन विमानस्थल भएरै ‘क्विन्टल–क्विन्टल’ सुन अवैध ढंगले भित्रिएको घटना सामान्य जस्तो हुन थालेको छ । गएको दश वर्षको अवधिमा मात्रै सात क्विन्टलभन्दा बढी सुन अवैध ढंगले आयात भएको तथ्यांक प्रकाशित भएको छ । यही सातामात्रै विमानस्थलसँगै सीमावर्ती क्षेत्रबाट एक क्विन्टल सुन बरामद भइसकेको छ । चुरोट जस्तै बनाएर, स्कुटरका पाट्र्स बनाएर, धुलो पारेर र सग्लै सुन अवैध ढंगले भित्र्याएको खबर पनि अनौठो लाग्न छोडेको छ । गएको साउनमा मात्रै ६१ किलो सुन त्रिभुवन विमानस्थलबाट भित्रिएको थियो । जसको निहुँमा संसद नै अवरुद्ध गरियो । छानविन समिति बन्यो, तर तस्करीका क्रम भने अझै रोकिएको छैन ।

दिनहुँ पक्राउ पर्ने, बरामद हुने सुनको कारोबारले तस्कर शक्तिशाली भएको अनुमान गर्न गाह्रो छैन । भन्सार, अध्यागमन, सुरक्षा संयन्त्र र सरकारमा रहेका व्यक्ति र पात्रहरु नै संलग्न नभई सम्भव नहुने तर्क पनि बलियो भइरहेको छ । यसैबीच नेपालको ठूलो सेवाप्रदायक संस्था एनसेल बिक्री प्रकरणले सरकारप्रतिको अविश्वासलाई झनै बलियो बनाएको छ । विगतका शरणार्थी, बालुवाटार र त्यसअघिका ठूला भ्रष्टाचारका विवादित मुद्दाहरु त्यत्तिकै सेलाएको प्रसंगले देशकै बदनामी गरेको छ । यस्तोमा हाम्रो अर्थतन्त्र नै धराशायी बनाउने यस्ता कुकृत्यहरुको अन्त्य नभएसम्म देशले प्रगति गर्न सक्दैन । यसले कानूनको शासन कमजोर हुन्छ, बेथिति बलियो हुन्छ । त्यसैले सरकारले कडा ढंगले प्रस्तुत भई बेथिति, विकृति र विसंगति नियन्त्रण गरेर सुशासनको अनुभूति दिलाउनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here