एक्काइसौं शताब्दीमा–राजतन्त्रको वकालत : दास मानसिकता

0
8

राजतन्त्र भन्नासाथ अधिनायकवादी, निरंकुश शासनको झल्को आइहाल्छ । संसारमा जति पनि राजा महाराजाहरुको उदय भयो हिंसाको बलमा अर्कोलाई जाल–झेल, षडयन्त्रबाट आक्रमण गरी निस्तेज पारेर, मारेर, काटेर राजगद्दी प्राप्त गरेका हुन् । मध्ययुगिन बर्बर शासकहरुले अर्को राज्य वा जनता र शासकमाथि चरम दमन गरेर आफ्नो हातमा सत्ता हत्याएका हुन् । जनताको अभिमतबाट भोट जितेर कोही पनि वंश परम्पराको उत्तराधिकारी हुने राजा भएका छैनन् । राजतन्त्रमा यस्तो प्रणाली सम्भव हुँदैन । प्रजातन्त्र, लोकतन्त्रमा मात्र जनताले रोजेका, चुनेका प्रतिनिधिले आवधिक शासन सञ्चालन गर्दछन् । एकपटक सत्तामा पुगेपछि पैतृक सम्पत्ति जस्तै गरी सत्ता प्राप्त भइरहने वंश परम्परा भयो भने शासक जतिसुकै निरंकुश, अधिनायकवादी भए पनि फेर्न कठिन हुन्छ । जनताले त्यस्ता तानाशाहीका बिरुद्ध कठोर संघर्षहरु गर्नुपरेका कयौं र सयौं उदाहरणहरु छन् हाम्रै देशसहित विश्व राजनीतिक परिवेशमा ।

बन्द समाजमा हाम्रा पुर्खाहरुले निरंकुश राजशाहीलाई बाध्यताले स्वीकारे । चेतनाको अभाव, चरम गरिबी, विज्ञान प्रविधिको विकास नभएको अन्धकारको युगमा शासकलाई भगवानको अवतारको रुपमा परिभाषित गरेर धर्मप्रतिको मानिसको अस्थालाई दुरुपयोग गर्दै आफ्नो मालिकको अधिनायकत्व टिकाउन दरबारिया षडयन्त्रकारी गिरोहका दास मतियारहरु सक्रिय रहे । तर अब त्यो जमाना छैन । कोही मानिस कुनै सत्कर्म नगरी जन्मकै आधारमा स्वतः शासन सत्तामा बस्न पाउने, अरुले भने यथेष्ट क्षमता र योग्यता हुँदा पनि त्यही नालायक शासकलाई मान्नुपर्ने असमान र अलोकतान्त्रिक व्यवहारलाई त्यही मानिसले मात्र स्वीकार र वकालत गर्दछ– जोसँग उच्च चेतनास्तर छैन र ऊ दासत्वमै रमन रमाउन चाहन्छ । शासककोे बच्चालाई जन्मदै सुयोग्य मान्नुपर्ने अनि अन्यले जति नै ज्ञान र सिप भए पनि तिनैको कारिन्दा बन्नुपर्ने कुरालाई ठीक हो, हामी यस्तै बन्छौं । यस्तै मान्छौं, यही ठीक हो भन्ने दासहरुकोे दरिद्र सोचलाई दया गर्नुभन्दा अरु के नै गर्न सकिन्छ र ? जनताको छोराछोरीले त जनअधिकारका लागि लडने हो, राजाको अधिकारका लागि त तिनकै हुक्के, चम्चे दासले बोल्ने हो । जसलाई आफू सर्वभौम हुन पाएकोमा गर्व छैन र सामन्ती राजतन्त्रको दास बनिरहन पाउँ भन्छ भने तीनको चेतनास्तरमा दायाँ गर्नु शिवाय अरु के गर्न सकिन्छ र ? हुन त सामन्तको बासीभात–जुठोपुरो खाएका दललको मति र गति नै यस्तै हुने हो ।

सार्वभौमसत्ता जनतामा निहित भएको, आफैं शासन सत्तामा पुग्न सक्ने अवस्था भएको मुलुकमा अर्कै शासकले आफूमाथि वंश परम्पराका आधारमा शासन गरोस् भन्ने विचित्रको सोच र चाहना लिएकाहरु पनि छन् यस धर्तीमा । राजतन्त्र, कुलिनतन्त्र भनेका सामन्तवादका नाइके हुन् । सामन्तवादले मानवीय मूल्यमान्यतालाई समानताका आधारमा स्वीकार गर्दैन, गर्न सक्दैन । उनीहरुको भाषा, शैली, उठबस, बोली–व्यवहार आममानिसहरुका प्रति समान हुँदैन । मानिस–मानिस कै बीचमा उचनीचको चरम विभेद हुन्छ । यस्तो असमान र अपमानजनक कुरालाई स्वीकार गर्ने, तर निर्वाचनमार्फत आमजनताका छोराछोरीले आफैं शासन सत्ताको सर्वोच्च स्थानमा पुग्न पाउने अवस्था र व्यवस्थलाई सदुपयोग गर्न नचाहनेहरुलाई सधैँ दासत्व नै सर्वोपरि हो भन्ने लागीरहन्छ र तिनीहरु आफूमाथि कुनै अमूक शासकले सधैँ शासन गरिरहोस् भन्ने चाहन्छन् । त्यस्ताहरु कि त दरबारिया अभिजात्य वर्गद्वारा पालित–पोषित छन् । या तिनको उच्चस्तरको चेतना शक्ति विकास भएकै छैन र तिनीहरु दासत्वमै रमाउन चाहन्छन् । यी दासहरुले वंश परम्पराका आधारमा राजशाही माग गर्दा २१औं शताब्दीको युवाशक्तिले त्यस्तो गलत कुरालाई महत्व दिनुहुँदैन । विचरा दास मानसिकता भएकाहरु उन्नत चेतनास्तरको मानिस बन्न सकेका रहेनछन् भनेर तिनीहरुका प्रति दया गर्दै लोकतन्त्रको महत्व सम्झाउँदै आफैं शासन सत्तामा जान सक्ने र पाउने अवस्था र व्यवस्थाको महत्व बुझाउनेतर्फ आधुनिक समाजका युवाहरु अग्रसर हुनु आजको मुलुकको आवश्यता हो ।

राजतन्त्र र राजसंस्थाबीचको अन्तर र राजनीति

अहिले नेपालमा राजतन्त्रको माग गर्ने राजावादीहरु सडकमा प्रदर्शनमै उत्रिन थालेका छन् । तिनीहरु २०४६ सालको परिवर्तनले ल्याएको प्रजातन्त्र र २०६२÷०६३ सालको आन्दोलनपछि प्राप्त लोकतान्त्रिक गणतन्त्रकालमा टाउको लुकाउन नेपाली कांग्रेस र नेपालका विभिन्न कम्युनिष्ट पार्टीमा घुसेर बसेका थिए । केही पूर्व पञ्चहरु र परिवर्तनपछि कांग्रेस–कम्युनिष्ट पार्टीमा ओत लाग्न आएका द्वैध चरित्र भएकाहरु लोकतान्त्रिक व्यवस्थाको उदारताको फाइदा लिँदै अहिले सक्रिय राजतन्त्रको वकालत गरिरहेका छन् । आन्दोलन पनि अरे ? के का लागि भन्दा आफ्नो हक–अधिकारका लागि होइन । सामन्तवादको अवशेष चिहानमा मिल्काइएको राजतन्त्रको सिनो ब्यूताउनु प¥यो भनेर । उनीहरुकै परिभाषामा पनि राजाले त माग, आन्दोलन गर्दैनन्÷गराउँदैनन् । राजाज्ञा–आदेश कानून हुने राज परम्परामा हुकुम प्रमाङ्गी पो गर्दछन् त राजाले । जुन कुरा अबको दुनियाँमा त्यो पनि चिहानमा पुगेको, कुहिएको, सडिसकेको राजतन्त्रको भूत ब्यूताएर सक्रिय राजशाहीको परिकल्पना भनेको स्वस्थ दिमागको उपज होइन, हुन सक्दैन ।

अहिले एकखाले राजावादीहरु राजतन्त्रको वकालत गरिरहेका छन् भने अर्कोखाले राजावादीहरु राजसंस्थाको पुनस्र्थापना भनिरहेका छन् । राजतन्त्रमा राजाको प्रत्यक्ष शासन नायकन्व हुन्छ भने राजसंस्थाले जनताबाट निर्वाचित प्रतिनिधि मार्फत शासनसत्ता चलाउने र आफू संवैधानिक परिधिभित्र बस्ने हुन्छ । संस्था भनेको बिधि–बिधान, नियम–कानून अनुसार चल्छ भने राजतन्त्र भनेको हुकुम, आदेश, मर्जीबाट चल्छ । त्यहाँ शासकलाई कुनै नियम–कानून लाग्दैन । कुनै अदालत वा न्यायिक निकायमा कुनै उजुर बाजुर गर्न पाइँदैन, लाग्दैन । अब यी दुईखाले राजावादीहरुले कस्तो रजाशाही मागेका हुन् ? राजतन्त्र त २०४६ सालको आन्दोलनले पञ्चायती व्यवस्था ढालेसँगै सकियो । ०४६ को राजनीतिक परिवर्तनपश्चात नेपालमा संवैधानिक राजसंस्था स्थापित भयो । आफ्नै दाजु वीरेन्द्रको वंश विनास हत्याको जनआरोप खेपीरहेका ज्ञानेन्द्र शाहले व्यापक जनविरोध हुँदाहुँदै पनि राज्य सहायक हुँदै संवैधानिक राजसंस्थाको स्थानमा बस्न भने पाएकै हुन् । तर, उनमा राजा भएको एकाध वर्षमै आफ्ना स्वर्गीय पिता महेन्द्रको जस्तो सक्रिय राजतन्त्रको हुकुमी शासक हुने भूत सवार भयो र नेपालबाट निरंकुश राजतन्त्र सधैँका लागि गयो ।

स्वाभिमानी महान नेपाली जनताको कठोर संघर्ष र नेपाल आमाका हजारौं वीर शहीदहरुको उच्च बलिदानबाट प्राप्त संसारकै उच्चतम् शासन प्रणाली लोकतान्त्रिक गणतन्त्र मुठ्ठीभर सामन्तका दलाल, दासहरले चाहँदैन हट्ने त कुरै छाडौं हल्लिँदा पनि हल्लिँदैन । अँ यो व्यवस्थालाई सञ्चालन गर्ने स्थानमा बसेका वर्तमानमा लोकतान्त्रिक विधिबाटै सत्तामा पुगेकाहरुको आचरण र व्यवहार सच्चिएन भने जनमुखी कार्यक्रमहरु ल्याइएन भने भ्रष्टाचारको दल–दलबाट मुलुकलाई निकास दिइएन भने विगतदेखि वर्तमानसम्म सत्तामा पुगेकाहरुले गरेको भ्रष्टाचारको छानविन गरी दोषीलाई कारवाही गरिएन भने आगामी निर्वाचनमा त्यस्तालाई जनताले चुनावको मैदानमै दण्डित गर्नेछन् । उनीहरुलाई चुनावबाटै पाखा लगाउने, हटाउने प्रबन्ध पनि यही लोकतन्त्रमा मात्र हुन्छ । कुनै एउटा व्यक्ति वा परिवार वा पार्टीको अधिनायकवादी शासनमा त्यस्तो शासकलाई विधिको माध्यमबाट हटाउन सकिन्न । हटाउनु परे संघर्ष गर्नुपर्छ, शासक दमनमा उत्रन्छ र रक्तपात हुन्छ । अनि कोही खराब भयो भने हटाउन पाउने संवैधानिक, कानूनी प्रावधन र आवधिक निर्वाचनको प्रबन्ध भएको मुलुकमा हटाउनै नमिल्ने अधिनायकवादी शासक किन चाहिएको होला ? २१औं शताब्दीका केही नेपालीलाई चाहिँ ?

लोकतन्त्र भनेको जनताद्वारा जनताका लागि जनताले गर्ने शासन अर्थात् सभ्य मानिसले सभ्यहरुबाट चुनिएर सभ्यमाथि नै शासन गर्ने प्रणाली हो । कुनै व्यक्ति, वंश–परिवार, एक दलीय वा सैनिक तानाशाही अधिनायकवादमा असभ्य मान्छेले सभ्य लगायत सबैमाथि शासन गर्दछ । लोकतन्त्रमा खराब मध्येको कम खराब मानिस मात्र शासन सत्तामा पुग्छ भन्ने मानिन्छ । किनकि खराबलाई जनताले चुन्दैनन्, रोज्दैनन्, खोज्दैनन्, छान्दैनन् र मान्दैनन् भन्ने मान्यता राखिन्छ । त्यसैले एकपटक पद–ओहदामा पुगेपछि जतिसुकै खराब र अयोग्य भए पनि उसको दर सन्तानलाई वंश परम्पराका आधारमा जन्मदै शासक मान्नुपर्ने दास परम्परालाइ आन्तसम्मान भएको स्वाभिमानी, चेतनशील मानिसले स्वीकार्नै सक्दैन । प्रत्येक नेपाली नागरिक राज्यको उपल्लो निकायमा पुग्न सक्ने खुल्ला अवसरको उपयोग, सदुपयोग गर्नेतर्फ लाग्दछ । न कि कुनै सामन्तको सन्तानको गुलाम हुन चाहन्छ । राजतन्त्रको आडमा जनतामाथि शोषण, दमन र उत्पीडन मच्चाउँदै आएको दरबारीय अभिजात्य वर्गको पृष्ठपोषक पञ्चायत अवशेषले बेला–बेला टाउको उठाउने गरेको छ । यो सब वर्तमान राजनीतिमा सक्रिय बुढा नेताहरुको बेढङ्गे पाराको उपज पनि हो । अब नयाँपुस्तालाई नेतृत्व हस्तान्तरण गरेर बुढो पुस्ताले अभिभावकीय भूमिका निर्वाह गर्न जति ढिला हुन्छ, त्यति नै जनतामा निराशा बढेर जानेछ । पुरानो पुस्ताले लोकतन्त्रका लागि संघर्ष ग¥यो, जेल–नेल, याता भोग्यो । यसका लागि धन्यवाद दिँदै लोकतन्त्रका लागि लडेका दलका नयाँ पुस्ताले नेतृत्व हस्तान्तरणका लागि अनेक काण्डहरुमा गन्हाइसकेको पुरानो पुस्ताका नेताहरुमा वैधानिक दवाब सिर्जना गरेर अघि बढ्नु पनि आजको अपरिहार्य आवश्यकता बन्दै गएको छ । नेता खराब भए नयाँ नेता जन्माउने हो । जनताले आफैं नेतृत्व लिने हो, कुनै सामन्तवादको अवशेष, चिहानमा सडेको सिनो बोकेर हिँड्ने होइन ।

शाह वंशका राजाहरुले कहिले–कहिले शासन गरे ?

(क) नेपाल एकीकरण हुनुअघि गोरखाका शाह वंशीय राजाहरूको शासन अवधि :

(१) द्रव्य शाह– वि.सं. १६१६ भाद्र २५ देखि १६२७ सम्म, (२) पुरन्दर शाह– वि.सं. १६२७ देखि १६६२ सम्म, (३) छत्र शाह– वि.सं. १६२७ देखि १६६३ सम्म असामयिक रूपमा ज्यान गुमाएका छत्र शाहले सात महिना मात्र राज गरे । यिनी निसन्तान भएकोले राम शाह राजा हुने अवसर पाएका थिए ।, (४) राम शाह– वि.सं. १६६३ देखि १६९३ सम्म, (५) डम्बर शाह– वि.सं. १६९३ देखि १७०१ सम्म, (६) कृष्ण शाह– वि.सं. १७०१ देखि १७०७ सम्म, (७) रूद्र शाह– वि.सं. १७०७ देखि १७२८ सम्म, (८) पृथ्वीपति शाह– वि.सं. १७२८ देखि १७७३ सम्म । पृथ्वीपति शाहको छोरा वीरभद्र शाह युवराज अवस्थामा नै निधन भएको र उनका भाइहरू पनि राजा बन्ने प्रभावशाली नदेखिएकाले उनी पछि नरभुपाल शाह राजा बनेका हुन् । (९) नरभुपाल शाह– वि.सं. १७७३ देखि १७९९ सम्म राजा बने ।

(ख) नेपाल एकीकरण पछिका शाहवंशीय राजाहरूको शासन अवधि :

द्रव्य शाहले गोरखा राज्य वि.सं. १६१६ भाद्र २५ मा स्थापना गरेका थिए भने यशोब्रम्ह शाहले लमजुङ राज्यको स्थापना गरेका हुन् । नेपालमा यसरी शाह वंशीय राजाहरूको उदय भएको थियो । बाइसे–चौबिसे राज्यलाई एकीकरण गर्ने अभियान चलाएपछि पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा नुवाकोट माथि आक्रमण शुरू गरी विजय भएपछि वि.सं. १८२५ मा इन्द्रजात्रामा कान्तिपुर विजय गरेपछि आधुनिक नेपालको निर्माण गरेका हुन् । यही वर्षदेखि शाह वंशीय राजाहरूको शासन अवधि शुरूवात मानिन्छ । (१०) पृथ्वीनारायण शाह– वि.सं. १७९९ – १८३१, (११) प्रताप सिंह शाह– वि.सं. १८३१ – १८३४, (१२) रणबहादुर शाह– वि.सं. १८३४ –१८५५, (१३) गिर्वाणयुद्ध वीरविक्रम शाह– वि.सं. १८५५ – १८७३ राजा गिर्वाणयुद्ध वीरबिक्रम शाहको पालामा नेपाल अंग्रेज युद्ध भएको थियो भने नेपाल सुगौली सन्धिमा हस्ताक्षर गर्न बाध्य भएको थियो । वि.सं. १८७२ मंसीर १९ मा सुगौली सन्धि हुँदा नेपालले आफ्नो एकतिहाई भू–भाग गुमाउन पुगेको थियो । (१४) राजेन्द्रविक्रम शाह– वि.सं. १८७३–१९०४ वि.सं. १९०३ भदौ ३१ गते कोत पर्व घटेको थियो । उक्त घटनापछि जङ्गबहादुर राणा सत्तामा आएका थिए, त्यही दिनदेखि नेपालमा १०४ वर्षको जहानीया राणा शासन शुरू भयो । (१५) सुरेन्द्रविक्रम शाहः वि.सं. १९०४–१९३८, (१६) युवराज त्रैलोक्यविक्रम शाह राजकुमार मै मृत्यु, (१७) पृथ्वी वीर विक्रम शाह– वि.सं. १९३८–१९६८, (१८) त्रिभुवन वीर विक्रम शाह– वि.सं. १९६८–२०११, (१९) महेन्द्र वीर विक्रम शाह– वि.सं. २०११–२०२८, (२०) वीरेन्द्र वीर विक्रम शाह– वि.सं. २०२८–२०५८, (२१) दीपेन्द्र वीर विक्रम शाह– तीन दिन अचेत अवस्थामा राजा घोषण गरियो र आफ्ना माता–पितासहित वंश विनास गरेको आरोप उनै दिपेन्द्रलाई लगाएर राज्य सहासक हुँदै त्यसपछि ज्ञानेन्द्र राजा बने । (२२) ज्ञानेन्द्र वीर विक्रम शाह– वि.सं. २०५८–२०६५÷०२÷१५ राजा बने र उनकै पालामा साढे चार सय वर्ष पुरानो राजतन्त्रको इतिहास समाप्त भयो ।

राजावादीबीच नै रडाको

साढे चार सय वर्ष पुरानो राजतन्त्रको इतिहास ज्ञानेन्द्रकै कुबुद्धिका कारण समाप्त भएको हुँदा उनीभन्दा असल पात्रको खोजी पनि राजावादीहरुले नै गर्न थालेका छन् । ज्ञानेन्द्रबाट राजतन्त्र जोगाउन नसकिने ठहर पूर्वपञ्चहरुको एक झुण्डले गर्दै आएको छ । उनीहरु पारस पनि राजा हुन लायक नभएको बुढो ज्ञानेन्द्रको पनि छवि जनतामा त्यति राम्रो नभएको हुँदा नाति हृदयन्द्रलाई राजा बनाउने अभियानमा लागेका छन् भने ज्ञानेन्द्रद्वारा पालित–पोषितहरु खेसिएको राजगद्दी ज्ञानेन्द्रलाई नै फिर्ता गराएर उत्तराधिकारीलाई जिम्मा लगाउनुपर्ने मत राखिरहेका छन् । यसका लागि राजावादीहरुले नेपालका कट्टर हिन्दूवादी संघ–संस्थाका मानिसका साथै पुजारी, पण्डित र धर्म गुरुहरुको सहारा खोजीरहेका छन् । उनीहरुलाई भारतीय संस्थापन र त्यहाँको हिन्दू जनमतको समर्थन रहने विश्वास रहिआएको छ ।
अझ राजावादीहरुको अर्को एउटा समूह त महेन्द्रका जेठा छोरा रबिन्द्र वीर विक्रम शाहका जेठा छोरा बबिन्द्र वीर विक्रम शाह जिवितै रहेको हुँदा राजाको असली हकदार यी साइँला राजा ज्ञानेन्द्र नभएर बबिन्द्र हुन् भनीरहेका छन् । बबिन्द्र भनेका राजा महेन्द्रका जेठी श्रीमती गीता गुरुङ्ग पट्टिका जेठा छोरा रबिन्द्रका पनि छोरा हुन् । रबिन्द्र जेठा, वीरेन्द्र माइला, ज्ञानेन्द्र साइला र धिरेन्द्र कान्छा छोरा हुन् महेन्द्रका । महेन्द्रले रबिन्द्रलाई राजकुमारको उपाधि पनि दिएको र महेन्द्र मर्दाखेरी रबिन्द्र काजकिरियामा समेत बसेको र रबिन्द्रका सन्तान जेठो हाँगो भएको हुँदा राजा उनैका छोरा बबिन्द्रलाई बनाउनुपर्ने भन्दै हिँडेको छ । शाह वंशीय राज परम्परा अनुसार राजाको जेठो छोरा राजा हुने चलन रही आएको छ । त्यहीकारण छोरा महेन्द्रको जेठो छोरा त रबिन्द्र नै हुन् अनि उनकै सन्तान राजा हुनुपर्छ भन्ने यो समूहको योजना छ ।

अर्को एउटा समूह त जगतप्रकाशजङ्ग शाहका जेठा छोरा नवीनप्रकाशजङ्ग शाह नै शाह वंशका असली हकदार हुन् भनेर झन् जोडतोड्ले प्रचार गरिरहेको छ । नवीनप्रकाशजङ्ग शाह भनेका रणबहादुर शाह वि.सं. १८३४–१८५५ का ब्याइते महारानी सुवर्णप्रभाका जेठो छोरा रणउद्दतको जेठो हाँगो हो । रणबहादुर शाहले बाग्मतिमा नुहाउँदै गरेकी तिरहुते बिधुवा बाहुनी कान्तावती झालाई अति नै मन पराएर रानी बनाउने प्रस्ताव गर्दा आफ्नो सन्तानलाई राजा बनाउने भएमात्र बिहे गर्ने भनेको र रणबहादुरले कान्तावतीको त्यो बाचा मानेको हुँदा तिनै तिरहुते ल्याइते बाहुनी पट्टिका गिर्वाणयुद्ध वीर विक्रम शाहलाई राजा बनाए । गिर्वाणले– वि.सं. १८५५–१८७३ शासन गरे । यसमा पनि रणबहादुरकी जेठी महारानी राजराजेश्वरी पट्टि छोरी मात्र भएका कारण माहिली रानी सुवर्णप्रभालाई बिहे गरेका थिए । माहिली रानी पट्टि रणउद्दत र शमशेर शाह दुई छोरा थिए । शमशेर शाहको सन्तानको बिषयमा केही भन्न सकिएन । तर, रणउद्दत शाहको जेठो हाँगो जगतप्रकाशजङ्गका जेठा छोरा नवप्नप्रकाशजङ्ग शाह अहिले पनि जिवितै छन् । उनैलाई राजा बनउनुपर्छ भन्ने राजावादीहरु पनि देखिँदैछन् ।

राजतन्त्र फर्किने सम्भावना छैन

नेपालमा राजतन्त्र फर्किने कुरामा केही पूर्वपञ्च र तिनले खोलेका पार्टीका कार्यकर्ता, केही बहुलठ्ठीपूर्ण लहडी मान्छे र नेपालको प्रजातान्त्रिक, लोकतान्त्रिक–आन्दोलनमा कुनै योगदान र भूमिका नभएका मानिसहरु जोडतोडले प्रचार गरिरहेका छन् राजा अहिले आइहाल्छन्, भोलि आउँछन् भनेर । राजा ज्ञानेन्द्र आफैं पनि राजा हुन्छु, मलाई राजा बनाऊ भनेर हिँडेका छैनन् । उनीमाथि अधिराजकुमार हुँदा रातो पासपोर्टको दूरुपयोग गरेर मूर्ति चोरी गरेको, नमिता–सुनिता हत्याकाण्ड, लागू औषध कारोबार, पिसकोर, छिन्ताङ्ग, टिम्बुरबोटे काण्ड, पत्रकार पदम ठकुराठीमाथि गोली प्रहार गर्ने जस्ता जघन्य अपराधमा भूमिगत गिरोह परिचाल गरेको र कतिपय घटनामा आफैं पनि संलग्न भएको संगीन आरोप लागेको छ ।

त्यतिमात्र होइन आफ्नै दाजु वीरेन्द्रको वंश बिनास हुनेगरी नारायणहिटी नरसंहार गराएर राज्य सहायक हुँदै सबै दोष जति दिपेन्द्रको टाउकोमा थोपरेर राजा समेत हुन सफल भएको अधिकांशजसो नेपाली जनताको बुझाई रहेको छ । दरबार हत्याकाण्ड कसले गरायो र दोषी को हुन् भन्ने बिषय अझै पनि रहस्यकै गर्भमा छ । आठ वर्ष राजगद्दीमा बस्दा पनि ज्ञानेन्द्रले नारायणहिटी हत्याकाण्डको छानबिन गरी दोषी पत्ता लगाउने काम नगरेका कारण शंकाको सुई उनैतिर सोझिएको आमसर्वसाधारणको सहज अनुमान छ । व्यापारी पृष्ठभूमि भएको, राजकाजभन्दा नाफा र कमाइमा रमाउने उनको पुरानै सोच र शैलीका कारण पनि उनी राजा बन्न लायक त छैनन् नै । थिएनन् पनि तर नियतीले उनलाई तीन बर्षको उमेरमा २००७ सालमा पहिलो पटक र ५४ वर्षको उमेरमा दोस्रो पटक २०५८ सालमा राजा भएका थिए । ज्ञानेन्द्र संवैधानिक र अधिनायकवादी सक्रिय राजतन्त्र चलाएर जनतामाथि घोर दमन गरेको सास्ती भोग्ने स्वतन्त्रताप्रेमी नेपाली जनताले भूलीसकेका छैनन् ।

अब रह्यो ज्ञानेन्द्रपछि उनका छोरा पारश शाहको । पारसले त म राजा बन्नका लागि जन्मेकै होइन भनेर सार्वजनिक रुपमै भनि सकेका छन् । उनी आफैं राजावादी होइन, नेपालवादी बन । यो वादी, ऊ वादीले विभाजन ल्याउँछ, सबै नेपालवादी बनौं देश बन्छ, म राजासाजा बन्ने होइन, मलाई यही लोकतन्त्रको स्वतन्त्रतामा इन्जोय गर्न देऊ भनिरहेका छन् । पारशको छवि, उनले विगतमा गरेका प्रविण गुरुङ्गको हत्या, लागूऔषधको प्रयोग, गुण्डागर्दी, लडाइँ–झगडाको के कुरा गर्नु र ? यस्तालाई राजा बनाउने सपना देखिरहेका छन् कठै राजावादीहरु । द्रब्य शाहको पालादेखि ज्ञानेन्द्रसम्म आइपुग्दा चार सय ६५ वर्र्ष लामो नेपालको राजतन्त्रले देशलाई अन्धकारको युगमा जनतालाई दास बनाएर राख्यो । यिनको पुर्खाको शासनकालमा मानिसहरुलाई जनावर जसरी हाटबजारका बिक्री गरिन्थ्यो । अरु देशमा विश्वविद्यालयहरु चार–पाँच सय वर्ष पहिलादेखि नै खुलेका थिए तर नेपालमा जनताका छोराछोरीले पढ्न पाउँदैन थिए । त्यो विभेद यिनैका पुखाले गरेका होइनन् र ?

सधैँ जालझेल, षडयन्त्र, दमन, शोषण, अन्याय, अत्याचारको भरमा शासनसत्ता टिकाउँदै आएको, द्रव्य शाहले राज्य हत्याएको बेलादेखि नै छिमेकी राजा रजौटाहरुमाथि चरम दमन, कोत पर्व, भण्डारखाल पर्व, अलौ पर्व, नारायहिटी पर्व जस्ता अनेकन आततायी घटना, परिघटना र रगतको आहालमा डुबेको नेपालको सामन्ती राजतन्त्रको पुनरागमनको वकालत दलाल र दास बाहेक कुनै पनि लोकतन्त्रवादी सभ्य नागरिकले गर्न सक्दनै, चाहँदैन । जनताको छोराछोरी आफै राज्यको सर्वोच्च निकायमा जनताबाट अनुमोदित भएर पुग्नसक्ने संवैधानिक प्रावधान हुँदाहुँदै आफूमाथि शासन गर्न अरु नै सामन्तको सन्तान चाहिन्छ भनेर उसको दासत्व स्वीकार गर्नेहरुका प्रति तीनको सोच, चिन्तन र चेतनास्तरकाप्रति दया गर्नु शिवाय अरु कै नै गर्न सकिन्छ र ?

राजतन्त्रलाई जस्ले हटायो, फिर्ता ल्याउन परे त्यसले मात्र ल्याउन सक्छ । त्यो भनेको नेपालको संसद् हो । संसदले चाह्यो भने केही परिवर्तहरु हुन सक्लान् । तर, त्यसका लागि राजावादीहरुले चुनावमा दुईतिहाई ल्याउनु अनि वैधानिक बाटोबाटै जे गर्नुछ, त्यही गरे भइगयो नि । किन यो सडकमा भद्दा नाटक मञ्चन गर्नु, गराउनु ।? लोकतन्त्रभन्दा उन्नत शासन प्रणाली दुनियाँमा कहीँकतै छैन । जनता सार्वभौम हुने शासकहरुले प्रत्येक पाँच वर्ष जनताबाट अनुमोदन भएर मात्र शासनसत्तामा बस्न पाउने व्यवस्थामा मात्र शासक जनतकाप्रति उत्तरदायी हुन्छ । स्वेच्छाचारी भयो, जनविरोधी काम ग¥यो भने अर्को चुनावमा जनताले पराजित गरेर दण्डित गर्न सक्छन् । तर, राजा महाराज स्वेच्छाचारी, अत्याचारी, प्रजातन्त्र विरोधी, अधिनायकवादी भएका अनेक उदाहरण हाम्रौ मुलुमा अनेकौं छन् । यस्तो अवस्थामा त्यस्तो शासकलाई हटाउन सक्ने कस्तो विधिको परिकल्पना गरेका छन् राजाका दासहरुले ?

तसर्थ, आजको विज्ञान र प्रविधिको आधुनिक युगमा पुरातन राजतन्त्रको सोच नै उपयुक्त छैन, होइन यो विकसित मष्तिस्कको उपज नै होइन । र नेपालमा चिहानमा पुगेको राजतन्त्रको बहाली कदापि सम्भन छैन, त्यसमाथि राजावादीहरुको सडकको आन्दोलनबाट त त्यो झन् असम्भव छ । जनताले त आफ्ना लागि आफैं संघर्ष गरेर अधिकार खोसेर लिएका हुन् । पूर्व राजाले आफू नार्गार्जुनर शितल निवासमा बसेर अरुले नै लडाइँ लडेर मलाई गद्दीमा राखिदिन्छन् भनेर असम्भव कुरामा मख्ख नपरेकै राम्रो । न त ज्ञानेन्द्रमा राजगद्दीमा बस्न पाउँ भनेर आन्दोलन गर्ने नैतिक हैसियत छ । उनले त्यो राजगद्दी पनि स्वाभाविक रुपमा प्रनप्त गरेका होइनन्, अपुतालिमा पाएका हुन् । अपुतालीमा (सित्तैमा) पाएको कुराको कुनै माया हुँदैन । त्यसैले नेपालमा राजतन्त्र फर्किदैन । यसको कुनै सम्भावना नै छैन । अँ बरु ज्ञानेन्द्रले पार्टी खोलेर लोकतान्त्रिक अभ्यास गर्दै जनताबाट अनुमोदित भए भने चाहिँ शासन सत्ताको सर्वोच्च स्थानमा पुग्नसक्ने सम्भावनालाई भने लोकतन्त्रमा नकार्न सकिन्न ।

साढे तीन दशक झापामा सक्रिय पत्रकारिता गरेका हुमागाँई नेपाल पत्रकार महासंघ झापाका पूर्व सभापति, नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य र झापा अध्यक्ष हुन् । हाल नेपाली कांग्रेस झापाको सचिव छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here