कोशीको समस्याको समाधान जनमत संग्रहबाट गर्न सुझाव

0
9

बिर्तामोड।

नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का स्थायी कमिटी सदस्य अनिल विरही ‘सि’ ले कोशी प्रदेशमा पहिचानका नाममा भइरहेको आन्दोलनप्रति सरकार गम्भीर हुनु पर्ने बताएका छन्

बिहीवार (आज) बिर्तामोडमा आयोजित संवाद कार्यक्रममा बोल्दै विरहीले सरकारले दमन गरेर पहिचानको आवाज दवाउन नसक्ने बताए । पहिचानको पक्षमा उठेको आवाजलाई कमजोर नठान्न सुझाउदै बिरहीले समस्या समाधानका लागि जनमत संग्रह गर्नुपर्नेमा जोड दिए । ‘दमन गरेर हुन्न, जनमत संग्रहबाट फैसला गरौं’ बिरहीले भने ‘जनमतको सवैले कदर गर्नुको विकल्प छैन ।’

अर्को प्रसंगमा उनले संघीयता मात्र समाधान नभएको भन्दै समाजवादी संघीयताको आवश्यकता औल्याए । मुलुकमा यही अवस्था रहे राजतन्त्र र हिन्दू राज्य फर्कने बिरहीले दावी गरे । अमेरिकासहितका शक्ति राष्ट्रको चलखेलले नेपालको संघीयता संकटोन्मुख रहेको भन्दै उनले भने ‘यही अवस्था रहे राजतन्त्र फर्कदैन भन्न सकिन्न ।’ विरहीले नेपाली बिशेषताको वैज्ञानिक समाजवादको विकल्प नरहेको बताए ।

पार्टीका केन्द्रिय सदस्य तथा मेची इञ्चार्ज सुमन सिंह पौड्यालले कोशी प्रदेशमा शान्ति खल्वल्याउन विभिन्न प्रयत्न भइरहेको बताए । पौडेलले पहिचानको आन्दोलन दवाउने प्रयास, धर्मका नाममा उठेका बिषय, राजतन्त्र पक्षधरको गतिविधि, एमसीसीको प्रभावले प्रदेशलाई अशान्त बनाउने प्रयास भएको बताए । उनले चीनलाई दवावमा राख्ने रणनीतिमा अमेरिका, भारतलगायतका राष्ट्र अघि वढेको दावी गरे ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य प्रशान्त, पाँचथर इञ्चार्ज सन्तोष, बिनोद, भरत, सौगात, डा. डिल्लीराज रिजाल लगायतका नेताको सहभागिता थियो । मुलुकको वर्तमान परिस्थिति र निकाशको बाटो बिषयमा भएको छलफलको संयोजन संवाद समूह झापाले गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here