व्यवसायिक आलु खेतीमा युवाको आकर्षण, अधिकारी दाजुभाइले फलाए २० लाखको आलु

0
9

सुरेन्द्र भण्डारी,
सुरुङ्गा ।

कनकाइ–४ का भीमप्रसाद अधिकारी र तीर्थ अधिकारीले ६ विगाह क्षेत्रफलमा व्यवसायिक आलु खेती गरेका छन् ।

अधिकारी दाजुभाइले भारतको किसनगञ्ज जिल्ला दिघलबैंक निवासी रवीबुल हकसँग साझेदारी गर्दै शिवसताक्षी–१०मा आलु खेती गरेका हुन् । दुई महिना अघि कुफ्री सिन्दुरी नामक आलु लगाएका अधिकारी दाजुभाइ अहिले आलु खन्न र बिक्री गर्न व्यस्त छन् । तर, भारतमा उत्पादित आलु नेपालमा भित्रिएसँगै बजार अभावले सस्तो मूल्यमा आलु बिक्री गर्न बाध्य भएको भीमप्रसादले बताए । करिव १००० क्वीन्टल आलु उत्पादन गर्ने लक्ष्यसहित आफूहरुले खेती गरेको भए पनि यो वर्ष आठ सय क्वीन्टल आलु बिक्री गर्न सकिने तीर्थ अधिकारीको भनाइ छ ।

हुन त अधिकारी दाजुभाइले यसअघिका वर्ष पनि कनकाई र शिवसताक्षी नगरपालिकामा व्यवसायिक आलु खेती गर्दै आएका थिए । गतवर्ष दुई विगाह क्षेत्रफलमा आलु खेती गरेका उनीहरुले आलु खेतीबाट राम्रो मुनाफा गरेसँगै यो वर्ष ६ विगाह क्षेत्रफलमा आलु लगाएका हुन् ।

झण्डै १४ विगाह जमिन लिजमा लिएर अग्र्यानिक र व्यवसायिक आलु उत्पादनमा लागेका अधिकारी दाजुभाइले भारतीय नागरिकसंग साझेदारीमा आलु खेती गरेका हुन् । नेपाली बजारमा आलुको बीऊ नपाइने भएसंगै अधिकारी दाजुभाइले भारतीय नागरिक हकको सहयोग लिँदै भारतको पटनाबाट ५० क्वीन्टल आलुको बीऊ झिकाएर आलु खेती शुरु गरेका थिए ।

दुई महिना अघि रोपिएको आलु अहिले खन्न शुरु गरिएको र खन्दाखन्दै चारसय बोरा आलु बिक्री गरिसकिएको भीमप्रसादको भनाइ छ । आज पनि आलु खन्नका लागि ३०÷३५ जना मजदुर लगाएका छौं– अधिकारीले भने– ‘आज मात्रै ५० बोरा आलु तयार हुन्छ ।’

शुरुमा आलु हामीले बजारमा निकाल्दा प्रतिकेजी ५० रुपैयाँका दरले बिक्री गर्दै आएपनि अहिले भारतमा उत्पादित आलु नेपाल भित्रिएसंगै आलुको भाउ घट्यो– भीमप्रसादले भने– ‘बजारको सुनिश्चितता नहुँदा हामी जस्ता नेपाली किसानसँधै मारमा पर्छाैं ।’

आलु नेपालको चौथो खाद्य बाली हो । तर, नेपाल आलुमा पनि आत्मनिर्भर छैन– अधिकारीले भने– भारतीय आलु नेपाल भित्रिएसँगै हामी किसानले उत्पादन गरेको आलुको भाउ सस्तो हुन्छ । अनि खेती गर्न को रुचाउँछ ? आलुको बीऊ खरिद गर्दा नै महंगो मूल्य पर्न जान्छ, यहाँ सिञ्चाईका लागि पनि पर्याप्त सुविधा छैन । डिप बोरिङ र मोटरको सहायताले सिञ्चाई गर्नु पर्छ, जसकारण आलुको भाउ पनि महंगो पर्छ ।

सरकारले आलुको बीऊसहित सिञ्चाईमा सहजता उपलब्ध गराउने हो भने पर्याप्त आलु उत्पादन गर्न सकिने रहेछ– अधिकारीले भने– हामीले ६ विगाह क्षेत्रफलमा आलु खेती गर्दा १० लाख रुपैयाँ लगानी गरेका छौं । यसबाट हामीले कम्तीमा २० लाख रुपैयाँको हाराहामीमा आम्दानी गर्छाैं । तर, भारतीय आलु नेपालमा आयात भएसंगै आलुको बजार मूल्य घट्दा हामीलाई केही घाटा हुन्छ, तर आलु खेतीमा साँवा नै नोक्सान हुने गरी घाटा चाहिँ हुँदैन ।

दुई महिनामा दोब्बर आम्दानी

कृषि पेशामा भविष्य नदेखेर दैनिक सयौं युवा बैदेशिक रोजगारका लागि अहिले पनि खाडी लगायतका मुलुकमा गइरहेका छन् ।

कृषि कर्म गर्नेले पनि भने जस्तो आम्दानी गर्न नसकेको भन्दै मन खिन्न बनाउँछन् । तर, सुरुङ्गाका अधिकारी दाजुभाइले दुई महिना अघि थालेको व्यवसायिक आलु खेतीबाट लगानीको दोब्बर आम्दानी गर्न सकिने बताएका छन् । आलु खेतीका लागि १० लाख खर्च गरेका अधिकारी दाजुभाइले खर्च कटाएर दुई महिनामा नै कम्तीमा १० लाख रुपैयाँ आम्दानी गर्ने बताए । आलु रोपेको ५६ दिनमा नै फल निकाल्न मिल्ने कुफ्री सिन्दुली प्रजातिको आलु रोपेका अधिकारी दाजुभाइ अहिले आलु खन्दै बिक्री गर्न व्यस्त छन् ।

तीन भागको एक भाग आलु खनेर बिक्री गर्दै झण्डै साँवा रकम निस्किएपछि अब मजदुर ज्याला र नाफाको हिसावमा उनीहरु पुगेका छन् । करिव १४ विगाह जमिन मध्ये अन्य जमिनमा अधिकारी दाजुभाइले तोरी, मकै, बदाम, सुठुनी, टमाटरलगायतका नगदेबाली लगाएका छन् । जसबाट पनि मनग्य आम्दानी लिन सकिने उनीहरुले अपेक्षा गरेका छन् ।

कनकाईका युवा व्यवसायी लीला चिमरियासहितका केही युवाको जमिन लिजमा लिएर व्यवसायिक खेती गरेका अधिकारी दाजुभाइले पहिलो वर्ष नै मनग्य आम्दानी गर्न लागेका हुन् । आलुले उचित मूल्य पाउने हो भने अधिकारी दाजुभाइले खेती शुरु गरेको दुई महिनामा नै नेपालमा नै बसेर सोचेभन्दा राम्रो आम्दानी गर्न लागेका हुन् ।

बीऊ भित्र्याउन झमेला

नेपालमा आलुको बीऊ नपाए पनि गुणस्तरीय बीऊको खोजीमा भारत जानुपरेको भीमप्रसाद बताउँछन् । पटनामा आलुको बीऊ खरिद गरेसंगै ५० क्वीन्टल आलुको बीऊ, किसनगञ्जसम्म आयो– अधिकारीले भने– आलुको भन्सार नहुनेरहेछ, त्यसपछि हाम्रा दुःखका दिन शुरु भए ।

शुरुमा हामी आलुको भन्सार गर्न मेची भन्सार कार्यालय काँकरभिट्टा गयौं, काँकरभिट्टाले आलुको भन्सार नहुने भन्दै हामीलाई फर्कायो– उनले भने– ‘त्यसपछि काठमाडौंको क्वारेन्टाइनमा पठाएर त्यसको प्रक्रिया पूरा गर्न झण्डै १५ दिन लाग्ने र ५० क्वीन्टल आलु ल्याउन ५७ हजार रुपैयाँ राजश्व लाग्ने बताएपछि हामी निराश भयौं’– भीमप्रसादले थपे– आलु रोप्न ठीक्क पारेको ठाउँ बिग्रने भएपछि हामी प्रहरी प्रशासनको ढोका ढक्ढक्याउन पुग्यौं तर, कानूनी अड्चन देखाएर प्रशासन हामीबाट पन्सियो । पछि झापा गाउँपालिकाको सिफारिसमा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको समेत सहयोगमा आलुको वीऊ ल्याएर रोपेका हौं ।

नेपालमा आलुको बीऊ नपाएपछि भारतबाट बीऊ ल्याउँदा दिघलबैंक बोर्डरमा नौं दिनसम्म राख्नु परेको दुःखेसो पोख्दै भीमप्रसादले भने– हामी कृषि प्रधान देशका किसानलाई चाहिने न मलखाद सरकारले उपलब्ध गराउन सक्छ न त बीऊ नै । भारतबाट खरिद गरेर ल्याएको बीऊ समेत नेपाल भित्र्याउन नदिएर नौ दिनसम्म बोर्डरमा अलपत्र अवस्थामा आलुको बीऊ, राख्नुपर्दाको पीडा भनिसाध्य छैन ।

झापामा १५ हजार नौ सय ८५ हेक्टरमा आलु खेती

झापामा १५ हजार नौं सय ८५ हेक्टर क्षेत्रफलमा आलु खेती हुने गरेको जिल्ला कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । गतवर्षको तुलनामा यो वर्ष आलु खेतीको क्षेत्रफल बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए । गतवर्षको तुलनामा यो वर्ष आलु खेतीको क्षेत्रफल २०५ हेक्टर बढेको हो । गत वर्ष जिल्लामा १५ हजार सात सय ८० हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको थियो ।

गतवर्ष झापा जिल्लामा दुई लाख ५७ हजार दुई सय २४ टन आलु उत्पादन भएको थियो । झापामा कार्डिनल, जनकदेव, कुफ्री सिन्दुली लगायत जातका आलुखेती बढी हुने गरेको छ । झापा जिल्लाको कनकाई , अर्जुनधारा र बिर्तामोड नगरपालिका सहित बुद्धशान्ति, कमल, गौरीगञ्जमा धेरै आलु खेती हुने गरेको छ ।

झापामा आलु प्रबद्र्धन कार्यक्रम सञ्चालनमा, आयात भने बढ्यो

झापा जिल्लामा आलु प्रबद्र्धन कार्यक्रम सञ्चालनमा छ । तर, पूर्वी नाका काँकरभिट्टाबाट गतवर्षको भन्दा यो वर्ष धेरै आलु भित्रिएको छ । चालूआर्थिक वर्षमा एक करोड ३४ लाख ५५ हजार चार सय ५५ केजी आलु आयात भएको मेची भन्सार कार्यालय काँकरभिट्टाको तथ्याङ्कमा उल्लेख छ ।

गतवर्ष काँकरभिट्टा एक करोड २१ लाख ६४ हजार २२ केजी आलु आयात भएको थियो । गत वर्षको तुलनामा १२ लाख ९१ हजार चार सय ३३ केजी आलु बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

काँकरभिट्टा नाकाबाट भारत, बङ्गलादेश र भुटानबाट आलु आयात हुने गरेको छ । जसमध्ये भारतबाट सबैभन्दा बढी आलु आयात हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here