झापामा ‘प्रेस सेन्टर नेपाल’को नालीबेली

0
12

मैले २०६० सालबाट पत्रकारिता शुरु गरेको हुँ । निरन्तर आज पनि म पत्रकारिता मै सक्रिय छु । आजभन्दा २० वर्षअघिको कुरा हो । जुनबेला अहिले जस्तो पत्रकारिता गर्न सहज थिएन । प्रविधिको विकास थिएन, भएकामा पनि पहुँच थिएन । कम्प्युटर र इन्टरनेटको पहुँज नभएका कारण पत्रकारिता गर्न निक्कै अप्ठेरो परिस्थिति थियो । म धरानबाट प्रकाशित हुँदै आएको त्यसबेलाको लोकप्रिय पत्रिकाको रुपमा पूर्वमा चिनिएको ‘ब्लाष्ट टाइम्स दैनिक’को बिर्तामोड शाखाबाट पत्रिका वितरकको रुपमा काम गर्थें ।

करिब डेढ बर्ष जति पत्रिका वितरककै रुपमा मैले काम गरें । प्रविधिको पहुँच नभएका कारण त्यसबेला हातले ‘ए फोर’ साइजको (फोटोकपी) पेपरमा विज्ञापन वा समाचार लेखेर फ्याक्स गरिन्थ्यो । कुनै समवेदना वा फोटो पत्रिकामा छाप्नु परे पत्रिकाको कार्यालयसम्म आफै जानु पथ्र्यो कि त गाडीमा पठाउनुुपथ्र्याे । भोलिपल्ट पत्रिकासँगै उक्त फोटो लिएर सम्बन्धित व्यक्तिलाई फिर्ता दिनुपर्ने अवस्था थियो ।

त्यसताका बिहान धरानबाट गाडीमा पठाइएको पत्रिका बिर्तामोडमा जिम्मा बुझेर इलाम, पाँचथर र ताप्लेजुङ जाने पत्रिका गाडीमा पठाएर अन्य वितरकलाई पत्रिका दिएर वितरण व्यवस्थापनको काम सम्पन्न गर्थेँ अनि आफ्नो रुटमा पत्रिका वितरण शुरु गर्थेँ । बिहान १० बजेसम्म साइकलमा पत्रिका वितरण गरेर घर आएर खाना खाएपछि दिउँसो अफिस गएर पैसा उठाउने कार्य नै मेरो दैनिकी थियो ।

त्यतिबेला करिब डेढ बर्ष जति बिर्तामोडका प्रत्येक गल्लीमा पत्रिका वितरण र पैसा उठाउने काम गरियो । यसैक्रममा मेरो मेहनतको कदर गर्दै वितरकबाट व्यवस्थापकका रुपमा जिम्मेवारी मिल्यो । व्यवस्थापकको जिम्मेवारी सम्हाल्दै एउटा÷दुईवटा गर्दै समाचार लेख्न शुरु गरेँ । त्यसबेला पत्रिकामा आफूले लेखेको समाचारमा आफ्नो नाम छापिँदा निकै खुशी लाग्थ्यो । बिर्तामोडबाट प्रकाशन हुने पूर्वको अर्को लोकप्रिय पत्रिका पूर्वाञ्चल दैनिकमा पनि समाचार लेख्ने गर्दथेँ । उक्त पत्रिकामा समाचारको अन्तिममा मेरो नाम राखेर समाचार प्रकाशन हुन्थ्यो । आफ्नो नाम प्रकाशन हुँदा निकै खुशीको महशुस हुन्थ्यो । अझ समाचारमा आफ्नो नाम छापिएको छ भने अझ धेरै समाचार खोज्ने लेख्ने प्रेरणा जागेर आउथ्यो ।

यसैक्रममा वितरकहरुको हकहितका लागि झापामा कुनै संगठन थिएन । २०६१ सालतिर वितरणको हकहितका लागि संगठन चाहिन्छ भन्ने महशुस गरेर झापामा पहिलो पटक वितरक संघ गठन गरियो । वितरक संघको पहिलो समितिको अध्यक्षमा पारश तिम्सिना (स्व.), उपाध्यक्षमा पुष्प बराल र म सचिवको भूमिकामा थिएँ । कुनै पनि वितरक माथि हुने शोषण, दमनबिरुद्ध आवाज उठाउने वितरक संघको मुख्य उद्देश्य थियो । सांगठनिक रुपमा हामीले पनि वितरकहरुको हकहितका लागि कार्य गर्न शुरु गरिसकेका थियौं । सोही क्रममा पारश तिम्सिना माओवादीमा लागेर हराएपछि पुष्प बराल र मैले नै वितरक संघको कार्यसम्पादन ग¥यौं ।

करिब दुई वर्षपछि पारश सम्पर्कमा आए । उनी र म बीच छलफल भयो । छलफलको निष्कर्षपछि पारश तिम्सिना हालको प्रेस सेन्टर नेपाल तथा तत्कालिन क्रान्तिकारी पत्रकार संघ झापाको अध्यक्ष हुने र म अखिल नेपाल सञ्चार छापाखानाको मेची संयोजकमा रहेर काम गर्ने टुंगोमा पुग्यौं । त्यसै अनुसार हाल अखिल नेपाल टे«ड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष भूपाल सापकोटाको प्रमुख आतिथ्यमा नौ सदस्य समिति गठन भएको थियो । पार्टीका जनवर्गीय संगठनमा नेतृत्व लिनेको कमी भएकै कारण पारशजी क्रान्तिकारी पत्रकार संघ झापाको अध्यक्षमा रहने र म अखिल नेपाल छापाखाना मजदुर संघको मेची संयोजकमा रहने गरी कार्य विभाजन गरियो ।

काठमाडौंमा पार्टीको घटक संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ संघीय परिषद् बैठक थियो । पारशजीले जान नभ्याउने भएपछि उक्त बैठकमा म क्रान्तिकारी पत्रकार संघ झापा र अखिल नेपाल सञ्चार छापाखाना मेची दुबै संगठनको प्रतिनिधित्व गरेर काठमाडौं गएको थिएँ । क्रान्तिकारी पत्रकार संघ झापा र छापाखानाका कर्मचारीका समग्र समस्याका बिषयमा बैठकमा झापाबाट मैले विस्तृत रिपोेर्टिङ गरेको थिए ।

काठमाडौंको खन्ना गार्मेन्टमा भएको दुई दिने बैठकमा समग्र झापाको पत्रकारिता र मेचीका छापाखाना मजदुरका समस्या र समाधानका बिषयमा छलफल समेत गरिएको थियो । त्यसबेला माओवादी शान्ति प्रक्रियामा नआइसकेको अवस्था भएकाले हामीले भूमिगत रुपमै कार्य शुरु गरिसकेका थियौं । त्यस समयमा माओवादी भनेपछि आतंककारी घोषित गरेर राज्यले सिँधै गोलीसम्म ठोक्ने आदेश तथा नियन्त्रण गर्ने अवस्था थियो । धेरै जोगिएर मात्र संगठनहरुमा कार्यसम्पादन गर्नुपर्ने अवस्था थियो ।

त्यस समय माओवादीको मुखपत्र जनविद्रोह पत्रिका लिएर दयाराम दाहाल (शुलभ) बिर्तामोड आउनुहुन्थ्यो । केही समयको अन्तरालमा सोहीक्रममा उहाँसँग मेरो दैनिक भेट हुन थाल्यो । उहाँसँग कुरा गर्दा माओवादी शोषित पीडितको हकअधिकारको लागि जनयुद्ध गरिरहेको भन्ने कुराले मलाई पनि प्रभावित बनायो । त्यस समयदेखि नै म सांगठनिक रुपमा अझ प्रतिबद्ध बन्न पुगे ।
पारशपछि दयाराम दाहाल क्रान्तिकारी पत्रकार संघ झापाको अध्यक्ष हुनुभयो । म भने अखिल सञ्चार छापाखानाकै जिम्मेवारीमा रहंँ । दयाराम अध्यक्ष भएको बेला राज्यपक्षबाट हामी माथि हुने आक्रमणका घटनाहरु बढिरहेका थिए । त्यसकारण हामीले जिल्ला प्रशासन कार्यालय झापामा सुरक्षा गरी पाउँ भनेर ज्ञापनपत्र समेत बुझाएका थियौं ।

२०६२ पछि माओवादी शान्ति प्रक्रियामा आयो । केही समयपछि नेपाल पत्रकार महासंघ झापाको निर्वाचन भयो । तारामणि सापकोटाले प्रेस चौतारी झापाको निर्णयबिरुद्ध बागी उम्मेदवारी दिएर मोहनकाजी न्यौपानेसँग पराजय भए । सापकोटालाई बागी उम्मेदवारी दिएको भन्दै चौतारीले कारवाही गर्ने कुरा गर्दागर्दै क्रान्तिकारी पत्रकार संघमा आए । क्रान्तिकारी पत्रकार संघ झापामा नेतृत्व गर्न सक्ने पत्रकारको कमी महशुस गरेर तत्कालिन पार्टीसँगको छलफलपछि सापकोटालाई क्रान्तिकारी पत्रकार संघ झापाको अध्यक्षको जिम्मेवारी दिइएको थियो । तारामणि कै कार्यकालदेखि म पनि अखिल नेपाल सञ्चार छापाखानाको जिम्मेवारी झापाली बिर्खे भन्ने साथीलाई दिएर क्रान्तिकारी पत्रकार संघ झापाको कार्यसमिति सदस्य भएँ ।

सापकोटा अध्यक्ष भएपछि अझ संगठन बिस्तारलाई व्यापक बनाइयो । सापकोटा कै अगुवाईमा झापामा स्व. देवकुमार आचार्य अर्थात डी.कौडिन्य स्मृति पत्रकारिता पुरस्कारको स्थापना भयो । प्रत्येक बर्ष उक्त पुरस्कार एक जना पत्रकारलाई वितरण गर्न थालियो । उक्त पुरस्कार वितरण कार्यलाई संगठनले निरन्तरता दिँदै आएको छ ।

सोही क्रममा क्रान्तिकारी पत्रकार संगठन हालको प्रेस सेन्टरमा मैले पनि कोषाध्यक्ष, सह–सचिव र सचिवको जिम्मेवारी पूरा गरेँ । निवर्तमान सचिव छु अहिले । तर, संगठनको कुनै जिम्मेवारीमा नरहेको पनि जानकारी गराउन चाहन्छु । समय दिन नसक्ने भएकाले पनि मैले संगठनको कुनै जिम्मवारी लिन नचाहेको हुँ ।

ज्यानको बाजी थापेर निर्माण गरिएको तत्कालीन क्रान्तिकारी पत्रकार संघ हाल प्रेस सेन्टरमा धेरै नेतृत्व आए÷गए । तर, मेरो निरन्तरता अझै पनि रहिरहेको छ । काम गर्नलाई पद र जिम्मेवारी नै चाहिन्छ भन्ने मलाई लाग्दैन । पछिल्लो समय संगठन स्थापनापछि जन्मिएका मित्र तथा भाइहरु पनि संगठनमा आबद्ध छन्, नेतृत्वमा पुगेका छन् । तर, संगठन कसरी स्थापना भयो त्यसपछि आउनेहरुलाई थाह छैन ।

पहिलो अध्यक्ष पारश तिम्सिना भन्नुभन्दा पहिले संगठन कसरी स्थापना भयो भन्न सक्ने अवस्था अहिलेसम्म देखिएको छैन । धेरै संघर्षपछि स्थापना भएको क्रान्तिकारी पत्रकार संघ हाल प्रेस सेन्टर नेपाल झापामा नेतृत्वका लागि तछाड–मछाड गर्नेको कमी छैन ।

तर, संगठनका गतिविधिलाई चुस्त–दुरुस्त गर्न अझै पनि सकिएको खासै देखिँदैन । कुनै पनि पार्टी होस् या संगठन होस् स्थापना गर्न ठूलो संघर्ष हुन्छ । तत्कालीन क्रान्तिकारी पत्रकार संघमा धेरै नेतृत्व आए÷गए तर त्यस बिषयमा खोज अनुसन्धान गरेनन् । जो नेतृत्वमा आए आफ्नो स्वार्थ पूरा गर्न आए जस्तो मात्र देखियो । कसैलाई पत्रकार महासंघको नेतृत्वमा जानु थियो त कसैलाई संगठनभन्दा पनि आफ्नो स्वार्थ पूरा गर्नु मात्र देखियो ।

जसरी पार्टी दह्रो हुँदा सांगठानिक संरचना दह्रो थियो, संगठनमा सदस्यता लिनेको लर्को थियो । अहिले पार्टी कमजोर हुँदै जाँदा संगठन पनि कमजोर हुने अवस्था छ । त्यसलाई बलियो बनाउन आवश्यक छ । तर, त्यसलाई चलायमान बनाउनभन्दा पनि नेतृत्व पक्षले आफू मात्र दह्रो बन्ने, आफू अनुकूल संगठन चलाउने, स्वार्थ पूर्तिका लागि संगठनको प्रयोग गर्नेप्रयास गरेकोे देखिन्छ । संगठनको सदस्य बढाउने नाममा जसलाई पायो त्यसलाई सदस्यता दिएर संगठनको गरिमा गिराउने कार्यले पनि संगठन अझ कमजोर हुँदै गएको छ । त्यसलाई अहिलेको संगठनको नेतृत्व पक्षले संगठनलाई चलायमान बनाउँदै संगठनका गतिविधिलाई व्यापक बनाउन आवश्यक छ । कम्युनिष्ट विचारधाराका जनवर्गीय संघ–संगठनमा राम्रा राम्रा बिषयमा छलफल र निर्णय हुने गर्छ । तर, त्यसको कार्यान्वयनमा समस्या हुने गरेको छ । छलफल धेरैको गर्ने निर्णय एउटाको गरेर त्यसलाई पूरा गर्नुपर्छ ।

यो लेख तयार गर्नुको मुख्य उद्देश्य भनेको तत्कालीन क्रान्तिकारी पत्रकार संघ हालको प्रेस सेन्टर नेपाल झापामा कसरी स्थापना भएको थियो । अहिले संगठनमा आबद्ध नयाँ धेरै साथीहरुलाई थाह छैन तथा नहुन पनि सक्छ त्यसबारे जानकारी दिन पनि हो । बिर्तामोडबाट १७ वर्ष ब्लाष्ट टाइम्स दैनिकमा कार्यरत म कोरोना महामारीसँगै छापा सञ्चार संस्था तहसनहसको अवस्थामा पुगेपछि समय अनुसारको पत्रकारिता शुरु नगरे पत्रकारिताबाट पलायन हुने महशुस गरेर मैले एउटा टिम तयार गरेँ । जुन टिमसँगको छलफल र सहकार्यपछि समायानुकूल डिजिटल मिडिया सञ्चालन शुरु गरेँ । तीन वर्षअघि शुरु भएको डिजिटल पत्रकारिता धेरैको साथ सहयोग र मायाका कारण राम्रैसँग सञ्चालन गरिरहेको छु ।

पत्रिका वितरकबाट शुरु भएको मेरो पत्रकारिता अहिले समायानुकूल डिजिटल पत्रिका शब्दपत्र प्रकाशन प्रा.(लि.)द्वारा सञ्चालित शब्दपत्र डटकमको सञ्चालक तथा सम्पादकको रुपमा पत्रकारितालाई निरन्तरता दिँदै आएको छु । अहिलेको पत्रकारिता त्यतिबेला जस्तो आज लेखेको समाचार भोलि पत्रिकामा छापिने अवस्था छैन । प्रविधिको सहजता र प्रयोगसँगै अहिले जतिखेर समाचार तयार हुन्छ त्यति बेलै मिडियामा प्रकाशन गर्न सकिने अवस्थाको विकास भएको छ । त्यतिबेला पत्रिका, रेडियो, टीभीमा मात्र सीमित पत्रकारिता अहिले मल्टिमिडियामा परिणत भएको छ । सबैको हात–हातमा भएको मोबाइल फोनमा छिनभरमा पढ्न, हेर्न र सुन्न सक्ने अवस्थाको विकास भएको छ । जुनबेलाको पत्रकारिता धेरै दुःख–कष्टको थियो । तर, अहिले धेरै सहज र सरल बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here