समुन्नत एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा राष्ट्रपतिको जोड

0
8
विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले स्वाधीन, समुन्नत एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएका छन् ।
नेपाल उद्योग परिसङ्घ कोशी प्रदेशले विराटनगरमा आज आयोजना गरेको उद्योगीहरूको भेला तथा प्रजातन्त्र सेनानी सम्मान समारोहको उद्घाटन गर्दै समाजवाद उन्मुख अर्थव्यवस्थाको आधार निर्माण गर्न उद्योगीव्यवसायीको महत्वपूर्ण भूमिका हुने बताए ।

मोरङ , राष्ट्रपति रामचन्द्र पौडेल नेपाल उद्योग परिसङ्घ कोशी प्रदेशले शनिबार विराटनगरमा आयोजना गरेको उद्योगीहरूको भेला तथा प्रजातन्त्र सेनानी सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : मनोज दाहाल/रासस
कोभिड–१९ महामारीबाट शिथिल भएको अर्थतन्त्रलाई उन्नत बनाउन सरकारले गरेका प्रयासले केही सकारात्मक प्रभाव पारेको बताउँदै राष्ट्रपति पौडेलले भने – “अपेक्षाअनुसार देशको अर्थतन्त्र सबल भएको छैन, रोजगारी सृजनालगायत आन्तरिक उत्पादन बढ्न सकेको छैनभने राजस्वका लक्ष्यप्राप्त गर्न कठिनाइ भएको छ । उद्योगधन्धा पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । उद्योग कलकारखाना सञ्चालनमा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ  ।”
अर्थतन्त्र सुधारका लागि सरकारले तर्जुमा गरेको रणनीति, निजी क्षेत्रको सहयोग, विदेशी मुद्रा सञ्चिति, विप्रेषण वृद्धि दरका साथै शोधानन्तर बचत सकारात्मक भए पनि सन्तुष्ट हुने स्थान नरहेको बताउँदै उनले अर्थतन्त्रको सुधारका निम्ति सरकार निरन्तर लागेको आफूले पाएको उल्लेख गरे ।

मोरङ , राष्ट्रपति रामचन्द्र पौडेल नेपाल उद्योग परिसङ्घ कोशी प्रदेशले शनिबार विराटनगरमा आयोजना गरेको उद्योगीहरूको भेला तथा प्रजातन्त्र सेनानी सम्मान कार्यक्रममा राष्ट्रिय समाचार समिति(रासस) सञ्चालक समितिका सदस्य शंकर खरेललाई सम्मान गर्नुहुँदै । तस्बिर : मनोज दाहाल/रासस
नेपालमा कृषि क्षेत्रको रुपान्तरण  र उद्योग व्यवसायको विस्तार गरी उत्पादन वृद्धि, रोजगारी सृजना गर्न, निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापन गर्न, अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन तथा गरिबी निवारण गरी आर्थिक विकासको बाटोमा सरकारको एक्लो प्रयास पर्याप्त नहुने भएकाले निजी क्षेत्रसँगको साझेदारी अपरिहार्य हुने राष्ट्रपतिले सुझाए ।
“कूल लगानीमा दुई तिहाइभन्दा बढी लगानी भएको निजी क्षेत्रलाई विश्वासमा लिएर नीतिगत आधार निर्माण गर्न मौजुदा नीति र कानुनहरुको समीक्षा गरी नयाँ नीति र ऐन निर्माण गर्ने, निजीक्षेत्र मैत्री ऐन, कानुन परिमार्जन गर्ने काम वर्तमान सरकारबाट हुन जरुरी छ”, राष्ट्रपति पौडेलले भने ।
नेपालको पहिलो औद्योगिक नगर कोशी प्रदेशको राजधानी विराटनगर स्वतन्त्रताका लागि जीवन उत्सर्ग गर्ने कृष्णप्रसाद कोइराला, बिपी कोइराला, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, सिके प्रसाई, शैलजा आचार्य, केशव कोइराला, तारणीप्रसाद कोइराला, नोना कोइराला, नारदमुनी थुलुङ, क्याप्टेन यज्ञबहादुर थापा, बलबहादुर राई, भरतमोहन अधिकारी, भूविक्रम नेम्वाङ, प्रेमराज आङदम्बे, चिरञ्जीवी रिजाल, रामप्रसाद राई, धनवर्ण राई, लिला–ठगी–गोकर्ण, राम–लक्ष्मण र नेपालमा औद्योगिक अभियानको सुरुवात गर्ने रामलाल गोल्छा, चन्दनमल दुगडलगायत सबैको योगदानको मुक्तकण्ठले प्रशंसा गरे ।
राष्ट्रपतिले संविधान प्रदत्त भूमिका निष्ठपूर्वक पालना गर्ने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा कुनै आँच आउन नदिने प्रतिबद्धता व्यक्त गरे ।
कोशी प्रदेशका प्रमुख परशुराम खापुङले देश विकासमा निजी क्षेत्रको अहम् भूमिका हुने भएकाले राज्यले उनीहरूको सहयोगको अपेक्षा गरेको बताए । उनले उद्योगी र व्यवसायीको समस्या समाधानजमा राज्यले ध्यान दिनुपर्नेमा जोड दिए ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकारको सहयोगी अङ्गको रुपमा रहेका उद्योगी–व्यापारीले रोजगारी सृजनामा सघाएकामा आभार व्यक्त गरे।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले लोकतन्त्र र गणतन्त्रका लागि लामो सङ्घर्ष गर्नु भएका वर्तमान राष्ट्रपतिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बचाई राख्न अभिभावको भूमिका निर्वाह गरिहन आग्रह गरे ।
नेपाल उद्योग परिसङ्घ कोशी प्रदेशका अध्यक्ष भीम घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाल उद्योग परिसङ्घका संस्थापक अध्यक्ष विनोद चौधरी, सङ्घका केन्द्रीय उपाध्यक्ष वीरेन्द्र पाण्डेले देशको आर्थिक विकासका निम्ति कृषि क्षेत्रलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए ।
समारोहमा प्रजातन्त्र सेनानी, प्रतिष्ठित उद्योगपतिलगायत २९ जनालाई सम्मान गरिएको थियो । राष्ट्रपतिले पत्रकार शङ्कर खरेल र अनन्त न्यौपानेलाई पुरस्कार प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here