कांग्रेसका शीर्ष नेताहरूबाटै सरकारको चर्को आलोचना

0
8

काठमाडौँ ।

सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरूले नै वर्तमान सरकारले जनताको भावनाअनुरुप काम नगरेकोमा चर्को आलोचना गर्दै आएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यभार सम्हालेको एक वर्ष पुग्दै गर्दा सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसका शीर्ष नेताहरूले नै सरकारको काम र प्रधानमन्त्री तथा मन्त्रीहरूको कार्यशैलीप्रति असन्तुष्टि पोखेका छन् ।

सभापति शेरबहादुर देउवाले भने पछिल्लो समय सरकारका विषयमा खासै टिप्पणी गर्दैनन् । उपसभापतिद्धय पूर्णबहादुर खड्का र धनराज गुरूङ आफैँ सरकारमा छन् । तर त्यसबाहेक पार्टीका पदाधिकारी र शीर्ष नेताहरूले सरकारको कामप्रति चित्त बुझाएका देखिदैनन् ।

पार्टीका संस्थापन इत्तर समूहका नेता शेखर कोइराला, महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, युवा नेताहरू प्रदीप पौडेल, नैनसिंह महर लगायतले निरन्तर सरकारका काम चित्तबुझ्दो नभएको भन्दै आलोचना गर्ने गरेका छन् । प्रधानमन्त्री र मन्त्रीहरूको कार्यशैली चित्तबुझ्दो नभएको र परिणाम समेत दिन नसकेको उनीहरूको निष्कर्ष छ ।

हाल देशैभरि पार्टीका सम्मेलन गरिरहेको कांग्रेसका जिल्ला र प्रदेशका ठूलठूला सभा र सम्मेलनहरूमा नेताहरूले सरकारको आलोचना गरेका छन् । शनिबार काठमाडौंमा भएको कांग्रेस बाग्मती प्रदेशको सम्मेलनमा पनि नेताहरूले त्यस्तै आक्रोस पोखे । संघीय सरकारले प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्छ भन्ने बाहनामा महत्वपूर्ण कानूनहरू नै बनाउन नचाहेको नेताहरूको आरोप छ । यतिसम्म कि दुई महिनाभित्र त्यस्ता महत्वपूर्ण कानूनहरू पास गरेर प्रदेशलाई अधिकार नदिए सिंहदरबार घेराउ गर्ने कांग्रेसको चेतावनी छ ।

सभापति देउवाले बेलैमा सम्बोधन गरेर बाहिरिएपछि बोलेका पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल लगायतले सरकारको चर्को आलोचना गरे भने कांग्रेस उपसभापति एवम् कानूनमन्त्री धनराज गुरुङ र प्रवक्ता एवम् अर्थमन्त्री प्रकाशसरण महतले सरकारको बचाउ गरे ।

महामन्त्री शर्माले प्रधानमन्त्री र मन्त्रीहरू पार्टीका कार्यक्रम र भाषणमा मात्रै सीमित भएको बताए । ‘प्रधानमन्त्री र मन्त्रीजीहरू भाषण गरेर हिडेर मात्रै भएन । पार्टी कार्यालय र सभाहरूमा चर्को भाषण गरेरमात्रै केही हुदैन,’ शर्माले अघि भने, ‘तपाईहरू जहाँ हुनुपर्ने हो, त्यहाँ भइदिनुस् । मन्त्रालयमा बसेर काम गर्नुस् । देशमा समस्या छ, समाधान गर्ने ठाउँहरू तपाईहरू हुनुहुन्छ । तपाईहरू नै मञ्चमा उभिएर देश संकटमा छ भनेको सुहाउँदैन ।’

उनले अहिले कांग्रेस पूर्णरुपमा सरकारमा नभएको, र कांग्रेसका केही प्रतिनिधिहरू मात्रै सरकारमा सहभागी भएको दाबी गरे । ‘अहिले कांग्रेस सरकारमा छ । तर यो सरकार कांग्रेसको होइन । हाम्रो पार्टीका केही साथीहरू प्रतिनिधिकारुपमा मात्रै सरकारमा सहभागी हुनुभएको हो,’ उनले भने, ‘सिंगो पार्टी सरकारमा गएको होइन, सरकारले गरेका गलत कामको भारी कांग्रेसलाई बोकाउन मिल्दैन ।’

उनले सरकारले कानून बनाएर प्रदेशलाई अधिकार दिने विषयमा कञ्जुस्याँई गरेको आरोप लगाए । प्रदेशलाई तत्काल कानून बनाएर अधिकार नदिए कांग्रेसले फागुनमा हुने महासमिति बैठकबाट निर्णय गरेर सिंहदरबार घेर्ने उनको उद्घोष छ ।
केन्द्रीय सदस्य प्रदीप पौडेलले पनि सरकारको चर्को आलोचना गरे । ‘प्रधानमन्त्री र मन्त्रीहरू देश ठीकठाक चलिरहेको छ भनेर भाषण गर्दै हिड्नुहुन्छ । वास्तवमा यसको कुनै अर्थ छैन,’ उनले भने, ‘देश ठीक ठाक चलिरहेको छैन । यदि त्यस्तो भएको भए तपाईहरूले ठीकठाक भन्नुपर्ने थिएन, जनता आफैँले भनिहाल्थे ।’

उनले सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले पनि काम गर्न नसकेको आरोप लगाए । ‘मन्त्रीजीहरू यहाँ आएर हामीलाई अफ्ठ्यारो छ भनेर सुनाउनुपर्दैन, मन्त्रालयमा बसेर काम गर्नुंस् । मलाई फोन गरेर यस्ता यस्ता राम्रा कामहरू गरेको छु भन्नुस् । म तपाईको प्रशंसा गरेर देश डुल्छु । जनतालाई सुनाउँछु । तर अहिलेसम्म पनि मैले कसैको प्रशंसा गर्न पाएको छैन ।’

पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि सरकारले कानूनहरू बनाउन ढिला गर्दा समस्या उत्पन्न भएको बताए । ‘सरकारले पहिल्यै बनाइसक्नुपर्ने कानूनहरू अहिलेसम्म पनि बनेका छैनन् । त्यहीकारण प्रदेशले अधिकार पाएको छैन,’ उनले भने, ‘जतिसक्दो छिटो प्रदेशको अधिकारसम्बन्धी कानूनहरू निर्माण हुनु आवश्यक छ ।’

प्रधानमन्त्री दाहालले आफ्नो कार्यकाल एक वर्ष पूरा भएको अवसरमा मंगलबार जनताका नाममा सम्बोधन गर्दैछन् । केही दिनयता प्रधानमन्त्री दाहालले गरेका भाषणमा सरकारले धेरै राम्रा कामहरू गरेको, तर समाजमा नकारात्मक सोच बढी फैलिएका कारण नदेखिएको दाबी छ ।

तर कांग्रेस महामन्त्री गगन थापाले भने प्रधानमन्त्रीको एक वर्षे कार्यकाललाई १० अंक मात्रै दिन सकिने बताउँदै आएका छन् । ‘यो सरकारले काम गर्न सकेन । प्रधानमन्त्रीले नतिजा दिन सक्नुभएको छैन,’ थापाले केही दिनअघि एक कार्यक्रममा भनेका थिए, ‘म १०० पूर्णांङ्कमा प्रधानमन्त्रीको एक वर्षे कायकाललाई मूल्यांकन गर्दा १० अंक मात्रै दिन्छु ।’

नेता कोइरालाले त प्रधानमन्त्री दाहालले काम गर्न नसकेको, अब पनि नसच्चिए कुर्सी छोड्नुपर्ने भन्दै आएका छन् । ‘सरकारले ठीक ढंगले काम गर्न सकेको छैन । सरकार सच्चिन जरुरी छ । यदि नसच्चिने हो भने प्रधानमन्त्रीले कुर्सी छोड्नुपर्छ, अर्को सरकारले ठीक ढंगले काम गर्छ,’ कोइरालाको भनाइ छ ।

प्रधानमन्त्री दाहाल ०७९ को पुस १० मा प्रधानमन्त्री नियुक्त भएका थिए । तर कांग्रेसबाट भने १७ चैतमा मात्रै मन्त्रीहरू सरकारमा सहभागी भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here