नेपाल र नेपालीले माओत्सेतुङबाट के सिक्ने ?

0
10

कमरेड माओको जन्म भएको ठिक १३० वर्ष पुगेर १३१औं वर्षमा प्रवेश गरेको छ । २६ डिसेम्बर सन् १८९३ मा हुनान प्रान्तको शाओसान गाउँमा जन्मिएका माओले चीनमा कम्युनिष्ट पार्टी स्थापना गरेका थिए । आज चिनियाँ जनताले सी जिन पिङको मार्गनिर्देशनमा विश्वकै पहिलो अर्थतन्त्र भएको मुलुकको रूपमा विकास गर्न अभूतपूर्व छलाङ मारिरहेको अवस्था भए पनि माओत्सेतुङ, झाउ एनलाई र डेङ सियाओपिङलाई आदरका साथ आदर्श नेताका रूपमा सम्झने गर्छन् । क. माओलाई चिनियाँ जनताले त सम्झने नै भए तर वहाँलाई विश्वभरिका कम्युनिष्ट, सर्वहारा वर्ग र क्रान्तिकारीहरूले पनि त्यतिकै सम्झिने गर्दछन् । चिनियाँ जनताले सम्झनु भन्नुको अर्थ हो चिनियाँ जनता र चिनियाँ कम्युनिष्ट पार्टीलाई माओले गरेको देन सम्झनु हो ।

माओको योगदानलाई सम्झनुको अर्थ उनले कसरी लामो र कठिन परिश्रमद्वारा पुरानो चीनलाई नयाँ चीनमा बदले बुझ्नु र उनका व्यावहारिक र सैद्धान्तिक ज्ञान नेपाल र नेपालीका सन्दर्भमा लागू गर्नु हो । माओलाई श्रद्धा गर्नु भनेको लाखौं, करोडौं जनताको आँशु, रगत र पसिनाबाट सृजित उपलब्धिको रक्षा र विकास गर्नु हो । उपलब्धि र विकास गर्नुको मतलब हो चीनलाई फेरि दुःख, गरिबी र अभावको दलदलमा जान नदिनु हो । विश्वका अन्य कम्युनिष्टका लागि माओका शिक्षा भनेको हरेक कम्युनिष्टहरूले माओका शिक्षाबाट आफ्नो मौलिकतामा आ–आफ्ना देशमा क्रान्तिको प्रयोग गर्नु । माओको १३१औं जन्मदिनको अवसरमा उनका सबल पक्ष, उनका योगदानहरुलाई सम्झनु र असल गुणलाई आत्मसात गर्नु आवश्यक छ ।

ठूला–ठूला ग्रामीण क्षेत्रहरु मुक्त पार्दै १९३९ बाट शुरु भएको दीर्घकालीन जनयुद्ध गाउँबाट शुरु गर्ने कार्यदिशाले एक दशक पार गर्दा नगर्दै चिनियाँ क्रान्तिले सफलता चुम्न सफल भयो । १९४९ अक्टुबर १ मा कमरेड माओले बेइजिङस्थित टियनमेन स्क्वायरमा लाखौं जनताको बीचमा चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएको घोषणा गरे । प्रतिक्रियावादी च्याङकाइसेक पूर्ण रुपमा पराजय भए र उनी भागेर ताइवान टापुमा गएर बसे । अमेरिकाले यसको रक्षा ग¥यो, जो अहिले पनि अमेरिकी युद्ध अड्डाको रूपमा लगभग ५० हजार अमेरिकी सेनाको सुरक्षामा च्याङ्काइसेकको अवशेष अझै बाँकी छ । यो कमरेड माओको महान् सफलता चिनियाँ जनताको मात्र नभएर समस्त विश्व सर्वहारा वर्गको पनि विजय थियो ।

चीनमा कमरेड माओको नेतृत्वमा सन १९४९ मा जनयुद्धको कार्यदिशाबाट क्रान्ति सम्पन्न भयो । विश्व क्रान्तिको इतिहासमा यो रुसपछिको क्रान्तिको दोस्रो मोडेल बन्न पुग्यो । अहिले पनि क्रान्तिको प्रश्न उठ्दा बित्तिकै प्रश्न उठ्छ रसियाली मोडेल कि चिनियाँ मोडेल कुन मोडेल भनेर प्रश्न उठ्छ । तर, क्रान्तिको शतप्रतिशत लागू हुने कुनै मोडेल हुँदैन । नेपालमा १० वर्षको जनयुद्ध शुरु गर्दा आफूलाई माओका असली शिष्य मानेका नेताहरू बढी यान्त्रिकतामा फसेर चिनियाँ मोडेल लागू गर्न खोज्दा परिणाम प्रत्युत्पादक भएको छ ।

माओबाट सिक्नुपर्ने अर्को कुरा पार्टीमा दुई लाइन संघर्षलाई ठाउँ दिने । पार्टीभित्र अन्तरसंघर्ष र समाजमा वर्गसंघर्ष दुबै भइरहन दिने । तर, नेपालमा अलिकति मत बाझ्ने बित्तिकै पार्टी फुटाउने संस्कार नै बनेको छ, यो गलत छ । यसको कारण संसदवादी राजनीतिको प्रभाव हो । माओकालमा र तत्कालीन चीनमा संसद पनि थिएन र संसदवादको प्रभाव पनि कमजोर थियो । माओको संघर्ष परिचालन गर्ने खुबी थियो, जसले पार्टीलाई एकताबद्ध राखेको थियो । विश्व राजनीतिमा ज्यादै दूरगामी महŒवको क्रान्तिको दौरानमा माओले अघि सारेको ‘तीन गर र तीन नगर’ को सूत्र कम्युनिष्ट राजनीतिमा आज पनि मन्त्र वाक्य नै बनेको छ । माक्र्सवाद लागू गर, संशोधनवाद होइन ।

विचार सिद्धान्तमा खुला र स्पष्ट होऊ, छलछाम र षड्यन्त्र होइन । अन्तर संघर्षमा एकताबद्ध होउ, नफुट । संगठन र विचारमा हरेक तहका संगठनहरुमा एकमा तीनको सिद्धान्त लागू गर । हरेक संगठनहरुमा युुवा, प्रौढ र वृद्ध राख । नयाँ, युवा, पाका र पुरानालाई मिलाएर राख । यो भनेको अनुभव र स्पीरिटको मेल हो जहाँ होस र जोस, बल र बुद्धि, सचेतन पक्ष र स्वतः स्पूmर्त पक्ष एकीकृत होस् । जहाँ सम्पूर्ण तत्वहरुको एकीकरण हुन्छ त्यहाँ सफलता र विजय सुनिश्चित हुन्छ । यो कमरेड माओले संगठन सम्बन्धी र विचार क्षेत्रमा गरेको नयाँ विकास हो । पार्टी संगठनमा युवाहरू लिने भनेको नयाँलाई पुरानाहरूबाट सिक्ने, परिपक्व बनाउने र उत्तराधिकारी जन्माइरहने प्रक्रिया हो । यो पनि प्रतिक्रान्ति रोक्ने एक साधनकै संगठनबाट चालिने पहलु हो । यसले संगठनमा पुरानोलाई रुढीवादबाट बचाउन र आन्दोलनलाई समस्यामा पार्न नदिन भूमिका खेल्दछ ।

माओबाट सिक्ने अर्को कुरा भनेको क्रान्ति सम्पन्न गर्ने मात्र कुरा होइन, यो त निरन्तरतामा हुन्छ । क्रान्ति दुई चार दिनको लहड होइन, निरन्तर क्रान्ति यथार्थ हो । कमरेड माओ कै भनाइमा दुई चार दिन राम्रो भाषण एकाध, वर्ष राम्रो काम, दुई चार दिन, दुई चार वर्ष चकाचौध जो कसैले पनि गर्न सक्छन् । तर, जीवनभरि राम्रो काम गर्न सक्छ कि सक्दैन भन्ने कुरा मुख्य हो । कसैले जीवनभरि राम्रो ग¥यो भने त्यो महानता हो । यसको सार नै राजनीतिमा निरन्तर क्रान्ति हो । नयाँ क्रान्तिका लागि क्रान्तिको नयाँ मोडेल आजको आवश्यकता हो । हरेक क्रान्ति नयाँ अनुहारमा हुने गर्दछ । पेरिस कम्युनभन्दा रुसी क्रान्ति नयाँ थियो । रुसी क्रान्तिभन्दा चिनी क्रान्ति नयाँ थियो ।

क्युबाको क्रान्तिको मोडेल पनि अरुभन्दा नयाँ शैलीमा गरिएको थियो । भियतनाम, लाओस र कम्बोडियाका क्रान्तिहरू पनि केही नयाँपन छोडेर गएका छन् । विचारमा, सिद्धान्तमा, दर्शनमा, अर्थनीतिमा, स्वभाव–शैलीमा, संगठन संरचनामा, कार्यदिशामा नयाँपन भएन भने पार्टी र क्रान्तिमा जीवन आउँदैन । नयाँपनको नाममा सिद्धान्त र विचार नै त्यागेर गरिने नयाँपनले अर्को ठाउँमा पु¥याइदिन्छ । त्यसैले पुरानोको सारतत्वसहितको नयाँपनलाई यहाँ नयाँ मोडेल भन्न खोजिएको छ । आजको नवऔपनिवेशिक युगमा राष्ट्रिय मुक्ति र जनमुक्तिका लागि गरिने क्रान्तिलाई एकीकृत गर्न माओबाट शिक्षा लिन आवश्यक छ । यी दुईलाई एकीकृत गरेर एकीकृत क्रान्ति गर्नु नै माओको शिक्षाको सार हो ।

हतियारको बलमा टिकेको सत्ताको अन्त्य गर्न हतियारले मात्र सक्दछ भन्नेमा जोड दिँदै माओ भन्छन्– ‘सत्ता बन्दुकको नालबाट जन्मन्छ, सशस्त्र संघर्ष भनेको हातको विस्तार मात्र हो, युद्ध हिंसात्मक राजनीति हो र राजनीति अहिंसात्मक युद्ध हो, जनयुद्ध जनताको युद्ध हो । जनयुद्ध अन्तिम युद्ध हो, जनयुद्ध समग्र युद्ध हो ।’ नेपालमा क्रान्तिको बारेमा जुन विमर्श र फुट(विभाजनहरू भइरहेका छन्– ‘सशस्त्र कि शान्तिपूर्ण ?’ भन्ने विवादका कारण भइरहेको छन् । माओले क्रान्तिको यान्त्रिक मोडेलको विरोध गरेका छन् । माक्र्सवादको सृजनात्मक प्रयोग गर्दै यान्त्रिक कार्यदिशाबाट बच्न, आन्दोलनलाई क्षतिबाट बचाउन, सही र वैज्ञानिक कार्यदिशाले मात्र विजय सम्भव हुन्छ भन्ने तथ्य हृदयङ्गम गर्न माओले सुझाएका छन् ।

माओले जस्तै कठिन र जीवनभरि बलिदानीपूर्ण संघर्ष गर्न जो कसैले सक्दैन । यसको पुष्टि हामी नेपाली क्रान्ति वा संघर्षबाट गर्न सक्छौं । नेपालका कम्युनिष्टमा कथनी र करणीका बीचमा धेरै ठूलो अन्तर छ । नेपाली कम्युनिष्ट नेताहरूमा ब्राह्मणवाद, पंडित्याइँवाद, मन्त्रवाद, भाग्यवाद, सामन्तवाद र टपरटुइँयावाद हावी छ । गहिराइमा गएर बुझ्नेभन्दा पनि हरेक चीजलाई घोक्ने वा कण्ठ गर्ने, नक्कल गर्ने, चाकडी, चाप्लुसी गर्ने यान्त्रिकतावादीहरूबाट क्रान्तिलाई सबैभन्दा बढी समस्या छ । वर्ग संघर्ष, वर्ग पक्षधरता र वर्ग अधिनायकत्व माक्र्सवादका तीन आधारभूत तत्व हुन् ।

यसमध्ये कुनै एकलाई छोड्यो भने माक्र्सवाद माक्र्सवाद हुँदैन, त्यो संशोधनवाद वा अवसरवाद हुन जान्छ । कुनै पनि सिद्धान्तका दुई पक्ष हुन्छ– एउटा बदलिने र विकास हुने पक्ष । दोस्रो नबदलिने तत्व । माक्र्सवादका तीन आधारभूत तत्वहरू छन्– बल प्रयोग, वर्ग संघर्ष र वर्ग पक्षधरता । माओबाट शिक्षा लिँदै सिर्जनशील र विकासशील माक्र्सवादलाई ग्रहण गर्न आवश्यक छ । क्रान्तिप्रतिको निष्ठा, आफ्नो मातृभूमिप्रतिको समर्पण, जनताप्रतिको विश्वास, मुलुकको आर्थिक, सामाजिक, शैक्षिक विकासको रूपान्तरणप्रतिको निरन्तरको मोह माओबाट सिक्ने कुरा हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here