सापकोटाको नीलि सार्वजनिक

0
15

धुलावारी ।

आफ्नो जन्मोत्सव र विवाह उत्सवको सन्दर्भ पारेर झापाका एक स्रष्टाले नीलि उपन्यास सार्वजनिक गरेका छन् ।

झापा धुलावारीका औषधि व्यवसायी गोपाल सापकोटा (गोसा झापाली)ले आफ्नो पहिलो कृति सार्वजनिक गरेका हुन् । नेपाल मेडिकल स्टोर्सको स्थापनाको स्वर्णउत्सव समेत मनाइएको कार्यक्रममा भाषा समावेसी सामाजिक उपन्यास नीलिको प्रमुख अतिथि अग्रज पत्रकार तारा बरालले लोकार्पण गरेका हुन् ।

लोकार्पित कृतिमाथि अग्रज स्रष्टा चन्द्र भण्डारीसहित कवि बिटु केसी र साहित्यकार रश्मिशेखर सुवेदीले समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए । सोही अवसरमा मेडिकल व्यवसायी एवम् स्रष्टा सापकोटाले ५० जना सेवाग्राहीहरुलाई कदरपत्र सहित सम्मान गरेका थिए ।

पे्रमिल कथामा आधारित सापकोटाको उपन्यास ४२२ पृष्ठको रहेको छ । नेपाल औषधि व्यवसायी संघ झापा प्रकाशक रहेको कृति लोकार्पण कार्यक्रमको अध्यक्षता औषधि व्यवसायी संघ झापाका अध्यक्ष जीवन कुमार खड्काले गरेका थिए ।

सोही अवसरमा सापकोटाले सामाजिक उत्तरदायित्व अन्तरगत पत्रकार सहारा उपचार कोष झापालाई २१ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका थिए । सो रकम नेपाल पत्रकार महासंघ झापा शाखा उपाध्यक्ष सुशीला संग्रौलाले ग्रहण गरेकी थिइन् । कार्यक्रमकाबीच सापकोटा दम्पत्तिलाई विभिन्न संघ संस्था र व्यक्तिहरुले व्यवसायिक जीवनको सफलताको कामना गर्दै जन्मोत्सव र विवाह उत्सवको शुभेक्षा प्रकट गरेका थिए ।

बिशाल सापकोटाले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि गोरखापत्र दैनिकका पूर्व प्रधानसम्पादक समेत रहेका बराल, वाइजुराज संघ धुलावारीका अध्यक्ष सरु घिमिरे लगायतले बोलेका थिए । कार्यक्रममा सामाजिक व्यक्तित्व नसुह प्रसाई, अधिवक्ता अशोक पोखरेल, स्रष्टाहरु गणेश निरौला, शिवकुमार पौडेल, विनोद खनाल, औषधि व्यवसायी संघ प्रदेश अध्यक्ष कुमार खतिवडा, औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख टेकेन्द्र मिश्र, नेपाल शिक्षक संघका कोशी प्रदेश अध्यक्ष तेजप्रसाद चम्लागाँई, लगायतको उपस्थिति रहेको थियो ।

धुलावारीस्थित श्रीकृष्ण प्रणामी मन्दिर परिसरमा आयोजित कार्यक्रमको सञ्चारकर्मी केशव भट्टराईले सञ्चालन गरेका थिए । संगीतकर्मी गोकुल खड्का, तवलावादक संस्कार सापकोटाले सुमधुर सांगीतिक प्रस्तुति राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here