बिर्तामोडमा नेपालकै पहिलो स्पाइन एक्स सुपर स्पेशलिटी हस्पिटल

0
17

झापा ।

नेपालमै पहिलोपटक झापामा स्पाइन एक्स सुपर स्पेसलिटी हस्पिटल एण्ड ट्रमा सेन्टर सञ्चालनमा आएको छ ।

बिर्तामोड–२स्थित भगवान चौकमा ३० करोड रुपैयाँ लगानी गर्दै अस्पताल सञ्चालनमा आएको हो । सन् २०२४को अवसर पारेर १५ शैय्याको अस्पताल आज सोमवार उद्घाटन गरिने र एक महिनाभित्र सेवा विस्तारसंगै ५० करोड लगानी गर्दै अस्पताललाई नेपालकै नमूना अस्पताल बनाउने लक्ष्य लिइएको अस्पताल सञ्चालक डा. प्रेमबहादुर शाहीले जानकारी दिए ।

अस्पताल सञ्चालनको पूर्वसन्ध्यामा आइतवार अस्पताल परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै अस्पताल सञ्चालन समितिका अध्यक्ष समेत रहेका वरिष्ठ अर्थोपेडिक तथा स्पाइन सर्जन डा. शाहीले मेरुदण्डको उपचारका लागि अब अन्यत्र जानु नपर्ने बताए । मेरुदण्ड सम्बन्धी अस्पलालले सबै प्रकारका सेवा दिन्छ– डा. शाहीले भने – हामीसंग दक्ष र अनुभवी चिकित्सकको टिम र त्यस्तै उपकरण हुनेछन्, जसका कारण हामी कहाँ उपचार गर्न आउने भारतीय समेत रहनेछन् ।

स्पाइन अस्पतालको रुपमा १०० शैय्याको स्पाइन एक्स सुपर स्पेसलिटी हस्पिटल एण्ड ट्रमा सेन्टर सञ्चालनको तयारी गरिएको छ– उनले भने– अवश्यकताका आधारमा अस्पतालको सेवा विस्तारसँगै शैय्या समेत थप हुन्छ । ट्रमा सेन्टरमा अत्याधुनिक प्रविधिबाट स्पाइन सम्बन्धी सम्पूर्ण उपचार, (सानो घाउ पारेर), हाडजोर्नी सम्वन्धी शल्यक्रियासहित सम्पूर्ण उपचार, (जोर्नी प्रत्यारोपण, दुरवीनबाट गरिने उपचार), न्यूरोको अत्याधुनिक प्रविधिसहितको इण्डोभास्कुलर न्यूरो सर्जनद्वारा उपचार, सर्जरीतर्फ जीआई सर्जन (एमसीएच)बाट सेवा, गाइनोतर्फ बाँझोपन सम्वन्धी विशिष्टिकृत डाक्टरहरुद्वारा शल्यक्रियासहितको सेवा, अत्याधुनिक प्रविधिको रेडियोलोजिष्ट सेवा, अत्याधुनिक प्रविधिको भिडियो एक्स– रे, सिटीस्क्यान सेवा, अत्याधुनिक प्रविधिको आइसियु, एनआइसीयु, नर्सरी, एचडीयु सेवा प्रदान गरिने डा. शाहीको भनाइ छ ।

अस्पतालसँग हाल एमआरआई सेवा सञ्चालनमा नरहेको र केही समयपछि त्यसलाई समेत थप गर्ने पत्रकार सम्मेलनमा डा. शाहीले बताए । ट्रमा सेन्टरमा सबै विभागको विशिष्टकृत डाक्टहरुद्वारा ओपीडी सेवा, हरेक विभागको क्याविनसहितको सेवा, अत्याधुनिक प्रविधि र उपकरणसहितको शल्यक्रिया कक्ष, अत्याधुनिक प्रयोगशाला, फार्मेसी सेवालगायतका सम्पूर्ण सेवा उपलव्ध रहेको डा. शाहीको भनाइ छ । अर्थो, न्यूरो, स्पाइन, वर्न र प्लाष्टिक सर्जरी सम्बन्धी उपचार सेवा प्रवाह गर्न बहुविभागीय विशिष्टिकृत सेवासहितको ट्रमा सेन्टरसमेत सञ्चालन गरिने बताइएको छ ।

कार्यक्रममा वरिष्ट स्पाइन सर्जन डा.गौरवराज ढकाल, अर्थाेपेडिक सर्जन डा. लक्ष्मी मैनाली, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, पूर्वअध्यक्ष मोहन काजी न्यौपाने लगायतले बोलेका थिए । कार्यक्रममा डा. ध्रुवनारायण साह, उपसना कोइराला थापा, केशवकुमार मण्डल, अमरेशकुमार यादव, मोहमद नौसाद अन्सारी लगायत सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here