खुदुनावारी स्वास्थ्य चौकीमा सोमबारदेखि ‘जनता औषधी कार्यक्रम’ शुरु

0
22

अमित खम्बू,
अर्जुनधारा।

झापाको अर्जुनधारा–३स्थित खुदुनाबारी स्वास्थ्य चौकीमा सोमबारदेखि ‘जनता औषधी कार्यक्रम’ शुरु गरिएको छ ।

चालु आर्थिक वर्ष ०८०÷०८१को स्वीकृत बजेट, नीति तथा कार्यक्रम र खुदुनाबारी स्वास्थ्य चौकी व्यवस्थापन समितिले तयार गरेको कार्यविधि अनुसार अर्जुनधारा–३ नं. वडा कार्यालयबाट उक्त कार्यक्रमको लागि बजेट विनियोजन भएपछि ‘जनता औषधी कार्यक्रम’ शुरु गरिएको वडाध्यक्ष एवम् चौकी व्यवस्थापन समितिका अध्यक्ष सीताराम भट्टराईले जानकारी दिए ।

सेवाका लागि स्वास्थ्य चौकीमा पुग्ने सेवाग्राहीहरुलाई प्रत्यक्ष फाइदा पु¥याउने उद्देश्यले शुरु भएको सो कार्यक्रमबाट सेवाग्राहीले औषधीमा तोकिएको शुल्क भन्दा न्यूनतम २० देखि ५० प्रतिशत सम्म छुटमा औषधी प्राप्त गर्ने स्वास्थ्य चौकीका प्रमुख एवम् समितिका सदस्यसचिव डम्बरबल्लभ मिश्रले बताए ।

नेपाल सरकार स्वास्थ्य शाखाबाट निःशुल्क प्राप्त हुने औषधीहरु समयमा प्राप्त नहुँदा सेवाग्राहीहरु बिना औषधी फर्किनुपर्ने र निःशुल्क बाहेकका औषधीहरुको लागि मेडिकलमा धाउनुपर्ने बाध्यताको अन्त्य यस कार्यक्रमले गर्ने स्वास्थ्य चौकीका प्रमुख मिश्रको दावी छ । कार्यक्रम अन्र्तगत पहिलो चरणमा पाँच लाख रुपैयाँ बढीको लागतमा अनुमानित एक सय प्रकारको औषधी प्रक्रिया अनुसार खरिद गरिएको उनले बताए ।

त्यसैगरी नगरपालिकामा पहिलोपटक नयाँ कार्यक्रमको रुपमा शुरु गरिएको यस कार्यक्रमलाई पारदर्शी ढंगबाट सफलरुपमा कार्यान्वयन गर्न चौकी प्रमुख मिश्रलाई प्रमुख प्रशासकीय अधिकृत तिलचन रिमालले सुझाएका छन् । वडाध्यक्ष एवम् समितिका अध्यक्ष भट्टराईको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् ।

कार्यक्रममा निवर्तमान उपप्रमुख कमला खतिवडा आचार्य, अर्जुनधारा–१का वडाध्यक्ष उपेन्द्र बस्नेतलगायतले मन्तव्य राखेका थिए । सोही कार्यक्रममा खुदुनाबारी स्वास्थ्य चौकीकी सेवानिवृत्त कर्मचारी अनमी कमलादेवी कुँवरलाई विदाइ गरिएको थियो ।

२०५० साल साउन १ गतेदेखि सेवा शुरु गरि गत पुस ९ गतेबाट अनिवार्य अवकास पाएकी उनलाई सम्मान पत्रसहित दोसल्ला ओढाई विदाइ गरिएको थियो । स्वास्थ्य चौकीका प्रमुख मिश्रले कार्यक्रमको औचित्य तथा वडा सदस्य एवम् समितिकी उपाध्यक्ष सुमनकुमारी राईले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन वडासचिव खगेन्द्र लिङदेनले गरेका थिए ।

‘जनता औषधी कार्यक्रम’लाई शुभकामनाः

यसैबिच खुदुनाबारी स्वास्थ्य चौकीमा शुरु गरिएको ‘जनता औषधी कार्यक्रम’लाई विभिन्न व्यक्तित्वहरुबाट शुभकामना व्यक्त गरिएको छ ।

अत्यावश्यक औषधीहरुको सहज प्राप्तिका लागि खुदुनाबारी स्वास्थ्य चौकीले सञ्चालन गरेको ‘जनता औषधी कार्यक्रम’लाई उदाहरणीय र अनुकरणीय कार्यक्रम भएको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले शुभकामना पत्रमार्फत् व्यक्त गरेका छन् ।

‘दिन प्रतिदिन औषधीको प्रयोग बढ्दै गएको अवस्थामा एकातर्फ आवश्यक औषधी नै नपाइने र पाइहाले पनि महँगो मूल्यका कारण कैयौं उपभोक्ताहरुले खरिद गर्न नसक्ने अवस्था सिर्जना भएकोले यी दुवै विषयहरुलाई सम्बोधन गर्न ‘जनता औषधी कार्यक्रम’ सफल हुने छ भन्ने विश्वास लिएको छु’ शुभकामना पत्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव मुक्तिनाथ खनाल ‘जनता औषधी कार्यक्रम’ स्वास्थ्य क्षेत्रको एक नविनतम कार्यक्रम भएको र यसले गरिब, दुःखी असहाय र पिछडीएका वर्गलगायत सबै नेपाली नागरिकलाई बजारमूल्यको तुलनामा ५० प्रतिशत भन्दा कम मूल्यमा गुणस्तरीय औषधी उपलब्ध गराउने गरि निर्माण गरिएको कार्यक्रम भएको बताउँछन् ।

यस कार्यक्रमलाई खुदुनावारी स्वास्थ्य चौकीमा सफल बनाई क्रमश देशभरका ६७४३ वटा वडामा स्थापना भएको स्वास्थ्य संस्था र सबै अस्पतालहरुमा सञ्चालनमा ल्याउन सकिने गरि आधार निर्माण गर्न सकियो भने यो कार्यक्रम सफल भएको मानिने उनको दावी छ ।

त्यस्तै स्थानीय एवम् हाल अमेरिकामा रहेका प्राध्यापक नेत्र खनालले खुदुनाबारी र त्यस क्षेत्रका जनतालाई सहुलियत मूल्यमा स्वास्थ्य चौकीबाट औषधी उपलब्ध गराउने उद्देश्यले शुरु गरिएको उक्त कार्यक्रमलाई उदाहरणीय कार्यको सुरुवात भएको प्रतिक्रिया दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here