हाइपोथर्मिया: चिसोमा बेवास्ता र बाध्यताको उपज

0
18

भूकम्प पीडित क्षेत्रमा चिसोका कारण सुत्केरी र शिशुले ज्यान जोगाउन नसकेका हामीले भर्खरै सुनेका हौं । त्यस्तै यो वर्ष चिसो मौसम शुरु हुँदा हुनुपर्ने बर्षा नहुँदा सुख्खा प्रदुषित वायुमण्डल र सँगैको चिसोले असर गरिरहेको पनि सुन्दै आएका छौं । चिसो मौसमको शुरुवात भएको छ र यो मौसम अनुुसार तापक्रम घट्ने क्रम बढ्दो छ । यदाकदा तराईका जिल्लाहरुमा अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर मृत्यु भएको खबर गत वर्षहरु झैं आउन थालेका छन् । चिसो हुँदा गर्मी महिनामा हुने सुखद् अनुभूतिको कल्पना गर्नु र गर्मीमा जाडोको आनन्द लिने इच्छा गर्नु मानवीय स्वभाव नै हो, जुन सहजैपूर्ति हुन सक्दैन । सबै मौसममा आ–आफ्नो अप्ठ्यारोपन र असजिलोपन अनि कष्टकर अवयवहरु हुने गर्दछन् ।

चिसोको कारण हुने सबै पक्षहरुमा सबैलाई पूर्ण ज्ञान नहुन सक्छ भने कतिपय अवस्थामा थाह पाइरहँदा पनि सामान्य जस्तो लाग्ने कुराले अप्ठ्यारो र अप्रिय समस्या तथा घटना निम्त्याउन सक्दछ । यो मौसमको शुरुवातसँगै नवजात तथा बालबालिकहरुमा रुघा, खोकी, टन्सील, छाला सुख्खा हुने खस्रो हुने फुट्ने तथा छाती संक्रमण निमोनिया जस्ता समस्याहरु देखा पर्दछन् भने वयस्क तथा बृद्धबृद्धाहरुमा पिनास, उच्च रक्तचाप, बाथ, दम तथा हाडजोर्नीका समस्याहरुले पिरोल्ने गर्दछ । चिसो मौसममा आइपर्ने समस्याहरु मध्ये शरीरको तापक्रमसँग सम्बन्ध राख्ने र चिसोको संसर्गबाट हुने ‘हाइपोथर्मिया’ पनि एक जटिल समस्या हो ।

के हो हाइपोथर्मिया ?

मानव शरीरको तापक्रम सामान्य रुपमा ९८ डिग्री फरेन्हाइट (३८ डिग्री सेल्सियस) हुने गर्दछ । जीव विज्ञानमा तातो रगत भएको वर्गमा पर्ने मानव शरीर तातो रहिरहने आफ्नै स्वचालित प्रक्रिया रहन्छ । शरीरका महत्वपूर्ण भित्रि अङ्गहरु मुटु, कलेजो तथा मृगौलाले मस्तिष्कको निर्देशनमा आफ्नो दैनिक क्रियाकलाप सँगसँगै ताप पनि उत्पन्न गरिरहन्छ भने छाला तथा बाहिरी संरचनाले त्यसलाई कायम, नियन्त्रण र निरन्तरता प्रदान गर्ने र खर्च गर्ने या नाश गर्ने गर्दछ ।

हाम्रो शरीरभित्र उत्पादित ताप करिब ९० प्रतिशत छालाको माध्यमबाट चिसो हावा वा खुल्ला वातावरणमा खर्च हुने गर्दछ भने यदि हाम्रो शरीर वा छाला चिसो पानीसँग सिँधै सम्पर्क हुन्छ भने ताप खर्च हुने क्रम हावामा भन्दा २५ गुणाभन्दा बढी हुने गर्दछ । यसरी हेर्दा यो सन्तुलित रुपमा चल्ने प्रक्रियामा विचलन आएमा शरीरले ताप उत्पादन गर्ने क्षमताभन्दा खर्च गर्ने या नाश हुनेक्रम बढी हुन गई सन्तुलन बिग्रिएर शरीरको तापक्रममा अप्रत्यासित रुपमा गिरावट आई स्नायु प्रणाली, रक्तसञ्चार र श्वासप्रश्वास प्रणालीमा समस्या देखा पर्दछ ।

यहाँ शरीरको तापक्रम ९५ डिग्री फरेन्हाइट (३५ डिग्री सेल्सियस)भन्दा कम भई मुटु, फोक्सो तथा स्नायु प्रणालीले सामान्य तवरबाट काम गर्न सक्दैन भन्ने यस अवस्थालाई हाइपोथर्मिया भनिन्छ । हाम्रो समाजमा समस्या भोगेकाले थाह नै पाएका हँुदैनन् र हामीले सञ्चारमाध्यमबाट थाहा पाएका कठ्याङ्ग्रिएर मृत्यु भएका समाचारहरु पनि प्रायः हाइपोथर्मियाकै उपज हुन् ।

के हुन सक्छन् यसको कारण ?

घरवारविहीन, पातलो कपडा लगाएर साइकल, मोटरसाइकल जस्ता साधन चलाउनु, विशेष गरेर जाडो मौसममा धेरै समयसम्म पातलो कपडा प्रयोग गरेर बाहिरी वातावरणको सम्कर्पमा आउनु या रहनु यसको प्रमुख कारण हो । त्यस्तै लुगा धुँदा, भाडा माझ्दा, खेतबारीमा काम गर्दा, नुहाउँदा चिसो मौसमको ख्याल नगरी चिसो पानीको लामो समयसम्म प्रयोग गर्नु ।

नवजात शिशु, बालबालिका र बृद्धबृद्धाहरुलाई चिसोमा हुने असरहरुको बारेमा तथा वातावरणीय पक्षहरुको बारेमा ख्याल नहुनु दोस्रो कारणहरुमा पर्दछन् । यसरी नै हाइपोथर्मियाका अन्य कारणहरुमा गरिबी तथा अभाव, अज्ञानता या शिक्षाको कमी पनि पर्न आउँदछ । कतिपय अवस्थामा विभिन्न रोगहरु जस्तै चिनीरोग, थाइरायोड (हाइपो र हाइपरथाइरोडिजम) कडा प्रकृतिका घाउहरु र नराम्रा बानीहरु जस्तैः नार्काेटिक्स् समूहका औषधिहरुको दुरुपयोग गर्नु र जिउ तताउन अत्यधिक मद्यपान गर्नु पनि यसको कारण मानिने गर्दछ ।

कसरी थाह पाउने हाइपोथर्मिया र के हुन्छ यसमा ?

यसको सबैभन्दा पहिलो लक्षण भनेको व्यक्तिले जाडो प्रति प्रतिकार गर्नु हो । अथवा मानिसले आफूलाई चिसो भएको महशुस गर्दै खटपटी साथ न्यानोको खोजी गर्दछ । उसले एक हातले अर्काे हातको हत्केला माडेर, दुबै हात बाँधेर, बाक्लो कपडाको खोजी गरेर, आगो तथा घामको खोजी गरेर चिसोको प्रतिकार गरेको देखिन्छ ।

चिसो बढ्दै गएमा वयस्क तथा बृद्धहरुको हातगोडा झम्झम् गरेको अनुभव गर्ने, रिगंटा लागेको तथा वाकवाक लागेको बताउने, भोक लागेको अनुभव गर्ने, चाँडो चाँडो श्वास फेर्ने, अङ्गहरु निदाएको अनुभव गर्ने तथा अङ्गहरुको समन्वय कम भएको महशुस गर्ने, मुटुको गति बढ्ने, चेतनाको स्तर कम हुने, दोधारपनका गफहरु गर्ने र विस्तारै बोल्न कठिन भएको अनुभव गर्दछन् ।

यही हाइपोथर्मियाको अवस्था नवजात शिशु तथा अशक्त बालबालिकाहरुमा भएमा यसले जटिलता पैदा गर्दछ । किनकि उनीहरु रुने सिवाय अरु प्रतिक्रियात्मक क्रियाकलाप देखाउन सक्दैनन् भने उनीहरुमा छाम्दा चिसो हुने, अनुहार तथा छाला कडा रातो देखिने, चिडिएर रुने, थकित र कमजोर देखिने, हातगोडा लुलो हुने जस्ता लक्षण तथा चिन्हहरु देखा पर्दछ । यस्तो समस्या तथा अवस्था लामो समयसम्म रहेमा नवजात शिशु, बालक, व्यक्ति तथा बृद्धबृद्धाले आफ्नो चेतनाको स्तर गुमाउँदै जान्छन्, नाडीको गति कमजोर, मिल्न कठिनाई, श्वासप्रश्वासमा कठिनाई भएको चिन्हहरुमा देखा पर्दछ । जस्ले नराम्रो अवस्थाको संकेत गर्दछ या मृत्युसम्म पु¥याउँदछ ।

हाइपोथर्मिया रोकथाम तथा उपचार

हाइपोथर्मिया तुलनात्मक रुपमा अरु चिसो कारण हुने समस्याभन्दा फरक र जीवनमरणसँग सम्बन्ध राख्ने चुनौतिपूर्ण र आकस्मिक समस्या हो जसले नसोचेको बेलामा दुर्घटना निम्त्याउन सक्दछ । नवजात शिशु, बालबालिका या बृद्धबृद्धाको ज्यान समेत लिने गर्दछ । यस्तो अवस्थामा तुरुन्त अस्पताल या क्लिनिकमा पु¥याएर सेवा दिन सम्भव नभएमा र माथिका लक्षण तथा चिन्हहरु स्पष्ट देखापरेमा निम्न अनुसार सुरक्षात्मक, प्रतिकारात्मक र प्रर्वद्धनात्मक उपचार पद्धति या घरायसी सुरक्षा विधि अपनाउन सकिन्छ ।

कुनै पनि चिसो या भिजेको कपडा टोपी, पञ्जा, मोजा भए तुरुन्त हटाइ दिने या खोल्ने । अरु शरीरको तापक्रम नघटोस् भन्ने उद्देश्यले जति सक्दो चाँडो व्यक्तिलाई पानी, चिसो हावा वा हुस्सेबाट बचाउँदै सुख्खा कपडाहरु र बाक्लो सिरक या ब्ल्याङ्केटले ढाक्ने । उसलाई बिस्तारै सुख्खा, सुरक्षित र सजिलो स्थानमा लैजाने । सम्भव भएमा अतिरिक्त बाक्लो र न्यानो सिरक वा इलेक्ट्रिक ब्ल्याङ्केटको व्यवस्था गर्ने । हिटिङ प्याड, हट ब्याग इत्यादिले पैताला, काखी, घाँटी जस्ता तत्काल शरीरको तापक्रम बढाउन सक्ने भागहरुमा सेक्ने या च्याप्ने ।

बेहोसीको अवस्था बाहेकको अवस्थामा झोलिलो पर्दाथ जस्तैः तातोपानी, दालको रस, चना–सिँबी–राजमा जस्ता गेडागुडीबाट तयार पारिएका झोल प्रशस्त मात्रामा पिलाउन सकिएमा शरीरको तापक्रम बढी नाश हुनबाट बचाउन सकिन्छ । त्यस्तै मह, दूध, चाकु इत्यादिको सेवनले शरीरको तापक्रम बढाउन सहयोग गर्दछ । चिसोमा तापक्रम बढाउँछ भनेर अल्कोहल र क्याफिनको प्रयोग गर्नु भने हानिकारक हुने गर्दछ । जसले तापक्रम बढाउनुभन्दा बढी खर्च गर्नमा सहयोग गर्दछ ।

नवजात शिशुहरुको हकमा भने उनीहररुलाई न्यानो कपडामा राख्ने, प्रशस्त मात्रामा आमाको दूध चुसाउने गर्नुपर्दछ । खेल्ने कुद्ने उमेरका स्कूले बालबालिकाहरुलाई शरीरको तापक्रम घट्न नदिन पूरा बाउला लगाइदिने, स्वीटर, ज्याकेट तथा गर्धन ढाक्ने कपडाहरुको प्रयोग गरेर मात्र स्कूल पठाउने गर्नुपर्दछ । बृद्धबृद्धाहरुले हाइपोथर्मियाको खतराबाट बच्न चिसोयाममा राति नै उठेर चिसो पानीले नुहाउने र बाक्लो कपडा नलगाई धेरैबेर नाङ्गो शरीर पूजापाठमा बस्ने नगर्नु उचित हुन्छ । त्यस्तै गृहिणी तथा महिलाहरुको हकमा धेरैबेर समयसम्म चिसोमा लुगा धुने, भाँडा माझ्ने या लामो समयसम्म चिसो पानीको प्रयाग नगरी सकेसम्म चिसोबाट बच्ने उपाय अपनाउनु बेश हुन्छ ।

विशेष बिहानी समय चिसो मौसममा दुई पाङ्ग्रे सवारीसाधन चलाउँदा चिसोबाट बच्ने उपायहरु अपनाउनु, बजारमा पाइने छालामा छुने कपडाहरु प्रयोग गर्ने, घरमा बस्दा या राती सुत्दा चिसोबाट बच्ने उपायहरु अवलम्बन गर्नु हाइपोथर्मियाबाट बच्ने तथा रोकथाम गर्ने उचित उपाय हुन आउदँछ । तर, चिसोबाट बच्ने निहुँम्मा झ्याल–ढोका बन्द गरी सुत्दा भने रगतमा अक्सिजनको आपूर्तिमा कमी भई निस्सासिएर ज्यान समेत जाने हँुदा वेल–भेन्टिलेटेड वातावरण बनाउने कुरामा चाहीँ सर्तक हुनुपर्दछ ।

sureshkhatiwada112@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here