कनकाईको १५औं नगर सभा सम्पन्न

0
10

सुरुङ्गा ।

कनकाई नगरपालिकाको १५ औं नगर सभा सम्पन्न भएको छ ।

सो सभामा जनप्रतिनिधिहरूले जनताका हरेक समस्यामा सधैं एकजुट हुने प्रतिबद्धता जनाएका छन् । समृद्धिको यात्रामा अघि बढ्दै गरेको कनकाई नगरपालिकाको विरुद्धमा आउने सबै किसिमका समस्यामा सधैं एकजुट हुने जनप्रतिनिधिहरुले प्रतिवद्धता जनाएका हुन् ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा भएको नगर सभामा उपप्रमुख आशा शिवाकोटीले स्वागत मन्तव्य राखेकी थिइन् । यसै अवसरमा ९ वटै वडाका वडाअध्यक्षहरु क्रमशः सुशिलकुमार पोखरेल, बलराम राई (प्रताप), युवराज चम्लागाईँ, रोशन सुवेदी, नगर प्रवक्ता समेत रहेका कृष्णबहादुर राई, दीर्घबहादुर थापा, भीष्मभूषण सिटौला, लीलाबहादुर कटुवाल, राजेन्द्र उप्रेतीले क्रमैसँगले आ—आफ्नो धारणा राखेका थिए । हिउँदे अधिवेशनका रुपमा हेर्न सकिने नगर सभामा नगरपालिकामा रहेका नौवटै वडाका वडाअध्यक्षहरुले वडाको बजेट संशोधन सहित विकासको अवस्था, बजेटको खर्च विवरण, कार्यक्रमको उपलब्धि, गुनासा साथै काम गर्दाको समस्या सहितको मन्तव्य राखेका थिए ।

नगर सभालाई सम्बोधन गर्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले पछिल्लो समय तथ्य कुरा नबुझी जनप्रतिनिधिका विरुद्धमा केही व्यक्ति एवं समूहबाट सामाजिक सञ्जालहरुमा आएका अभिव्यक्ति गलत भएको बताएका थिए । मेयर पोखरेलले समृद्धिसँग जोडिएको कनकाई नगरपालिकासँग सम्बन्धित विकास निर्माण सहितका हरेक योजनाका विषयमा सूक्ष्म रुपमा अध्ययन गरेर मात्र सकारात्मक एवं रचनात्मक सुझाव राख्न आम नगरवासीलाई अपिल गरे ।

स्थानीय तहले आर्थिक वर्षको सुरुवातमा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको ६महिना भित्र अर्को नगरसभा गर्नुपर्ने व्यवस्था भए अनुसार कार्यक्रम आयोजना गरिएको नगर सभाका सचिव समेत रहेका कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले जानकारी दिए । सोही अनुरुपको नगर सभामा यस अघि विनियोजित बजेटमा केही हेरफेर साथै सम्पन्न कामको समीक्षा भएको प्रमुख प्रशासकीय अधिकृत खरेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here