चिनमा युवा बेरोजगार किन बन्दै ?

0
7

काठमाण्डौं ।

ग्र्याजुएसन सकेर पनि भने अनुसारको काम नपाइरहेकी २३ वर्षकी जोय भन्छिन्, ‘वास्तविकता के हो भने यहाँ रोजगारी नभएको होइन तर आफ्नो अपेक्षा र दक्षताअनुसारको काम पाइरहेका छैनौं।’

जोयले चीनको ‘जेनेरेसन जी’ (जेन जी) पुस्ताको प्रतिनिधित्व गर्छिन् जसको अनुभव आम चिनियाँ युवाहरुसँगै मिल्दोजुल्दो छ। हाल चीनमा रोजगारदाता कम र उच्च शिक्षा हासिल गरेका दीक्षित विद्यार्थीहरुको संख्या धेरै भएको छ। जोयसँगै दीक्षित भएका ३२ जनामध्ये एक तिहाइले मात्र पूर्णकालीन रोजगारी पाएका छन्। उनीहरु गएको ‘समर’मा दीक्षित भएका थिए। त्यसपछि अधिकांशले काम खोज्दै दैनिकी बिताइरहेका छन्।

हाल चीनमा १६ देखि २४ वर्षसम्मका ५ युवामध्ये एक वा सोभन्दा बढी युवा बेरोजगार छन्। सन् २०२३ को अगस्टमा सार्वजनिक भएको सरकारी तथ्यांक अनुसार बेरोजगारीको दर डरलाग्दो छ। तथापि सरकारी निकायले त्यसयता बेरोजगारी दरको आधिकारिक तथ्यांक सार्वजनिक गरेको छैन।

यतिबेला चीनका लाखौं युवाहरु कहिल्यै नसोचेको परिस्थिती र अनिश्चित भविष्यसँग जुधिरहेका छन्। र, सो अनिश्चिततालाई बदल्न उनीहरु कसरी परिस्थितीसँग जुध्नेछन् भन्ने विषयले उनीहरुको मात्र नभई विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनको भविष्यलाई पनि नयाँ आकार दिनेछ।

उद्यमी र विदेशी लगानीकर्ताहरुको आँखामा पर्ने गरि चीनले उनीहरुलाई प्रचुर अवसरहरु दिन सकेन। जसबाट विदेशी र स्थानीय दुवै किसिमका उद्यमीको रोजाइ बनेन चीन।

Photo : Getty Images

हाल चीनको ‘जेन जी’ पुस्ताको दिमागमा यस किसिमको ‘दृढ संकल्प’ जन्मिरहेको अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक तथा मानवशास्त्री झियाङ बाओ महसुस गर्छन्। लामो समय चिनियाँ युवाहरुसँगको छलफलमा बिताउने गरेका झियाङ युवापुस्ताको यो प्रतिकारसँग परिचित छन्।

उनी भन्छन्,’चिनियाँ युवा सानैदेखि धेरै पढे-धेरै मेहनत गरे, भनेजस्तो कमाइ हुने, उच्च पारिश्रमिक पाइने काम पाइने र जीवन सुखमय बित्ने अर्ती उपदेश सुनेर हुर्किए। तर अहिले आएर पढाइपछि रोजगारी भनेजस्तो पाएका छैनन्। यसबाट युवाहरुमा भविष्यका लागि नयाँ भाष्य निर्माण गर्न प्रतिकार गर्नुपर्ने मनिस्थिती बन्दै गएको छ।’

कोभिड १९ महामारी यता चीनको अर्थतन्त्र लकडाउनले प्रभावित बन्यो। लामो समय देशको अर्थतन्त्र अफ्ठेरोमा पर्‍यो जसका कारण अवसरहरु पनि भने जति भएन। अवसरहरु बिस्तारै गुम्दै गयो। सरकारले अख्तियार गरेको कडा नीतिका कारण चीन व्यापार गर्नका लागि पनि उपयुक्त स्थान रहेन। उद्यमी र विदेशी लगानीकर्ताहरुको आँखामा पर्ने गरि चीनले उनीहरुलाई प्रचुर अवसरहरु दिन सकेन। जसबाट विदेशी र स्थानीय दुवै किसिमका उद्यमीको रोजाइ बनेन चीन। ठूला बहुराष्ट्रिय कम्पनीहरुले चीनस्थित कारखानालाई अन्य देशमा सार्नुले पनि यसलाई पुष्टि गर्छ।

पुरानो र नयाँ सपना

हालै बेइजिङमा रोजगारी मेला भएको थियो जहाँ रोजगारदाताहरुले कम दक्ष पदका लागि मात्र धेरै अवसरहरु दिएका थिए। त्यहाँ उच्च पदका लागि भन्दा पनि सहायक पदमा काम गर्ने युवाहरुका लागि जागिर थियो।

त्यहीँ पुगेका एक युवा हालै जर्मनीबाट स्नातकोत्तर गरेर चीन फर्किएका हुन्। आफ्नो साथीसँगै चीन फर्किएका उनले उत्साहित हुँदै भने,’मलाई यो समस्याहरु अलपकालीनमात्र हो भन्ने लाग्छ। नागरिकहरु राम्रो जागिर पाउने गरि क्षमतावान छन् र उनीहरुले पक्कै पाउनेछन् पनि। र, अब विश्वको भविष्य चीनमै निर्भर छ।’

सफ्टवेयर इन्जिनियरिङ सकेका तियान्यु भने यस कुरामा सहमत हुन सकेनन्। आफ्नो क्षमता र सर्टिफिकेट बलियो भए पनि क्षमतावान इन्जिनियरहरु धेरै भएकाले सजिलै जागिर पाउने अवस्था नरहेको उनको अनुभव छ।

उनका केही साथीहरु सरकारी जागिरमा संलग्न हुन लालायित छन् किनभने निजी क्षेत्रको अवस्था झनै निराशाजनक छ। यसकै परिणाम हो गत नोभेम्बरमा तीन लाखभन्दा बढी चिनियाँ युवाहरुले सरकारी सेवा प्रवेशको परीक्षा, जुन रेकर्ड स्तरको उच्च हो।

जोयले पनि आशावादी हुँदै अवसरहरु खोज्दै गइन्। उनले पाएका सबै जागिरहरु गरिन्। कहिले टुर कम्पनीमा गाइडको काम गरिन् भने त कहिले चिया कफी बेचिन्। साथै प्रिस्कुलमा बच्चाहरुलाई पढाउने काम पनि गरिन्।

‘तर यस्ता कामहरुले हाम्रो भविष्यलाई समृद्ध बनाउँदैन। उनीहरुले एक त कम तलब दिन्छन् अर्को जुनसुकै बेला पनि कामबाट निकाल्न सक्छन्। त्यसैले धेरै युवाहरु यस्तो अनिश्चित कामको सट्टा बरु घरमै बस्न रुचाइरहेका छन्,’ उनले भनिन्।

हाल उनले शैक्षिक सामाग्रीहरु बेच्ने काम पाएकी छिन्। यो काम पनि उनको ‘ड्रिम जब’ होइन। तर, खाली बस्नुभन्दा उनी कुनै किसिमको अनुभव हासिल गर्नुलाई नै राम्रो मान्छिन्।

जोयका अभिभावक भने उनको भविष्यलाई लिएर चिन्तित छन्। जोय पहाडी भेगको सानो गाउँबाट आएकी हुन्। ४०० किलोमिटर परको पहाडी भेगमा रहेको गाउँबाट छेन्दु आइपुगेकी जोयको परिवारमा उनी पहिलो व्यक्ति हुन् जसले विश्वविद्यालयबाट पढाइ पूरा गरेको छ। त्यसैले उनको बुवा छोरीको पढाइप्रति धेरै गर्व गर्छन्। छोरीले पढाइ पूरा गरेपछि उनले आफन्तलाई बोलाएर भोज पनि खुवाएका थिए।

‘मेरा अभिभावकहरुले मेरो उज्वल भविष्य, राम्रो रोजगारी र आयको लागि सोच्नु अनपेक्षित होइन तर मैले ग्र्याजुएसनपछि पनि भनेजस्तो रोजगारी पाउन सकेको छैन। बुवाआमाले  मेरो शिक्षामा योगदान गरेपछि मैले कम्तीमा राम्रो जागिर त पाउनुपर्ने हो जसबाट मैले राम्रो जीवन जिउन सकुँ,’ उनले भनिन्।

जोय अझै अघि बढ्न चाहन्छिन्। अंग्रेजी भाषा सिक्न र अष्ट्र्लिया जान उनलाई मन छ।

जेन जीहरुको नयाँ चिनियाँ सपनाका लागि कोरोना महामारीले एक उत्प्रेरकको काम गरिदिएको छ

Photo : Reuters

चीनमा रोजगार बजार असाध्यै संकटपूर्ण बनेको छ तर जोयलाई लाग्छ उनको जीवन उनका अभिभावकहरुको भन्दा केही सहज छ। किनभने उनका आमाबुवाका पालामा चीन अहिलेभन्दा धेरै गरिब थियो र जहाँ सपनाहरु ‘पूरा हुनु’ भन्दा सपना ‘हुनु’ नै कोसौं दुरको कुरा थियो।

‘मलाई लाग्छ यो पुस्ता लक्की छ र धेरै कुराले सौभाग्यशाली पनि,’ जोय भन्छिन्, ‘अहिले आफ्नो लक्ष्य पूरा गर्नका लागि हामीसँग प्रशस्तै अवसर र समय छ। हामी गहिरिएर सोच्न सक्छौं र वास्तवमै के चाहन्छौं भनेर पहिचान गर्न सक्छौं। अघिल्लो पुस्ताभन्दा हामी पैसा कमाउने कुरालाई खासै महत्व दिँदैनौं बरु हामी कसरी आफ्ना सपनाहरु पूरा गर्ने भन्ने बारे बढी गहन भएर सोचिरहेका छौं।’

जोय जस्तै युवाका यस्ता कुरालाई प्रोफेसर झियाङ ‘चिनियाँ सपनाको पुनर्लेखन’ भन्छन्।

‘खासमा जेन जीहरुको नयाँ चिनियाँ सपनाका लागि कोरोना महामारीले एक उत्प्रेरकको काम गरिदिएको छ,’ उनी भन्छन्, ‘युवाहरुमा एक किसिमको असुरक्षाको भाव छ। उनीहरु आफ्नो जीवन परिवर्तन हुन सक्छ भन्ने आशंका गर्छन्। उनीहरुलाई आफ्नो जीवन र सपनाहरुलाई कुनै अदृश्य र शक्तिशाली तत्वहरुले प्रभावित बनाउँछ भन्ने लाग्छ। उनीहरु चिनियाँ समाज कसरी चलिरहेछ र परिवारहरु कसरी जीवन बिताइरहेका छन् भन्ने उदाहरणसहित पुन: सोच्नु बाध्य बनिरहेका छन्।’

चीनले कोरोना महामारीको समयमा अपनाएको कडा नीतिका बाबजुद युवाहरुलाई कलेज जान प्रेरित गरिन्थ्यो। र, त्यो समयमा धेरै युवाहरु पढ्न गएका पनि थिए जसका कारण सन् २०२३ मा मात्रै १ करोड १६ लाख युवाहरु ग्र्याजुएट भए।

तर, बेरोजगार हुनुपर्ने परिस्थिती निर्माण भएसँगै उनीहरुको ‘फ्रस्टेसन’बाट केही भाइरल मिमहरु सिर्जना भए। केही हाँस्यव्यङ्ग्य अनि केही अपरम्परागत कामहरु पनि प्रष्ट देखिए। कतिपयले ग्र्याजुएसनको तस्वीरको सट्टा आफ्नो उपलब्धीलाई डस्टबिनमा फालेको तस्वीरहरु राखे।

‘लाइङ फ्ल्याट’ भन्ने उपनाम दिएर केहीले आधुनिक युगको प्रतिस्पर्धाबाट आफू बाहिर निस्कने बाटो खोजिरहेको तर्फ संकेत गरे। धेरैले रुपमा काम खोज्न छोडे बरु ‘फुल टाइम चाइल्ड’ बन्नका लागि घरतिर लाग्ने व्यंग्य कसे। सामाजिक संजालमा उनीहरुले आफ्नो जीवनबारे यस्ता पोष्टहरु गरे जहाँ उनीहरुले बाआमालाई घरायसी काममा सघाएर थोरै पैसा कमाइरहेको अनि केहीले सानालाई हेरचाह गरिरहेको वास्तविक र कटु सत्य प्रस्तुत गरे।

ग्रामीण चीनमा बसोबास गर्ने तर शहरमा आएर अध्ययन गरेर फेरि गाउँनै फर्किएकी एक चिनियाँ युवती भन्छिन्,’अहिले मसँग पढ्नका लागि, परिवारसँग बसेर गफ गर्नका लागि प्रशस्तै समय छ।’

उनका अनुसार शहर बसाई सँधैका लागि हुने छैन जुन उनलाई पहिले नै थाहा थियो। रोजगारी नपाउनुको तिक्ततालाई उनले यसरी पोखेकी हुन्।

प्रोफेसर झियाङ भन्छन्,’अहिले रोजगारी, अवसर वा आयको मात्र कटौती भएको होइन बरु यो त युवाहरुको सपनाको धरातल नै भत्कएको अवस्था हो। यसले उनीहरुलाई अझ बढी मेहनत गर्नका लागि अग्रसर पनि बनाएको छ। यसले निराशामात्र जन्माएको छैन बरु मोहभंगताको बिउ पनि रोपिदिएको छ।’

यतिबेला बेइजिङले पनि बुझ्नुपर्ने तथ्य के हो भने यो संकट आगामी दिनमा अझ गहिरिँदा सामाजिक असन्तुष्टि बढ्दै जानेछ र देशको भविष्यप्रति मोहभंग भएका युवाहरु भविष्यमा चिनियाँ कम्युनिष्ट पार्टीकै लागि पनि चुनौती बन्न सक्छन्।

यसअघि पनि यस्तो नभएको होइन। सन् २०२२ मा सरकारको शून्य कोभिड नीतिविरुद्ध युवाहरुले प्रतिकार गरेका थिए। सो आन्दोलन देशभरी नै फैलिएको थियो जुन दशकौंयता चीनमा सरकारको लागि प्रत्यक्ष चुनौतीका रुपमा देखिएको थियो। त्यसअघि सन् १९८९ मा बेरोजगारी र मुद्रास्फितीबाट निराश चिनियाँ नागरिकहरुले तीयानमेन स्क्वायरमा गरेको वृहत् प्रदर्शनले उग्ररुप नै लिएको इतिहास छ।

हालै नयाँ वर्षलाई स्वागत गर्दै चिनियाँ राष्ट्रपति सीले चीनले अनेकौं हावाहुण्डरी झेलेर धेरै कठिन परीक्षाका घडी पार गरेको भन्दै चीनको भविष्यप्रति आफू पूर्ण विश्वस्त रहेको बताएका थिए।  

चीन सरकारविरुद्ध प्रदर्शनमा सहभागी युवा। Photo : Washington Post

पोस्ट कोभिड यता भने चीनमा त्यस्तो प्रदर्शनहरुको संकेत देखिएको छैन।

‘अन्तरपुस्ता सम्पत्तिको हस्तान्तरणका कारण पनि यसो भएको हुन सक्छ,’ प्रोफेसर झियाङ भन्छन्,’परिवारले सन्तानलाई गर्ने सहयोग प्रणाली अझै पनि चीनमा विद्यमान छ। उनीहरुका अभिभावकहरु चीनको रुपान्तरणपछि धेरैमात्रामा भए पनि लाभान्वित भए। उनीहरुसँग बचत र सम्पत्ति पनि रह्यो जसबाट सन्तानलाई सहयोग गर्न सक्ने अवस्थामा रहे। तर अहिले त्यसको भ्यालु भने घटिरहेको छ।’

तर चीनियाँ कम्युनिष्ट सरकार कुनै जोखिम लिन चाहँदैन। हालै चिनियाँ राष्ट्रपति सी चिनफिङले युवाहरुलाई ‘तीतो पचाउन’ अर्थात कडा मेहनत गरि काममा खरो उत्रिन भनेका थिए। उनले ग्र्याजुएसन सकाएकाहरुलाई आफू साधारण काम गर्नेभन्दा माथिल्लो स्तरमा पुगेको भन्ने बिर्सन भने। र, उनीहरुलाई जस्तोसुकै कामका लागि पनि बाहुला सुर्किएर श्रमिकका रुपमा उत्रिन पनि उनले भनेका थिए।

आशा भर्सेस निराशा

मार्केटिङमा ग्र्याजुएट गरेकी युवा झेङ गुलिङ राष्ट्रपतिको भनाई मान्दै श्रमजिवी बन्नुलाई अल्पकालीन समाधानका रुपमा मात्र हेर्छिन्। २३ वर्षकी झेङ आफ्नो लागि उपयुक्त रोजगार खोजीका लागि दत्तचित्त छिन्। उनी क्रेडिट कार्ड फर्ममा काम गर्न चाहन्छिन्।

‘जब म रोजगार मेलामा गएँ, मलाई धेरैजसो कम्पनीहरुले सेल्स पर्सनमात्र काममा लिइरहेको जस्तो लाग्यो। त्यहाँ थोरै मात्र कम्पनीहरु छन् जहाँ हाम्रा लागि उपयुक्त पद थियो,’ उनी भन्छिन्।

झेङ दक्षिणी चिनियाँ सानो शहरकी युवा हुन्। उनले विगत चार वर्ष अनलाइन कक्षा पढिन्। त्यो समय न उनले कक्षाकोठाको मुख देखिन् न साथीभाईकै। यसले आफूलाई अझ बढी दक्ष बन्नबाट बञ्चित गराएको उनलाई महसुस हुन्छ।

झेङ र जोय जस्ता प्रतिनिधि पात्रहरु यतिबेला चिनियाँ धरातलमा आफ्नो पाखुरा सुर्किएर आफ्नो लागि नयाँ अवसर र गन्तव्य पहिल्याउन प्रयास गरिरहेका छन्।

Photo : Getty images

प्रोफेसर झियाङ सबैका लागि यो परिस्थिती लागू नहुने बताउँछन्। उनका अनुसार अझै पनि प्रशस्त चिनियाँ युवाहरु राम्रो रोजगारी नपाएको असन्तुष्टी र गहिरो असफलताको घाउ लिएर बसिरहेका छन्।

तर, प्रोफेसर झियाङ युवाहरुको यो निराशाको अवस्थाले नै उनीहरुभित्र प्रेरणा जन्माउने विश्वास गर्छन्। उनी भन्छन्, ‘यसले सिफ्ट ल्याउने छ। यो पुस्ता निकै शक्तिशाली पुस्ता हो जसले सिंगो चीन बदल्ने क्षमता राख्छ। चिनियाँ आख्यानको अब पुनर्लेखन हुनै पर्छ। अब यो समृद्धि, आर्थिक वृद्धि वा राष्ट्रिय मजबुतीको विषयमा केन्द्रित हुने छैन। चीनका यी युवाहरु चिनियाँ सपनाको पुनर्लेखन गर्ने ड्राइभिङ फोर्सहरु हुन्।’

हालै नयाँ वर्षलाई स्वागत गर्दै चिनियाँ राष्ट्रपति सीले चीनले अनेकौं हावाहुण्डरी झेलेर धेरै कठिन परीक्षाका घडी पार गरेको भन्दै चीनको भविष्यप्रति आफू पूर्ण विश्वस्त रहेको बताएका थिए।

तर, राष्ट्रपति सीको राष्ट्रियतावादी चिनियाँ सपनाहरु ‘व्यग्र’ नयाँ पुस्तासँग मेल खान्छ/खाँदैन भन्ने प्रश्न जटिल छ। यी निराश युवाहरु आफ्नो भविष्यबाट के अपेक्षा गर्ने भन्नेमा नै अनिश्चित छन्।

झेङ यतिबेला जमेको महासागर हेर्दै आफ्नो अन्तिम सपना सुनाइरहेकी छिन्, ‘म आफ्नो मालिक आफै बन्न चाहन्छु।’

उनी आफ्नो गाउँमा खाजाघर खोल्नका लागि पुग्ने पैसा कमाउन चाहन्छिन्। उनी आफ्नो जीवन सानो घेराबाट माथि उठोस् भन्ने चाहन्छिन्। ‘यति गर्न सकें भने यसले मलाई अझ बढी स्वतन्त्रता दिनेछ। त्यसपछि म अहिले जसरी अरुका लागि काम नगरी आफ्नै लागि केही गर्छु,’ उनले भनिन्।

उनी थप भन्छिन्, ‘मेरा बुवाआमाले आफ्नो थातथलो कहिल्यै छोडेनन्। उनीहरु सानो परिधिभित्र रहे। उनीहरु केवल स्थिर जिन्दगी चाहन्थे। तर म त्यो भन्दा धेरै परसम्म हेर्न चाहन्छु। म बाहिरी संसार र सारा विश्व बुझ्न चाहन्छु र सोच्न चाहन्छु,वास्तवमै हामीले कस्तो सपना देख्नुपर्छ!’

(बीबीसीबाट साभार)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here