पातालगंगाको बार्षिकोत्सव कोशीटप्पुमा

0
18

झापा ।

झापाको विर्तामोड–५ को पातालगंगा बचत तथा ऋण सहकारी संस्थाले कोशीटप्पु वन्यजन्तु आरक्षणको अवलोकन भ्रमण गरेको छ ।

बार्षिकोत्सवको अवसर पारेर संस्थाले बन्यजन्तुको अवलोकन तथा आन्तरिक पर्यापर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले अवलोकन भ्रमण गरेको हो ।

संस्थाको सञ्चालक समिति, कर्मचारीसहित १ सय ९ जनालाई कोशीटप्पु वन्यजन्तु आरक्षण केन्द्रको भ्रमण गराएको संस्थाका अध्यक्ष युवराज गिरीले जानकारी दिए । सहकारी माध्यमबाट समेत आन्तरिक पर्यापर्यटन सम्भव हुन्छ भन्ने देखाउन र आफ्ना शेयर सदस्य, सञ्चालक तथा कर्मचारीहरुलाई वन्युजन्तुको आरक्षणका बारेमा जानकारी दिइएको अध्यक्ष गिरीले बताए ।

वन्युजन्तु आरक्षण केन्द्रमा हात्ती, अर्ना, गोही विभिन्न सयौं किसिमका चराचुरुङ्गीहरुको अवलोकन गर्न पनि योजना रहेको अध्यक्ष गिरीले बताए । प्रत्येक दिनका कामले दिक्क भएका कर्मचारीहरु, शेयर सदस्य र सञ्चालक समितिका सदस्यहरुलाई अवलोकन भ्रमण साथै घुम्न जाने तथा वनभोज खुवाउने गर्दा काममा अझ जोशजाँगर आउने भएकाले पनि अवलोकन भ्रमण गराएको व्यवस्थापक गंगा सापकोटाले जानकारी दिइन् ।

संस्थाको साधारणसभापछि एक दिन भए पनि कर्मचारीलाई विदाको दिन पारेर मनोरञ्जन गराउने लक्ष्यले कोशीटप्पुको रोजाइलाई प्राथमिकता दिएको उपाध्यक्ष टंक भेटवालले बताए । अवलोकनपछि आन्तरिक पर्यटक बनेर कोशीटप्पु पुगेका पातालगंगा साकोसका सदस्य तथ कर्मचारीहरुले बनभोज कार्यक्रम समेत आयोजना गरेका थिए ।

बनभोज कार्यक्रमसँगै सहभागीहरुलाई योग शिविर तथा मोटिभेसनको तालिम समेत दिइएको थियो । साकोसले कोशी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय सुनसरीका मोहन भट्टराई, कर्मचारी गोपाल ढकाललाई सम्मान समेत गरेको थियो ।

कार्यक्रममा पारिवारिक, निजी वन संघ कोशी प्रदेशका निमित्त अध्यक्ष राजकुमार ओली, पातालगंगा साकोसका लेखा समिति संयोजक हरि दाहाल, गणेश गिरी, मनोविद् सरस्वती मिश्रले सुझावसहित शुभकामना दिएका थिए ।

कार्यक्रममा हण्डीफोर, म्युजिकल चियर, बेलुन फुटाउने खेल लगायतका मनोरञ्जनात्मक खेलहरु समेत खेलाइएको थियो । साकोसले गतशनिवार अवलोकन भ्रमणसहित बनभोज कार्यक्रम आयोजना गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here