राष्ट्रियसभा बेकारको थलो नहोस्

0
8

आउँदो फागुन २० गते रिक्त हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचन प्रक्रिया शुरु भएको छ । जसअनुसार सोमबार राष्ट्रियसभा रिक्त सदस्य पदका लागि उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । सात वटै प्रदेशका सम्बन्धित निर्वाचन कार्यालयमा विभिन्न समूहका ५२ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन् । माघ ११ गते हुने निर्वाचनमा संघीय गठबन्धन अनुसार नै सिट बाँडफाँड गरी उम्मेवारी दर्ता गरिएकाले परिणामको आंकलन हुन थालेको छ । त्यस आधारमा पनि राष्ट्रियसभा उद्देश्य, कल्पना, मर्म र मान्यता विपरीत नेता व्यवस्थापनको थलोमात्र भएको विश्लेषण गरिँदैछ ।

दलहरुको अभ्यास र कल्पना विपरीत राष्ट्रियसभा नेताहरुको स्वार्थ व्यवस्थापन, गुट व्यवस्थापन, हरुवा नेता व्यवस्थापन, पकेटका मान्छेको व्यवस्थापन र नजिककालाई व्यवस्थापन गर्ने थलो बनिएको छ । जसका कारण आममानिसमा राजनीतिक प्रणाली, समावेशी तथा समानुपातिक प्रणालीप्रति नै वितृष्णा बढाएको छ । एउटा निर्वाचनमा पराजीत व्यक्ति नै त्यही अवधिमा हुने अर्को निर्वाचनमा उम्मेवार बनाउने नेतृत्वको गुटगत स्वार्थले विकसित परिपाटी अन्ततः विनाशको पनि कारण हुन सक्छ । समयले युवा, नयाँ ऊर्जा र उत्साहको नेतृत्व खोजेको छ । तर, नेतृत्व भने आफ्ना र आफू सुरक्षित हुने बाटो रोज्दैछन् । भनेर नथाक्ने लोकतान्त्रिक पद्दति नेताहरुको नैतिकता, आचरण, व्यवहार र निष्ठा पनि हो । तर, हामीकहाँ यही चरित्रको खडेरी परेको छ । जसका कारण मूल प्रवाहका भनिने दलहरु नै क्षयोन्मुख हुन थालेका छन् ।

राष्ट्रियसभा ‘डम्पिङ साइट’ होइन, जहाँ काम नलाग्ने वस्तुमात्र थुपारियोस् । राष्ट्रियसभाको सदस्य पनि उच्च नैतिक आचारण भएको, बौद्धिक, पछि परेका, अल्पसंख्यक, प्राज्ञिक र समाजले स्वीकृत गरेको हुनुपर्छ । त्यसमाथि अध्यक्ष बन्ने विशिष्ट क्षमता भएको र समाजद्वारा सम्मानित हुनैपर्छ । त्यसैले राष्ट्रियसभालाई बेकामको र व्यवस्थापन गर्ने थलो बनाउने नेतृत्वको शैलीप्रति समीक्षा हुन जरुरी छ । कार्यकर्ता र आमजनता कसैका दास हुन सक्दैनन्, त्यसैले भइरहेका यस्ता गतिविधिको समीक्षा गरिनु पर्दछ । दल नेताहरुको दवाब वा शक्तिबाट होइन प्रजातन्त्रको मर्म, भावना, मान्यता, विधि र संस्कृतिले चल्नु पर्दछ । त्यसका लागि दल र नेतृत्वले आफूलाई परिवर्तन गर्नुपर्छ । अन्यथा यस्तो गन्तव्यहीन यात्राले लक्ष्य भेटाउने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here