भारतको सौर्य मिशन आज लक्षित गन्तव्यमा पुग्दै

0
8

काठमाण्डौं ।

भारतले सूर्यको अवलोकनका लागि पठाएको अन्तरिक्ष मिशन शनिवार (आज) अपराह्न सूर्यको कक्षमा पुग्ने भारतीय अन्तरिक्ष अनुसन्धान निकायले जनाएको छ।

प्रक्षेपण गरिएको चार महिनापछि आदित्य-L1 आफ्नो गन्तव्यमा पुग्न लागेको हो। भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा आफ्नो यान सुरक्षित अवतरण गरेर इतिहास बनाएको केही दिनमै गत २ सेप्टेम्बरमा यो अन्तरिक्ष मिशन प्रक्षेपण गरिएको थियो।

सूर्यको अध्ययनका लागि पठाइएको मिसनको नाम पनि सूर्यकै नाममा राखिएको छ। आदित्यको अर्थ संस्कृतमा सूर्य हो। L1 चाहिँ पृथ्वी र सूर्यबीचको यस्तो बिन्दु हो जहाँ दुवै ग्रहको गुरुत्व शक्ति समान हुन्छ र त्यहाँ रहेको बस्तुलाई दुवैले आफूतर्फ आकर्षण गर्ने क्षमता राख्दैनन्।

उक्त स्थानमा छोडिने भारतीय भू-उपग्रहले पाँच वर्षसम्म त्यहाँ रहेर सूर्यको अध्ययनमा सघाउने अपेक्षा गरिएको छ।

आफू अडिने स्थानमा पुगेपछि आदित्य-L1ले पृथ्वीले जसरी नै सूर्यको परिक्रमा गर्नेछ।

यो बिन्दुबाट यसले सूर्यग्रहण वा अन्य ग्रहणको समयमा पनि निरन्तर सूर्यको अवलोकन गर्नेछ।

आदित्य-L1ले गर्ने सूर्यको गहन अवलोकन र अध्ययनबाट हाम्रो वैज्ञानिक बुझाई अझै परिष्कृत हुने र हाम्रो सौर्यमण्डलमा सूर्यको भूमिकाबारेको बुझाई पनि सुदृढ हुने अपेक्षा गरिएको छ।

सूर्यको अध्ययन गर्ने यो पहिलो मिसन भने होइन। यसअघि अमेरिकी अन्तरिक्ष निकाय नासा र युरोपेली अन्तरिक्ष एजेन्सी ईएसएले पनि उस्तै उद्देश्यका लागि सौर्य मिसन पठाइसकेका छन्।

भारतको चेन्नईबाट १०० किलोमिटर उत्तरमा पर्ने श्रीहरिकोटास्थित अन्तरिक्ष यान प्रक्षेपणकेन्द्रबाट यो यानलाई अन्तरिक्षमा पठाइएको थियो।

भारतीय अन्तरिक्षयान पठाइएको पृथ्वी र सूर्यको गुरुत्व शक्ति सन्तुलित हुने स्थान १५ लाख किलोमिटर टाढा छ। उक्त दुरी पृथ्वी र चन्द्रमाबीचको दूरीभन्दा करिब चार गुणाले बढी हो।

तर त्यो पृथ्वीबाट सूर्यसँगको दूरीको चाहिँ एक प्रतिशत मात्रै हो। सूर्य पृथ्वीबाट करिब डेढ करोड किलोमिटर टाढा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here