मोदीको गृहनगर गुजरातमा लगानी गर्न अर्बपतिको तँछाड मछाड, अन्तरिक्षबाट पनि देखिने पार्क बन्दै

0
11

काठमाण्डौं ।

भारतीय अर्बपतिहरु मुकेश अम्बानी र गौतम अडानीले गुजरातमा ठूलो लगानी प्रतिबद्धता जनाएका छन्।

गान्धीनगरमा जारी भाइब्रेन्ट गुजरात ग्लोबल समिटमा प्रधानमन्त्री नरेन्द्र मोदीसामु अम्बानी र अडानीले गुजरातलाई भारतकै सबैभन्दा ठूला परियोजना तथा बृहत् लगानीको केन्द्र बनाउने बताए।

गौतम अडानीले २४ अर्ब डलर खर्चिएर ग्रीन इनर्जी पार्क बनाउने घोषणा गरेका छन् जुन पार्कलाई अन्तरिक्षबाट समेत देख्न सकिने उनको दाबी छ। उक्त पार्क आगामी पाँच वर्षमा तयार हुने गौतमले जानकारी दिए।

गान्धीनगरमा जारी समिटको दशौं संस्करणमा अडानी गु्रपका अध्यक्ष गौतम अडानीले गत वर्षको समिटमा गरेको ५५ हजार करोड भारतीय रुपैयाको लगानी प्रतिबद्धतामध्ये ५० हजार करोड भारतीय रुपैया लगानी गरिसकेको पनि बताए। यसबाट राज्यमा २५ हजार रोजगारी सिर्जना हुने उनको भनाइ छ।

कुचमा ३० गिगावाट क्षमताको उक्त ग्रीन इनर्जी पार्क निर्माण भइरहेको उनले जानकारी दिए। २५ वर्ग किलोमिटरमा फैलिएको उक्त पार्कले गुजरातमा १ लाख रोजगारी सिर्जना गर्ने उनको दाबी छ।

‘सन् २०१४ देखि नै भारतले जीडीपीमा १८५ प्रतिशतको वृद्धि देखिसकेको छ भने प्रति व्यक्ति आयमा १६५ प्रतिशतको वृद्धि देखिइसकेको छ, यो भूराजनीतिक तथा महामारीजन्य चुनौतीहरुबीच पनि भारतले प्राप्त गरेको उपलब्धि हो,’ अडानीले भने।

यस्तै मुकेश अम्बानीले रिलायन्स इन्डस्ट्रीजले गुजरातमा भारतकै पहिलो र विश्वस्तरको कार्बन फाइबर कम्पनी निर्माण गरिरहेको बताए।

अम्बानीले ‘रिलायन्स पहिले, अहिले र जहिल्यै पनि गुजराती कम्पनीका रुपमा रहनेछ’ भने। ‘गत १० वर्षमा रिलायन्सले १५० अर्ब डलर भारतमा लगानी गरिसकेको छ। यसमध्ये एक तिहाइभन्दा धेरै लगानी गुजरातमा मात्रै छ,’ अम्बानीले बताए।

रिलायन्सका प्रमुख मुकेश अम्बानीले गुजरातलाई ग्रीन ग्रोथको ग्लोबल लिडर बनाउनका लागि रिलायन्सले योगदान गर्ने प्रतिवद्धता जनाए। गुजरातले सन् २०३० सम्ममा नवीकरणीय ऊर्जाहरुबाट आफ्नो आधा ऊर्जाको आवश्यकता पूरा गर्ने लक्ष्यमा सघाउने मुकेशको भनाइ छ।

जामनगरमा रिलायन्सले धिरुभाइ अम्बानी ग्रीन इनर्जी गिगा कम्प्लेक्स बनाइरहेको छ। यो उद्योगले ठूलो मात्रामा रोजगारी सिर्जना गर्ने र हरित उत्पादन गरेर गुजरातलाई हरित वस्तुहरुको प्रमुख निर्यातकर्ता राज्य बनाउने प्रतिबद्धता पनि उनले जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here